+
+
Shares
विचार :

चुनावको माहोल : नेतृत्व, शक्ति–सन्तुलन र भूराजनीतिक संकेत

पुराना शीर्ष नेताहरू केपी, प्रचण्ड र देउवा नै फेरि पनि चर्चाको केन्द्रमा छन् । तर, यसपालि तस्बिर बदलिएको छ । युवा पुस्ताका आकांक्षा, वैकल्पिक नेतृत्वको खोजी, स्थानीय सरकारको प्रभाव, निराश मतदाताको मनोविज्ञान तथा अमेरिका–चीन–भारतको रणनीतिक रुचिले चुनावी वातावरणलाई थप जटिल बनाएको छ ।

डा. खिमलाल देवकोटा- डा. खिमलाल देवकोटा-
२०८२ मंसिर १६ गते ९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको चुनावी माहोल फागुन २१ मा हुने चुनावतर्फ उन्मुख छ र केपी शर्मा ओली पक्ष संसद् पुनःस्थापनाको बाटोमा छ।
  • जेनजी पुस्ताले पहिलो पटक निर्णायक मतदाता बन्नेछन् र उनीहरूको राजनीतिक मनोविज्ञान सत्य, पारदर्शिता र दक्षतामा आधारित छ।
  • चुनावी राजनीतिमा भारत, चीन र अमेरिकाको भूराजनीतिक प्रभाव निर्णायक भूमिका खेल्नेछ र स्थिरता सबै पक्षको चाहना हो।

हालै अनिवार्य अवकाश लिएका मुख्य सचिवको भनाइमा गत भदौ २७ गते अनुमान गरिएका विभिन्न प्लानमध्ये ‘प्लान–ए’ मा देश दौडिरहेको छ । त्यो ‘प्लान–ए’ भनेको नागरिक सरकार हो ।

‘प्लान–ए’ सफल नभएको भए ‘प्लान–बी’ मा बंगलादेशी मोडेल र त्यो पनि नभएको भए सैनिक शासन लागू हुनेथियो । बंगलादेशी मोडेल र सैनिक शासन लागू हुनबाट जोगिएको नेपाल यतिखेर सुशीला कार्की नेतृत्वमा चुनावी माहोलमा छ । २०८४ मा हुनुपर्ने चुनाव दुई वर्ष अगाडि तानिएर २०८२ मै हुन लागेको छ ।

नयाँ चुनावी चक्रतिर उन्मुख हुँदै गर्दा राजनीतिक तापक्रम एकाएक बढेको छ । एमाले, त्यसमा पनि केपी शर्मा ओली पक्ष संसद् पुन:स्थापनाको बाटोमा ढल्किएको छ । कांग्रेस चुनावको बाटोमा आए पनि महाधिवेशन चुनाव अघि कि पछि, अर्थात् टिकट कसले बाँड्ने भन्ने झगडामा मडारिएको छ । प्रचण्ड–माधवहरू चुनावको रटानमा छन् । जेनजीहरूका सहित नयाँ पार्टी दर्ताको चटारो पनि त्यतिकै छ ।

जहाँ जे भए पनि पुराना शीर्षनेताहरू केपी, प्रचण्ड र देउवा नै फेरि पनि चर्चाको केन्द्रमा छन् । तर, यसपालि तस्बिर बदलिएको छ । युवा पुस्ताका आकांक्षा, वैकल्पिक नेतृत्वको खोजी, स्थानीय सरकारको प्रभाव, निराश मतदाताको मनोविज्ञान तथा अमेरिका–चीन–भारतको रणनीतिक रुचिले चुनावी वातावरणलाई थप जटिल बनाएको छ ।

यही जटिल परिवेशमा फागुन २१ को घोषित चुनावका बारेमा केही परिकल्पना गर्ने प्रयत्न यस लेखमा गरिएको छ ।

केपी, प्रचण्ड र देउवाको छवि

भर्खरै जेनजी आन्दोलनका क्रममा सत्ताच्यूत भएका ओलीले अहिले पनि बलियो संगठन र नक्कली राष्ट्रवादका कारण मतदाता सुरक्षित राखेका छन् । उनको सबल पक्ष भनेको अस्थिरताबाट थाकेर निरंकुश नै भए पनि स्थिर सरकारको खोजी गर्नेहरूको रुचिको हो ।

पार्टीभित्रका युवा कार्यकर्ताको निराशाका साथै वचन दिनमा माहिर तर पूरा नहुँदा उत्पन्न हुने अविश्वास प्रचण्डको मुख्य चुनौती हो । ओलीको दुर्बलता भनेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता संविधानसभाबाट बनेको संविधानका महत्वपूर्ण उपलब्धिहरूप्रति अरुचि हो ।

ओलीको दुर्बलता भनेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता संविधानसभाबाट बनेको संविधानका महत्वपूर्ण उपलब्धिहरूप्रति अरुचि हो । यसप्रतिको उनको कठोर टिप्पणीले मधेश, जनजाति तथा नागरिक समाजको ठूलो हिस्सा चिढिएको छ । साथै ओलीको अहंकार, दम्भ र घमण्डका कारण पार्टीभित्रको असन्तुष्टि व्याप्त छ । यसले दक्षिणपन्थी वैकल्पिक समूहको पल्ला भारी बनाइदिने खतरा छ ।

प्रचण्ड सधैं ‘किङ मेकरको’ को भूमिकामा रहेका छन् । हालै डेढ दर्जनभन्दा बढी दलहरूको एकीकरण अभियानको नेतृत्व गर्दैछन् । बाहिरबाट भित्र्याउने ध्यानमा पार्टीभित्रको कोर टिम वा खाँट्टी माओवादी पंक्ति भने उत्साहित छैन । पार्टी छोडेर जानेहरू फर्कंदा पदाधिकारी, सचिवालय र केन्द्रीय कमिटीमा उक्लिएका छन् पार्टीमा निरन्तर खटेकाहरू अहिले पनि जहाँको त्यहीं मात्र हैन, अझै तल झर्ने बाध्यतामा छन् ।

प्रचण्डले कांग्रेस–एमालेलाई विरोधी कित्तामा धकेले । आफ्नो कित्ताका रवि जेलमा छन् । ब्रान्डिड गरिएका कुलमान उज्यालो पार्टीमा लागे । युद्धकालका डेपुटी कमाण्डर जनार्दनको बहिर्गमन भयो । पार्टी एकीकरणका कारणले घरसाङ्लोलाई वनसाङ्लोले खेद्ने खतरा र दबाब प्रचण्डका लागि चुनौतीको विषय बनेको छ ।

प्रचण्डको सबल पक्ष भनेको युद्ध र शान्तिको पनि नेता हुनु हो । संक्रमणकालीन न्याय, शान्ति प्रक्रियाका बाँकी कामको सम्बोधन र पहिचान सहितको राजनीतिसँग गाँसिएको पुरानो भरोसा सहित चलायमान नेतृत्वको छवि बनाउन सक्नु उनको खूबी हो । साथै, उनको दुर्बलता भनेको आन्तरिक फुटका कारण दर्जन माओवादी धार बन्नु र तिनलाई मिलाएर राख्न नसक्नु हो ।

देउवाको मुख्य डर भनेको पार्टीभित्रै वैकल्पिक नेतृत्वका रूपमा गगन–विश्वप्रकाश र शेखर खुलेर आउनु हो ।

पार्टीभित्रका युवा कार्यकर्ताको निराशाका साथै वचन दिनमा माहिर तर पूरा नहुँदा उत्पन्न हुने अविश्वास प्रचण्डको मुख्य चुनौती हो । प्रचण्डको मनोविज्ञानमा अहिले ठूलो डर भनेकै कांग्रेस–एमाले–माओवादी एकै हुन्, अर्थात् देउवा, ओली र प्रचण्ड एउटै हुन् भन्ने भाष्य चिर्न नसक्नुमा छ ।

देउवा अहिले पनि कांग्रेसको सबैभन्दा स्थिर नेता हुन् । आजका दिनमा उनको पक्षमा कांग्रेसको केन्द्रीय समिति र संसद्मा ९३ प्रतिशत समर्थन छ भन्ने उनका हितैषीहरू विश्वास गर्छन् । देउवाको सबल पक्ष भनेको पार्टीभित्र गहिरो संगठनात्मक संयन्त्र, स्थानीय तहमा बलियो पकड, र मध्यम वर्गीय र सम्भ्रान्त वर्गका मतदाताको भरोसा हो । तर, दुर्बलता भनेको बुढेसकाल, आरजूलाई नेतृत्वमा स्थापित गराउने रहर, पार्टीभित्र युवा पुस्ताको विद्रोह र कहिले प्रचण्ड त कहिले ओलीसँग भएको बारम्बारको गठबन्धन हो । जसले देउवाको पहिचान र उनको स्थायित्वमा प्रश्न गर्ने ठाउँ बनाइदिएको छ । देउवाको मुख्य डर भनेको पार्टीभित्रै वैकल्पिक नेतृत्वका रूपमा गगन–विश्वप्रकाश र शेखर खुलेर आउनु हो ।

जेनजी पुस्ताको उभार तर भविष्य कता ?

यो चुनावी चक्रमा पहिलो पटक जेन्जी पुस्ता निर्णायक मतदाता बन्ने भएका छन् । यिनको राजनीतिक मनोविज्ञान पुराना नेताभन्दा बिल्कुल फरक छ । यिनले रोजेको नेतृत्व सत्य, पारदर्शिता, डिजिटल पहुँच, दक्षता र सदाचारमा आधारित छ ।

विशेषतामा समानता भए पनि जेनजी पुस्ता तीन दिशामा विभाजित छन् । पहिलो झुकाव हो– वैकल्पिक नेतृत्व र पुरानाका लागि ‘नो नट अगेन’ नै हो । दोस्रो– प्रविधिमा आधारित राष्ट्र निर्माण; जसले स्मार्ट सिटी, विज्ञान, प्रविधिमैत्री नेता, शासन र समाजको पक्षधरता लिन्छ । तेस्रो– भ्रष्टाचार विरोधी र परिणाममूलक शासनको पक्षधरता हो ।

यिनै तीनथरी विशेषताका कारण तीनथरी नेतृत्व, व्यक्तित्व र पार्टीमा उनीहरूको मनोविज्ञान विभाजित भएको छ । यही अवस्था निर्वाचनका दिनसम्मै कायम रहेमा फेरि पनि पुरानै पार्टीहरूको वर्चस्व कायम हुने कुरामा विवाद छैन । यसो हुँदा राजनीतिमा आधारभूत परिवर्तनको अपेक्षा पूरा नहुने खतरा छ ।

बालेन शाह राजधानीको मनोविज्ञान र भविष्य हुन् भन्ने भाष्य स्थापित छ । तर, जेनजी आन्दोलनका बेला उनको व्यवहार र सिंहदरबारको आगलागीमा दमकल नपठाएको चर्चा मतदाताका मनमा गडेको गहिरो व्यथा हो । उनले चाहेमा शहरी क्षेत्रमा वैकल्पिक लहर सिर्जना हुन्छ र पुराना पार्टीहरूका मध्यमवर्गीय मतदाताहरू बालेनतिर सर्न सक्छन् ।

र्‍याप पहिचान ठीकै भए पनि गाँजा र मधुरसमा झ्याप परेका बेलाका उनका स्टाटसले विरोधको ग्राफ पनि ह्वात्तै बढेको छ । उनको स्वच्छन्दता, ठूला पार्टीलाई दिने चुनौती र स्पष्ट राजनीतिक विचारधाराको अभाव उनकै लागि चुनौती बन्नेछ ।

राजनीतिमा ‘प्रदर्शन’ मात्र पर्याप्त हुँदैन, सत्ता–सन्तुलन, गठबन्धन, पार्टी संगठन, स्थानीय संरचना नबनेसम्म कसैको पनि प्रभाव अनुमानयोग्य हुँदैन ।

जेनजी मूभमेन्ट र दल दर्ताका बेला बालेनको खोजी भएको थियो । त्यसलाई उपयोग गर्न सकेको भए शहरी–उद्यमी–युवा मतदाता आकर्षित हुने सम्भावना पनि बलियो थियो । तर, त्यो अवसर पनि बालेनले गुमाएका छन् ।

कुलमान काम गरेर देखाउने भएका कारणले नेतृत्वको आकर्षणको केन्द्र बनेका छन् । कुलमानको लोकप्रियता कुनै राजनीतिक भाषणमा होइन, काम–व्यवहारमा आधारित बनेको छ । तर, उनले भिन्न पार्टी खोले र ऊर्जा, पूर्वाधार एवं सुशासन मुख्य एजेन्डा बनाए पनि उनलाई स्थापित गराउने माओवादीप्रतिको उनको कृतघ्नताको मूल्य महँगो पर्ने देखिन्छ । तैपनि पुराना पार्टीहरूका तर गैर–राजनीतिक मतदाता र मध्यमवर्गीय समूह कुलमानतिर सर्ने सम्भावना पनि छ ।

तर ठूलो चुनौती राजनीतिमा ‘प्रदर्शन’ मात्र पर्याप्त हुँदैन, सत्ता–सन्तुलन, गठबन्धन, पार्टी संगठन, स्थानीय संरचना नबनेसम्म कसैको पनि प्रभाव अनुमानयोग्य हुँदैन ।

कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रको मनोविज्ञान

चुनावी माहोलमा सेना सधैं ‘न्यूट्रल–गारन्टर’ को भूमिकामा रहने प्रयास गर्छ, तर सुरक्षा, सीमा व्यवस्थापन र भूराजनीतिक चासोका कारण उनीहरू स्थिरतामा बढी जोड दिन्छन् । उनीहरू विभाजित संसद्, चरम विरोध–प्रतिरोध, आन्तरिक द्वन्द्वबाट आइपर्ने सुरक्षा चुनौतीबाट सधैं त्रसित बन्छन् । प्रहरी चुनावी सुरक्षामा सबैभन्दा सक्रिय शक्ति हो । तर जेनजी आन्दोलनमा उसको भूमिका, प्रहरी संस्थाभित्रको भ्रष्टाचार, तस्करी, नक्कली भिसा, साइबर अपराधका मुद्दामा देखाउन नसकेको व्यावसायिकता चुनौती बन्नेछ ।

यसैगरी कर्मचारीतन्त्रको विभाजन र राजनैतिक संरक्षणको अपेक्षा अब ब्याक फायर हुनेवाला छ । सुरक्षा संयन्त्र र कर्मचारीतन्त्रको अपेक्षा अस्थिरता भन्दा स्थिरता हो तर आफूलाई के फाइदा पुग्छ भनेर उसले हिसाब गर्न थालेको भान हुन थालेको छ ।

भूराजनीतिक खेल

चुनावी राजनीतिमा सबैभन्दा गहिरो प्रभाव भारतकै छ । सिमाना, व्यापार, सुरक्षा सहयोग र मधेश राजनीति भारतका प्रमुख संवेदनशीलता हुन् यसमा सकारात्मक ग्यारेण्टी भारतको चासोको विषय हो ।

भूराजनीतिक खेल नेपालका लागि अब निर्णायक बन्न थालेको छ । यसै पनि नेपालको चुनावी वातावरणमा बाह्य शक्ति सधैं महत्वपूर्ण हुँदै आएको तथ्य छँदैछ । अहिलेको तीन प्रमुख एजेन्डा (कार्यान्वयन हुँदै गरेको एमसीसी, कार्यान्वयनमा जानै नसकेको बीआरआई र इण्डो प्यासिफिक स्ट्राटेजी) विस्तारित भई एसपीपी र जीएसआई अबका मुख्य तनावका विषय हुन् ।

चुनावी राजनीतिमा सबैभन्दा गहिरो प्रभाव भारतकै छ । सिमाना, व्यापार, सुरक्षा सहयोग र मधेश राजनीति भारतका प्रमुख संवेदनशीलता हुन् यसमा सकारात्मक ग्यारेण्टी भारतको चासोको विषय हो ।

चीनको मुख्य चासो नेपालमा ‘स्थिर र मजबुत वाम–मध्यमार्गी सरकार’ बनोस् र थाती रहेका बीआरआई परियोजनाहरू अगाडि बढाउने खालको एवं अमेरिका निरपेक्ष सरकार बनोस् भन्ने देखिन्छ ।

उता अमेरिका भने लोकतन्त्र, मानवअधिकार, सुशासन र एससीसी मार्फत विकासमा लगानीका लागि अनुकूल सरकारको खोजीमा छ । यसका साथै दक्षिणएशियामा चीनलाई प्रतिवाद सहितको सन्तुलन गर्ने रणनीतिक सरकार उसको चासोको विषय बन्नेछ ।

निष्कर्ष

हालको राजनीतिक घटनाक्रमले पुराना नेताहरूको विकल्प खोज्ने लहर छ, तर पुरानो पार्टीहरू नै संरचनागत रूपमा बलिया छन् । जेनजी आन्दोलनले फेरबदल ल्यायो तर ऊ निर्णायक शक्ति बन्न सकिरहेको छैन ।

बालेन, कुलमानको मनोदशा भिन्न देखियो, यसले आकार लिने सम्भावना कम छ । सेना, प्रहरी र कर्मचारीतन्त्र स्थिरता चाहन्छ, तसर्थ ऊ विभाजन र भिडन्त, हिंसा र द्वन्द्वको विपक्षमा छ । सबैका चाहना फरक–फरक छन् तर परिणामले त्यस्तो दिने अवस्था देखिन्नँ ।

फेरि पनि नेपालको चुनावी भविष्य लोकप्रियताबाट मात्र तय हुँदै छैन । यसमा भूराजनीतिक प्रतिस्पर्धा, वैकल्पिक नेतृत्व, डिजिटल युवा पुस्ता र राज्य संरचनाको स्थिरता— सबैको मिश्रित प्रभाव निर्वाचन परिणाममा देखापर्ने निश्चित छ । त्यसैले फेरि पनि एक कार्यकाल संक्रमण, किचलो र आपसी खिचातानीबाटै गुज्रनुको विकल्प छैन ।

यो मानसिकताका पृष्ठभूमिमा अपेक्षाकृत शान्ति र अमनचयन कायम राख्न सबैले आ–आफ्ना ठाउँबाट योगदान गरौं । निराश हैन, यथार्थवादी विश्लेषणमा भर परौं र परिस्थितिको सामना गरांै ।

लेखक
डा. खिमलाल देवकोटा-

अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?