+
+
Shares
कविता :

बसाइँ संस्मरण

जीवननाथ अधिकारी जीवननाथ अधिकारी
२०८२ मंसिर १५ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिर्मिरे उषा चिहाउँदै घरबाट बसाइँ सराइको लागि प्रस्थान गर्ने तयारी भइरहेको थियो।
  • घरका चौकिदार कुकुर र बिरालोले प्रस्थान अवरोध गर्ने प्रयास गरिरहेका थिए।
  • विदाइको बेला आमाको ममतामयी आशीर्वचन र परिवारको भावुकता देखिएको थियो।

मिर्मिरे उषा चिहाउदै थिइन् पूर्वी क्षितिजबाट
मूलढोकाबाट आँगनमा निस्किँदा
गजधुम्म हृदयाकाश ढाकेको थियो
मुटुमा अमूर्त व्यथा थियो
बिमुढ मनको ढुकढुकीमा
करुण-रसको सञ्चार थियो
वैकल्पिक उपायले नेटो काटिसकेको थियो
मलाई बसाइँ सराइको साइत छोप्न हतारो थियो

घरको चौकिदार मेरो जेम्स कुकुर
ढिकुटीको पहरेदार माइकल बिरालो
मेरो नजर टिठ्याउँदै
पुच्छर ठड्याउँदै पिँडौलामा बेरिएर
प्रस्थान अवरोधको सोझो प्रहार
बाई-बाई भन्नुको सट्टा
माग राख्छन् पेन्सन कि त सँगै सवार

आजन्म दूध ख्वाएकी माली गाई
वियोगको आँसुमा तडपिदै
अमुक के सोच्दै होलिन्
मलाई नदेख्दा अब
बेहद् तिनी कति रोलिन् !

मेरा बाहुबलले जोडेका संरचनाहरू
हुर्काएका बगैंचाका बोट, वनस्पतिहरू
अति कठिन भो मलाई गलहत्याउन
अपनत्वका मेरा भावनाहरू

झस्स आँखा जुध्दा आमासँग
वृद्ध आमाको तड्पिएको अनुहारमा
विष्मयको कालो बादलसँगै
नयनाश्रुको वर्षा थियो
गहभरी वह बोकी वियोगमा
देखेथें रोदन र क्रन्दन मुहारमा

अनमोल शुभ-यात्राका आशीर्वचन
ममतामयी आमाको गलामा अवरुद्ध थिए
मुश्किलले निस्केका कण्ठ-ध्वनी
मलाई अविष्मरणीय बन्दै थिए
विदाइका रक्तरञ्जित अक्षता
प्रेमा-श्रुमा डुबुल्की मार्दै थिए

एउटै कलेजोको सिरानी जन्मँदा
एउटै आँगन एउटै बगैँचाको फूल
एउटै भाइ र बुहारी स-परिवारको
भावुकताको सुस्केरामा प्रत्यक्ष लज्जित
मेरो हठमा पाषाढको आभास थियो

विदाइ होइन निर्णय सच्याउन
माया-प्रेम सद्‍भावको क्रन्दनमा
विचलित मनहरूको अनुनय थियो
आत्मीय गाउँले-धुइरोको विनय थियो

असह्य वेदनाको परिवेश जाग्छ
बिछोडको पीडा भित्र-भित्र
तितो अनुभूतिको यो शब्द चित्र
निरस वातावरणझैं लाग्छ भक्कानो उठ्छ

यथार्थको परिवेश चिहाउँदै बोल्छ
ममताको भावनाले ‘म’ र ‘मेरो’भन्छ
मानसिकताले आश्रय खोज्छ
बुढ्यौलीले पाइला जमाएपछि
लट्ठी त अपरिहार्य भो
जंघार तर्नु परेपछि

दिनको पनि त अवमूल्यन हुन्छ
रातको प्रवेश भए पछि
तारा पनि खस्छन् आकाशबाट
भोग सिद्धिए पछि
कोल्टे फेर्ने विकल्प खोज्यो मनले
कर्म गर्ने हात लुलिए पछि
श्रम-शक्तिमा ह्रास आए पछि

ओठ टोक्दै यथार्थको परिदृश्य
निर्निमेष क्यामेराले कैद गर्दै थियो
बाध्यताको डोरीले कस्दै थियो
बसाइँ सराइ गन्तव्य उन्मुख थियो
उषा कालीन अरूणोदय साइत
परिस्थितिले वैध गर्दै थियो

संयोग बिर्सिएको वियोगको यो क्षण
गाँसमा आज गला लाग्दै थियो
वाध्यताले सिर्जेको बिछोडको यो परिवेश
निल्न र ओकल्न पनि गाह्रो थियो
गन्तव्य प्रस्थान गर्नु नै थियो
आत्मीयतासँग माफी माग्न चटारो थियो
ब्रम्हमूहुर्तको मलाई साइत छोप्न हतारो थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?