News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ र उनलाई छातीमा सङ्क्रमण भएको छ।
- खालिदा जियालाई २०१८ मा सरकारी पैसा हिनामिनाको आरोपमा जेल सजाय सुनाइएको थियो र पछि सजाय बढाइएको थियो।
- शेख हसिनाको सत्तापलटपछि खालिदा जियालाई २०८१ साल साउन २२ गते रिहा गरिएको थियो र उनी लन्डनमा उपचारपछि फर्किएकी हुन्।
१२ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ। यो जानकारी उनको पार्टी बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा इस्लाम आलमगीरले शुक्रबार दिएका हुन्।
८० वर्षीया खालिदा जिया बीएनपीकी अध्यक्ष हुन्। उनी विगत धेरै वर्षदेखि कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखाको समस्यासँग जुधिरहेकी छिन्।
आलमगीरले भने, ‘हिजो राति डाक्टरहरूले उहाँको शारीरिक अवस्था निकै गम्भीर रहेको बताए। हामीले उहाँलाई नोभेम्बर २३ मा अस्पताल भर्ना गरेका थियौँ। उहाँलाई छातीमा सङ्क्रमण (इन्फेक्सन) भएको थियो, जसको असर उनको मुटु र फोक्सोमा परेको छ।’
आलमगीरले खालिदा जियाको शीघ्र स्वास्थ्य लाभका लागि शुक्रबारको नमाज (जुम्मा) पछि विशेष प्रार्थनाको आयोजना गरिएको पनि बताए। ‘हामी प्रार्थना गर्दछौँ कि उहाँ निको भएर फर्कनुहुनेछ र फेरि देशका लागि काम गर्न सक्नुहुनेछ,’ उनले भने।
जियालाई लिभर सिरोसिस, मुटु रोग र मिर्गौलाको पनि समस्या छ।
जिया अनाथालय ट्रस्टको नाममा सरकारी पैसा हिनामिना गरेको आरोपमा ढाकाको विशेष अदालतले खालिदा जियालाई फेब्रुअरी ८, २०१८ मा ५ वर्षको जेल सजाय सुनाएको थियो।
खालिदाका छोरा तारिक र अन्य ५ जना आरोपीलाई पनि १० वर्षको कठोर कारावासको सजाय दिइएको थियो। उनीहरूलाई २.१ करोड बंगलादेशी टाका जरिवाना पनि लगाइएको थियो।
जियाले यस फैसलाविरुद्ध हाईकोर्टमा अपील गरेकी थिइन्। अदालतले अक्टोबर ३०, २०१८ मा सुनुवाइ गर्दै सजायलाई बढाएर १० वर्ष पुर्याएको थियो।
त्यसपछि खालिदाले सजायविरुद्ध लिभ-टु-अपील अर्थात् सिधै सर्वोच्च अदालतमा चुनौती दिने व्यवस्था अन्तर्गत अपील गरेकी थिइन्। ५ वर्षसम्म कानुनी प्रक्रियाका कारण यसमा ढिलाइ भइरह्यो।
शेख हसिना देश छोडेपछि रिहा
खालिदा जिया दुई पटक सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म बंगलादेशको प्रधानमन्त्री रहिसकेकी छिन्।
उनी पूर्व राष्ट्रपति जिया-उर-रहमानकी पत्नी हुन्। उनका जेठा छोरा र बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान २००८ देखि लन्डनमा बसिरहेका छन्।
उनका कान्छा छोरा अराफात रहमानको सन् २०२५ मा हृदयघातका कारण निधन भएको थियो।
शेख हसिनाको सत्तापलटको १ दिनपछि खालिदा जियालाई अगस्ट ६, २०२४ मा रिहा गरिएको थियो। त्यसपछि उनी राम्रो उपचारका लागि लन्डन गएकी थिइन्। त्यहाँ ४ महिना बसेपछि उनी मे ६ मा देश फर्किएकी हुन्।
प्रतिक्रिया 4