१२ मंसिर, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीमैत्री व्यवस्था लागू गर्दै अबदेखि वडा कार्यालयबाट सिफारिस भई आएका विषयमा छुट्टै निवेदन लेखिरहनुपर्ने झन्झट अन्त्य गरेको छ ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीले अनावश्यक समय, पैसा र श्रम खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रक्रिया सहज, सरल र छिटो पार्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको स्पष्ट गरेको छ ।
अघिल्लो व्यवस्था अनुसार सिफारिस लिएर कार्यालय पुगेपछि पुन: निवेदन लेख्नुपर्ने बाध्यता थियो, जसका कारण सेवाग्राहीले निवेदन लेखाउने र थप शुल्क तिर्ने समस्यासँगै समय खेर जाने अवस्था सिर्जना हुँदै आएको थियो ।
अब भने वडा कार्यालयको सिफारिस पत्रमै उल्लेखित व्यहोरा ठिक साँचो हो, फरक परेमा प्रचलित कानून बमोजिम सहुँला बुझाउँला भन्ने उल्लेख गरी सहीछाप गराइयो भने सोही आधारमा सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
यस व्यवस्थाले विशेषगरी टाढा–टाढाबाट आउने लेखपढमा कमजोर तथा आर्थिक रूपमा कमजोर सेवाग्राहीलाई ठूलो राहत हुने अपेक्षा गरिएको छ । कार्यालयले थप निवेदन लेख्न नपर्ने भए पनि सम्बन्धित सेवाका लागि आवश्यक दस्तुर (हुलाक टिकट) र चाहिने अन्य कागजातहरू भने अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ ।
सहज सेवा प्रवाहका लागि कार्यालयले आफ्नो सहायता कक्ष मार्फत आवश्यक जानकारी र सहयोग उपलब्ध गराउनेछ । सेवाग्राहीलाई अनावश्यक खर्च र समय नलाग्ने गरी प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने यो प्रयास नागरिकमैत्री कदमको रूपमा लिइएको प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनकै कामको शिलशिलामा कुनै पनि फोटोकपी गर्नुपरेमा पनि नि:शुल्क रुपमा कार्यालयमै गरिदिने व्यवस्था समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सबै स्थानीय तह, कार्यालय, संस्थान तथा सेवाग्राहीलाई यो निर्णयको जानकारी गराई सेवा लिन आउने क्रममा नयाँ व्यवस्था अनुसरण गर्न आग्रह गरेको छ ।
प्रशासनले नागरिक मैत्री सेवालाई उच्च प्रथामिकतामा राखेर काम गरिरहेको जनाएको छ । जिल्ला प्रशासनमा विभिन्न सेवा लिन आउने सेवाग्रहीले छिटो छरितो सेवा पाएसँगै प्रशासनले दिनेसेवा प्रति सेवाग्राहीले खुसी व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिता लगायत प्रशासनबाट हुने विभिन्न सेवा जतिसक्यो छिटो दिने गरी व्यवस्था मिलाउने कार्यलाई जोड दिइएको छ । यसले गर्दा जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिन आउने सेवाग्राही प्रशासनको काम प्रति सहज भएको छ ।
सेवाग्राहीहरु कसैको भनसुनमा नभई स्वयमले छिटो छरिटो र हुन सक्ने काम आफैले गर्न सक्ने वातवरण सहित सेवा प्रवाह प्रशासन कार्यालयबाट प्रदान गरिएको छ । जसले गर्दा सेवाग्रही प्रशासनले दिने सेवाप्रति सन्टुष्ट भएको बताउछन् ।
नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासन कार्यालयले प्रवेशद्वारमा नै सेवाग्राहीको लागि सहायकता कक्ष र फ्री वाइफाई सेवा मार्फत सेवा दिएको छ । प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्रहीलाई टोकन प्रणाली समेत लागु गरिएको छ ।
प्रशासनले सेवाग्रहीको सहजताको लागि कार्यालय परिसरमै नागरिक सहायता कक्ष स्थापना गरेको छ । प्रशासनको गेटमै सहायता कक्षमा खटिएका कर्मचारीले के कामको लागि आएको हो भनेर सेवाग्रहीलाई सोध्ने गर्दछन् । सहायता कक्षमा खटिने कर्मचारीले प्रशासनका कामका लागि आबश्यक सहजीकरण गरिदिने गर्दछन् । जसले गर्दा सेवाग्रही जुन कामको लागि आएको हो त्यही काममा जाने गर्नाले छिटो छरितो हुने गर्दछ ।
प्रतिक्रिया 4