+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
२२ बलमा ४६ रन आवश्यक
लुम्बिनी लायन्स 2025
112/8 (16.2)
Shares

वैदेशिक व्यापारको आधा हिस्सा वीरगञ्ज भन्सारबाट

चालु आव कात्तिकसम्म वीरगञ्ज भन्सारबाट २ खर्ब ८२ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो कुल आयातको ४६.३४ प्रतिशत हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ कात्तिकसम्म वीरगञ्ज भन्सारबाट कुल आयातको ४६.३४ प्रतिशत र निर्यातको ३५.२५ प्रतिशत भएको छ।
  • नेपाल–चीन व्यापारको मुख्य नाका रसुवागढी बाढीले भत्किएपछि बन्द छ र मुस्ताङस्थित कोरला नाका विकल्प बनेको छ।
  • भैरहवा र विराटनगर भन्सारले क्रमशः कुल आयातको १५.३० र १२.०३ प्रतिशत र निर्यातको १०.१५ र २९.६३ प्रतिशत हिस्सा ओगटेको छ।

९ कात्तिक, काठमाडौं । वैदेशिक व्यापारमा करिब आधा हिस्सा वीरगञ्ज भन्सारबाट हुने गरेको देखिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३  कात्तिकसम्म २८ भन्सार बिन्दुबाट वैदेशिक व्यापार (आयात–निर्यात) भएको छ ।

तीमध्ये सबैभन्दा अगाडि वीरगञ्ज भन्सार कार्यालय छ । यस वर्ष कात्तिकसम्म ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । निर्यात भने ९३ अर्ब ४९ करोड बराबर भएको छ ।

त्यसमध्ये वीरगञ्जबाट मात्र २ खर्ब ८२ अर्ब बराबर वस्तु आयात भएको छ । यो कुल आयातको ४६.३४ प्रतिशत हो । यस भन्सारबाट ३२ अर्ब ९५ करोड बराबरको वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३५.२५ प्रतिशत हो । आयातका दृष्टिकोणबाट दोस्रो ठूलो भन्सार भैरहवा देखिन्छ ।

भैरहवाबाट ९३ अर्ब २७ करोड बराबर वस्तु नेपाल भित्रिएको छ । जुन कुल आयातको १५.३० प्रतिशत हो । यस भन्सारबाट ९ अर्ब ४८ करोडको वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको १०.१५ प्रतिशत हो ।

आयातका हिसाबले तेस्रो स्थानमा विराटनगर भन्सार छ । यस भन्सारबाट ७३ अर्ब २९ करोड बराबरको वस्तु नेपाल आएको छ । जुन कुल निर्यातको १२.०३ प्रतिशत हो ।

निर्यातका दृष्टिकोणबाट भने विराटनगर दोस्रो ठूलो भन्सार बिन्दु हो । यस भन्सार हुँदै २७ अर्ब ६९ करोड बराबर वस्तु निर्यात भएको देखिन्छ । जुन कुल निर्यातको २९.६३ प्रतिशत हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अर्को ठूलो भन्सार बिन्दु हो । यहाँबाट चार महिनामा ७१ अर्ब ३६ करोड बराबर वस्तु आयात भएको छ । जुन कुल आयातको ११.७१ प्रतिशत हो ।

निर्यात १२ अर्ब ९ करोड बराबर भएको छ । यो कुल निर्यातको १२.९४ प्रतिशत हो । पोखरा र भैरहवा विमानस्थल भन्सारबाट यस वर्ष कुनै पनि व्यापार हुन सकेन ।

चीनतर्फको व्यापारमा मुस्ताङ विकल्प

नेपाल–चीन व्यापारको मुख्य नाका रसुवागढी अहिले बन्द छ । बाढीले मितेरी पुल भत्काएसँगै अहिले निर्माणको काम भइरहेको छ ।

यससँगै चीनसँगको व्यापारमा मुस्ताङस्थित कोरला नाका विकल्प बनेको छ । यस नाका हुँदै चीनबाट नेपालमा ७ अर्ब ३७ करोडको वस्तु आयात भएको छ भने ८ करोड ३८ लाख बराबर निर्यात भएको छ ।

रसुवागढी नाकाबाट ३८ करोड ८१ लाख रुपैयाँको वस्तु आयात हुँदा निर्यात शून्य देखिन्छ । तातोपानी नाकाबाट १३ अर्ब ३५ करोड बराबर वस्तु आयात भएको छ । निर्यात शून्य छ । यो नाकासमेत वर्षायाममा अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?