News Summary
Generated by OK AI. Editorially reviewed.- साइबर ब्यूरो भोटाहिटीका अनुसार डिजिटल हिंसासँग सम्बन्धित आठ उजुरीमध्ये एउटा अनलाइनबाट यौन दुर्व्यवहारसँग सम्बन्धित छ।
- प्रहरी नायव निरीक्षक राधिका ठकुरीले महिलाहरू पुरुषको तुलनामा बढी डिजिटल हिंसामा पीडित रहेको बताउनुभयो।
- किशोरीहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा प्रलोभन देखाएर अनलाइनबाट यौन दुर्व्यवहार र ठगीको घटनाहरू बढ्दो छन्।
१८ मंसिर, काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्लाटफर्मलाई माध्यम बनाएर यौन दुर्व्यवहारजन्य गतिविधि र त्यसबाट पीडित हुनेहरू बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ ।
साइबर ब्यूरो भोटाहिटीको तथ्यांकअनुसार डिजिटल हिंसासँग सम्बन्धित आठ वटा उजुरीमध्ये एउटा अनलाइनबाट यौन दुर्व्यवहारसँग सम्बन्धित छ ।
साइबर ब्यूरो भोटाहिटीमा कार्यरत प्रहरी नायव निरीक्षक राधिका ठकुरी डिजिटल हिंसामा पुरुषको तुलनामा महिला बढी पीडित रहेको बताउँछिन् । यसमा पनि बालिकाहरूमाथि अनलाइनबाट यौनजन्य दुर्व्यवहार हुने गरेको छ ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्रले बुधबार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा प्रस्तुतीकरण गर्दै प्रहरी नायव निरीक्षक राधिका ठकुरीले साइबर ब्यूरोमा पर्ने उजुरीको अवस्था र त्यसको प्रवृत्तिबारे जानकारी गराएकी थिइन् ।
उनका अनुसार किशोरीहरू लक्षित गरेर हिंसाजन्य कार्य हुनेक्रम बढ्दो छ । सामाजिक सञ्जालमार्फत किशोरीहरूसँग जोडिने र नग्न फोटो लिएर त्यसैलाई दुरुपयोग गरेर यातना दिने कार्य फैलिँदो छ । यस्तो हुँदा कतिपय किशोरीहरू डिप्रेसनमा समेत पुग्ने गरेको समेत छ ।
तथ्यांकमा उल्लेख भएअनुसार कक्षा ९/१० पढ्ने बालबालिकासँग अनलाइलाइनबाट जोडिने र अनलाइनमै कुरा गरेर प्रलोभन देखाएर फसाउने प्रवृत्ति बढ्दो छ ।
अनलाइनमा परिचय भएको आधारमै प्रेमविवाह गरी अर्को देशमा पुर्याउने र सेक्स वर्करको रूपमा काममा लगाउने प्रवृत्ति समेत देखिएको छ ।
यसबाहेक डिजिटल ठगी पनि उत्तिकै बढ्दो छ । प्रहरी नायव निरीक्षक ठकुरीका अनुसार विदेशबाट सामान पठाएको र एयरपोर्टमा कर तिर्नका लागि केही पैसा भनेर माग्नेदेखि पुरस्कार परेको भनेर छक्याएर पैसा ठगीका घटनाहरू पाइएका छन् ।
प्रतिक्रिया 4