News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको ग्याजेटहरू बरामद गरी अनुसन्धान सुरु गरेको छ।
- अख्तियारको टोलीले बुधबार बिहान अधिकारीलाई पक्राउ गरी मोबाइल फोन, ल्यापटप र अन्य उपकरण नियन्त्रणमा लिएको छ।
- विशेष अदालतमा अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको बयान चलिरहेको छ र भ्रष्टाचारसम्बन्धी बैंकखाता तथा कारोबारमाथि पनि अनुसन्धान भइरहेको छ।
१९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको ‘ग्याजेट’हरू बरामद गरी अनुसन्धान सुरु गरेको छ ।
उच्च स्रोतका अनुसार, बुधबार बिहान अख्तियारको टोली अधिकारीको निवासमै पुगेर उनलाई पक्राउ गरेको हो । त्यसक्रममा उनको मोबाइल फोन, अरू उपकरण र ल्यापटप समेत बरामद गरेको हो ।
‘उहाँका शंकास्पद क्रियाकलाप र कारोबारका बारेमा निगरानी भइरहेको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘त्यही सिलसिलामा फोन लगायत शंकास्पद वस्तुहरू नियन्त्रणमा लिएका हौं ।’
फोन लगायतका केही उपकरणहरू दिन अधिकारीले केहीबेर अवरोध गर्ने प्रयास समेत गरेको स्रोतले बतायो । तर, अख्तियारबाट खटिएको प्रहरीले तत्काल उनको फोन र त्यसपछि अरू सामग्री नियन्त्रणमा लिएको हो । ती उपकरणहरू अख्तियारले आफ्नै ‘डिजिटल फरेन्सिक ल्याब’ (डीएफएल) मा परीक्षण गरेर अनुसन्धान गर्छ ।
बुधबार नै अख्तियारले अधिकारीलाई मुद्दा सहित विशेष अदालतमा पेस गरेको थियो । विशेष अदालतले ‘समय अभाव भएको’ भन्दै उनलाई अख्तियारकै हिरासतमा रहने गरी जिम्मा लगाएर फर्काएको थियो । शुक्रबारदेखि अधिकारी र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीको विशेष अदालतमा बयान चलिरहेको छ ।
नलिञ्चोक हेलिपोर्ट र पोखरा अन्तराष्ट्रिय विमानस्थलको भ्रष्टाचार बाहेक विशेष अदालतले सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको भवन निर्माण लगायतका उजुरीमाथि अनुसन्धान गरिरहेको छ । त्यसबाहेक अधिकारीहरूको बैंकखाता र कारोबारमाथि पनि अनुसन्धान चलेको छ ।
‘उनले कैयौ व्यक्तिलाई रकम बाँडेको, आफूविरुद्धको अनुसन्धान निस्तेज बनाउन विभिन्न शक्तिकेन्द्रका मानिसहरू र बिचौलिया परिचालन गरेको सूचना थियो,’ अख्तियारस्रोतले भन्यो, ‘त्यसैको अनुसन्धानका सिलसिलामा महत्त्वपूर्ण प्रमाण हुनसक्ने आशंका सहित उहाँका सामानहरू नियन्त्रणमा लिएका हौं ।’
प्रतिक्रिया 4