१२ मंसिर, कालीकोट । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका एक जना कामदारको शव निकालिएको छ । बिहीबार बेलुका कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको आज शव निकालिएको हो ।
सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए । डोजरले चट्टान पन्छाएपछि आज दिउँसो निजको शव निकालेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
पहिरोसँगै ठूलो चट्टान खसेकाले पुरिएका बोहोरालाई निकाल्न ढिलाइ भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताए ।
कर्णाली करिडोरअन्तर्गत थिर्पु घाटचौरबाट बाजुराको पिलुचौरसम्म नेपाली सेनाको विकास निर्माण कार्यदलले विस्फोटनसहित ११ किलोमिटर सडक निर्माण गरिरहेको छ ।
प्रतिक्रिया 4