+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
६५ बलमा १०३ रन आवश्यक
विराटनगर किंग्स 2025
53/6 (9.1)
Shares

कांग्रेस १५ औं महाधिवेशनमा पूर्णबहादुर खड्का के गर्छन् ?

आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परेर घाइते भएका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेपछि कांग्रेसको ‘कमान्ड’ उपसभापति खड्काको काँधमा आइपुगेको हो ।

केशव सावद केशव सावद
२०८२ मंसिर २३ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनपछि नेपाली कांग्रेसको कार्यवाहक सभापति पद उपसभापति पूर्णबहादुर खड्काको काँधमा आएको छ।
  • खड्काले १५ मंसिरको केन्द्रीय कार्यसमिति बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका थिए र महाधिवेशन पुस २६–२८ मा तय भएको छ।
  • खड्का सभापतिको सम्भावित उम्मेदवार मानिन्छन् र सभापति देउवाको समर्थन खोजिरहेको बताइएको छ।

२३ मंसिर, काठमाडौं। लामो राजनीतिक विरासत बोकेका दलहरूको संयुक्त सरकार ढाल्ने गरी गत भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसको ‘कमान्ड’ पूर्णबहादुर खड्काको काँधमा आइपुग्यो।

आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परेर घाइते भएका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेपछि कांग्रेसको ‘कमान्ड’ उपसभापति खड्काको काँधमा आइपुगेको हो ।

जेनजी आन्दोलनपछि पहिलोपल्ट बोलाइएको केन्द्रीय कार्यसमिति बैठक (२८ असोज) मा सभापति देउवाले आफूपछिको वरीयतामा रहेका उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएका थिए।

खड्का कांग्रेसको केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री हुँदै १४ औं महाधिवेशनमा देउवा समूहबाट उपसभापतिमा विजयी भएका थिए । २०४८ सालको आमनिर्वाचनमा सुर्खेतबाट विजयी भएर संसदीय यात्राको थालनी गरेका खड्काले यसबीचमा विभिन्न मन्त्रालय सम्हालिसकेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार (चैत २०७९) मा उनलाई कांग्रेसले पार्टीको नेतृत्व दिएर उपप्रधान तथा रक्षामन्त्री बनाएका थियो । तत्कालीन प्रधानमन्त्री प्रचण्ड मुलुकबाहिर जाँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव खड्कासँग छ ।

उनै खड्काले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकबाट सर्वसम्मत तालिकाअनुसार २६–२८ पुसमा कांग्रेसको महाधिवेशन हुँदैछ ।

केन्द्रीय कार्यसमिति बैठकले चुनावी कार्यतालिका सर्वसम्मत पारित गरेसँगै कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । पार्टीको सर्वोच्च पद सभापतिको उम्मेदवारी हुने नेताहरुको सूची लामै बन्ने आकलन भइरहेको छ ।

सभापतिमा संस्थापनइतरका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाले सार्वजनिक रुपमा घोषणा गरिसकेका छन् । संस्थापन पक्षीय पूर्व पदाधिकारीहरुको ‘सात भाइ’ समूहले सभापतिको उम्मेदवार तय गर्न सकेका छैनन् ।

१४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी हुँदा पाँचौं स्थानको मत ल्याएका कल्याणकुमार गुरुङले प्यानलसहित सभापतिको उम्मेदवार हुने बताइसकेका छन् । तर, कार्यवाहक सभापति खड्काले भने हालसम्म आफ्नो उम्मेदवारीबारे सार्वजनिक रूमा मुख खोलिसकेका छैनन् ।

कार्यवाहक सभापति खड्का १५औं महाधिवशेनमा सभापतिका सम्भावित उम्मेदवारका रूपमा हेरिएका नेतामध्ये पर्छन् । कांग्रेसमा पछिल्लो समय ‘सात भाइ’को परिचय बनाएका पूर्वपदाधिकारी र खड्कालाई सभापति देउवाको ‘उत्तराधिकारी’का रूपमा हेर्ने जमात कांग्रेसवृत्तमा देखिन्छ ।

यी आठ जना नेताहरूमध्ये कसले बाजी मार्छन् भन्ने अहिले नै अनुमान गर्न भने कठिन हुने कांग्रेस नेताहरु बताउँछन् ।

यो सँगै कांग्रेसभित्र हुने गरेको विश्लेषण छ– ‘महाधिवेशनका लागि उम्मेदावरी दर्ता गर्ने दिनसम्म ‘सात भाइ’ एक ठाउँमा रहन्छन् कि रहँदैनन् ?’ वा, कार्यवाहक सभापति खड्कासहित एउटा टिम बन्छ कि बन्दैन भन्ने अन्यौल यथावत् छ ।

खड्कानिकट एक केन्द्रीय सदस्यका अनुसार कार्यवाहक सभापतिले सभापति देउवाको समर्थन खोजिरहेका छन् । खड्कामा देउवाको समर्थनमा सभापतिको उम्मेदवार बन्ने चाहना रहेको ती नेताको बुझाइ छ ।

महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा र कार्यवाहक सभापति खड्काको एउटा समूह बन्न सक्ने पूर्वानुमान गर्नेहरू पनि कांग्रेसवृत्तमा छन् । तर, कार्यवाहक सभापति खड्कानिकट नेताहरू पूर्वानुमान केवल हल्लामात्रै भएको बताउँछन् । उनीहरू भन्छन्– पूर्णबहादुर दाइ संस्थापन पक्षबाटै उम्मेदवार बन्नुहुन्छ ।

खड्कानिकट एक केन्द्रीय सदस्यका अनुसार कार्यवाहक सभापतिले सभापति देउवाको समर्थन खोजिरहेका छन् । खड्कामा देउवाको समर्थनमा सभापतिको उम्मेदवार बन्ने चाहना रहेको ती नेताको बुझाइ छ ।

कार्यवाहकनिकट मानिने नेता रामहरि खतिवडा उनलाई सभापतिको स्वाभाविक उम्मेदवार ठान्छन् । उम्मेदवारीबारे अहिले नबोले पनि खड्का केही दिनपछि सार्वजनिक रूपमा बोल्न सक्ने उनको भनाइ छ । ‘पूर्ण दाइको स्वाभाविक दाबेदारी हो । अहिले बोल्नुभएको छैन । सायद केही दिनपछि बोल्नु होला,’ खतिवडाले अनलाइनखबरसँग भने ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवासमक्ष कार्यवाहकको जिम्मेवारी दिनुपर्ने ‘लबिङ’ गर्ने नेतामध्येमा पर्ने एक केन्द्रीय सदस्यले पनि खड्काले सभापति देउवाको साथ–समर्थन खोजेको प्रतिक्रिया दिए ।

ती नेताले केही दिनअघि भएको भेटमा सभापति देउवाबाट खड्कालाई उम्मेदवार बनाउने संकेत पाएको पनि बताए । उनकाअनुसार ५–६ जना नेताहरूसँगको भेटमा देउवाले सभापतिको उम्मेदवारबारे संकेत गरेको दाबी गरे ।

कार्यवाहक सभापति आफूसँग भेटघाटका लागि पुग्ने नेताहरूसँग आफू सभापतिको आकांक्षी रहेको बताउँदै आइरहेका छन् । ‘म केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री, उपसभापति भएँ । कार्यवाहक सभापति पनि छु । अब मेरो यहीँ हो त ब्रेक लगाउने ठाउँ ? भनेर प्रश्न गर्नुहुन्छ,’ मंगलबारमात्रै खड्कालाई भेटेका नेता खतिवडाले भने ।

सरकारमा पनि उपप्रधानमन्त्रीसँगै कार्यवाहक प्रधानमन्त्री भइसकेका कारणले पनि पार्टी सभापतिका लागि आफ्नो दाबेदारी स्वाभाविक भएको खड्काको भनाइ रहेको उनले बताए ।

‘पार्टीमा त्यति भइसक्नुभयो । फेरि सरकारमा उपप्रधानमन्त्री भएर पार्टीको नेतृत्व गरिसक्नुभएको छ । कार्यवाहक प्रधानमन्त्रीसमेत भइसक्नुभएको छ,’ नेता खतिवडाले भने, ‘त्यसैले मेरो स्वाभाविक दाबेदारी हो भन्ने कुरा उहाँको छ । मसँग सभापतिमा मेरो दाबी छ भन्नुभएको छ ।’

कार्यवाहक सभापतिको नेतृत्वमा रहेको पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका एक सदस्यले पनि खड्का सभापतिका दाबेदार रहेको बताए । ‘पूर्ण दाइ सभापतिको उम्मेदवार हो । उहाँ आन्तरिक तयारीमै हुनुहुन्छ,’ ती सदस्यले भने ।

संस्थापन पक्षीय एक नेताले ठूलो समूह मिलाउनु पर्ने भएकाले अहिले नै सभापति देउवामा उम्मेदवारबारे नखुलेका बताए । ‘सभापतिले आन्तरिक छलफललगायत अरू नेतासँग भेट्दा पनि पूर्ण दाइतिर नै संकेत गर्नुहुन्छ,’ ती नेताले भने, ‘ठूलो समूह मिलाउनु पर्ने बाध्यताले पनि सार्वजनिक रुपमा अहिले नै पूर्ण दाइको नाम नलिएको हुनुपर्छ ।’

ती नेताले कार्यवाहक सभापति खड्कालाई समूहभित्र रहेका मध्ये अन्यको तुलनामा निर्विवाद नेताको रूपमा पनि चित्रित गरे । ‘जेनजी आन्दोलनपछि आएको परिवर्तित परिस्थिपतमा समूहभित्र पनि सभापतिमा उठाउन मिल्ने व्यक्ति पूर्णबहादुर खड्का नै त हो,’ उनले भने ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?