News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश केन्द्रित दलहरूले बुधबार दुई छुट्टाछुट्टै पार्टी एकीकरण घोषणा गरेका छन्।
- राजेन्द्र महतो नेतृत्वको रामुपाले झापामा तीन पार्टी एकता गरेको छ र पार्टी नाम, विधान, नेतृत्व रामुपाकै रहनेछ।
- महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयेश त्रिपाठीको जप्रपा र वृषेशचन्द्र लालको तमलोपा एकीकरणमा छन् तर नाम, नेतृत्व र चुनाव चिह्न सार्वजनिक भएको छैन।
२६ मंसिर, काठमाडौं । मधेशकेन्द्रित दलहरूले बुधबार एकै दिन दुई वटा छुट्टाछुट्टै पार्टी एकीकरण घोषणा गरे । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी (जप्रपा) र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) एकीकृत हुने निर्णय भएकै दिन राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालले झापामा पहिचान पक्षधर राजनीतिक पार्टीहरू बीच एकता घोषणा गरेको हो ।
रामुपासँग नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी एक हुने भएका छन् । एकतापछिको पार्टी नाम, विधान र नेतृत्व रामुपाकै रहने भएको छ ।
महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयेश त्रिपाठीको जप्रपा र वृषेशचन्द्र लालको तमलोपाले एकीकरणपछि बन्ने पार्टीको नाम, नेतृत्व र चुनाव चिह्न सार्वजनिक गरेको छैन । अहिले एउटै पार्टी बनाउन लागेका ठाकुर, त्रिपाठी र लाल कुनै बेला तमलोपामै थिए । एकीकृत पार्टीको नेतृत्व ठाकुरले गर्ने र लोसपाको चुनाव चिह्न साइकल राख्ने सहमति भएको एक नेताले बताए ।

तमलोपा अध्यक्ष लाल भने केही विषय टुंगिन बाँकी रहेको बताउँछन् । उनले नेतृत्वको विषयमा भने आफूहरू बीच विमति नरहेको बताए ।
विश्लेषक चन्द्रकिशोर जेनजी आन्दोलनपछि मधेशवादी दलहरूमाथि मिलेर जाने दबाब बढेको बताउँछन् । उनी भन्छन्, ‘ग्रासरुटको अत्यधिक दबाबपछि उनीहरू सकेसम्म एकता नभए पनि चुनावी मोर्चाको तयारीमा लागेका हुन् ।’
उपेन्द्र यादवसँग एकता प्रयास
२०७९ सालको चुनावमा प्रत्यक्षतर्फ चार सिट जिते पनि ‘थ्रेस होल्ड कटाउन नसकेको लोसपाले एकता वा गठबन्धनमा जोड दिइरहेको छ । त्यतिबेला नागरिक उन्मुक्ति पार्टीसँग तालमेल गर्ने लोसपाको प्रयास असफल भएको थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर बीच एकताका लागि वार्ता जारी रहेको नेताहरूले बताएका छन् । जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमन एकीकरणका लागि वार्ता भइरहेको बताउँछन् । सुमन भन्छन्, ‘विचार मिल्ने दलहरू बीच एकता गर्ने घोषित नीति अनुसारै वार्ता भइरहेको हो, छिट्टै सकारात्मक परिणाम देख्नुहुन्छ ।’

२०७७ वैशाखमा यादव नेतृत्वको समाजवादी पार्टी र ठाकुर लगायतका नेताहरूले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । तर यो एकता १५ महिना भन्दा बढी टिकेन । पार्टीभित्र अल्पमतमा परेपछि २०७८ भदौमा ठाकुरले लोसपा बनाए ।
प्रवक्ता सुमन विगतका कमि–कमजोरी सच्याएर एकता गर्ने प्रयास भइरहेको बताउँछन् । जसपा नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ । यो विषयमा ठाकुर नेतृत्वको पार्टी स्पष्ट छैन । यस्ता केही विषय मिलाउन बाँकी भए पनि मुख्य विवाद नेतृत्व कसले गर्ने भन्नेमै रहेको एक नेताले बताए ।
एकताको हलो कहाँ अड्कियो ? भन्ने प्रश्नमा लोसपाका एक नेताले भने, ‘उपेन्द्रजी, महन्थ ठाकुरलाई सर्वमान्य वा आलंकारिक अध्यक्ष बनाएर आफू कार्यकारी अध्यक्ष बन्न खोज्नुभएको छ । तर महन्थजी नाम मात्रको अध्यक्ष बन्न तयार हुनुहुन्न ।’
मोर्चामाथि मोर्चा
यादव नेतृत्वको जसपा नेपाल र ठाकुर नेतृत्वको लोसपा अहिले पनि एउटै मोर्चामा छन् । यी दुई पार्टी सहित सीके राउतको जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतोको रामुपा, हृदयेश त्रिपाठीको जप्रपा र वृषेशचन्द्र लालको तमलोपा २०८१ चैतमा बनेको संघीय लोकतान्त्रिक मोर्चा (संलोमो) मा छन् । बुधबार यही मोर्चा तीन दलले पार्टी एकता गर्ने घोषणा गरेका हुन् ।
संलोमोमा रहेका रामुपा र नागरिक उन्मुक्ति पार्टीले अशोक राई अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) सँग एकल चिह्नमा चुनाव लड्ने सहमति गरेका छन् । उनीहरूले नागरिक उन्मुक्तिको चुनाव चिह्न जाँतो लिने भएका छन् ।

जसपाका महासचिव मोहम्मद इस्तियाक राईले आफूहरू बीच सिट बाँडफाँड लगभग टुंगिएको बताए । अघिल्लो निर्वाचनको विजेता वा दोस्रो स्थानमा आएका दललाई त्यही निर्वाचन क्षेत्र दिने सहमति भएको उनले जानकारी दिए ।
संघीय समाजवादी पार्टीबाट विभाजित भएर बनेको मोहम्मद रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टीले एकल चुनाव चिह्न बस लिने भएका छन् । अन्सारीको पार्टीले २०७९ को निर्वाचनमा मधेश प्रदेशमा समानुपातिक तर्फबाट एक सिट जितेको थियो ।
जनमत एक्लै !
गत वैशाखमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता अन्तिम समयमा आएर रोकिएको थियो । त्यतिबेला घोषणा कार्यक्रमबाटै नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता प्रभावित भएको थियो ।
त्यतिबेला पार्टी एकताका लागि लालायित जनमत पार्टीले आम निर्वाचनको घोषित मिति नजिकिंदै गर्दा गठबन्धन र तालमेलमा समेत रुचि देखाएको छैन । यो पार्टीले २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा समानुपातिकतर्फ चार र प्रत्यक्षमा एक सिट जितेको थियो । मधेश प्रदेश सभामा जनमतले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ सिट पाएको थियो।

विभिन्न दलबाट एकताको प्रस्ताव आए पनि आफूहरू सकेसम्म एक्लै चुनाव लड्ने तयारीमा रहेको जनमत पार्टीका उपाध्यक्ष बसन्तकुमार कुशवाहा बताउँछन् ।
जेनजी आन्दोलनपछि पुराना दलहरूप्रति मतदाताको आकर्षण घटेको र आफूहरू राष्ट्रिय पार्टी बनिसकेकाले साना दलसँग मिल्दा खासै लाभ हुने नदेखेको उनको भनाइ छ । ‘हाम्रो चुनाव चिह्न हर्न स्विकारे आउनेसँग भने सहमति हुनसक्छ’, कुशवाहा भन्छन् ।
प्राथमिकतामा रास्वपा र उज्यालो नेपाल
रामुपाका अध्यक्ष राजेन्द्र महतो मधेशवादी दलहरू बीच एकता हुन नसके पनि मोर्चा बनाउने प्रयास जारी रहेको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘पहाड मधेश नभनी उत्पीडनको विरोधमा रहेका अन्य पार्टीहरूसँग पनि चुनावी गठबन्धन हुन सक्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) र श्रम संस्कृति पार्टी लगायतसँग तालमेलको प्रयास भइरहेको नेताहरूले बताएका छन् । जप्रपाका अध्यक्ष त्रिपाठी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाहेकका दलसँग गठबन्धनको प्रयास भइरहेको बताउँछन् । उनी भन्छन्, ‘पुराना दल भन्दा पनि हाम्रो प्राथमिकतामा रास्वपा र उज्यालो नेपाल जस्ता दल छन्।’
प्रतिक्रिया 4