+
+
Shares

बहिनीको बिहेका लागि जसले उत्खनन् गरे हीरा, २० दिनमै चम्कियो भाग्य

यो हीरासँगै, उनीहरूले त्यो आशालाई वास्तविकतामा परिणत गरेका थिए, जुन धेरै पन्नावासीले देख्छन् तर कमले मात्र प्राप्त गर्छन् ।बीबीसीसँगको कुराकानीमा साजिद भन्छन्, ‘हीरा भेटिनासाथ तुरुन्तै चिनिन्छ । बिल्कुलै चम्किलो । शरीर तरंगित हुन्छ कि हो, यो नै हीरा हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मध्य प्रदेशको पन्ना जिल्लामा साजिद मोहम्मद र सतीश खतिकले १५.३४ क्यारेटको हीरा भेटेका छन्।
  • हीराको मूल्य ५० देखि ६० लाख रुपैयाँ अनुमान गरिएको छ र यसले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ।
  • पन्नामा कानूनी रूपमा वार्षिक २०० रुपैयाँ शुल्क तिरेर ८x८ मिटर जग्गा भाडामा लिएर हीरा खन्न सकिन्छ।

काठमाडौं। ‘एक दाजुले आफ्नी बहिनीको लागि के–के गर्न सक्छ ?’ मध्य प्रदेशको पन्ना जिल्लामा बस्ने दुई साथीहरु– साजिद मोहम्मद र सतीश खतिकको कथा यही प्रश्नबाट शुरू हुन्छ।

डिसेम्बर ९ को चिसो बिहान, पन्नाको डायमण्ड कार्यालयमा त्यति भीड थिएन । तर कागजका धेरै तहमा बेरिएको एउटा सानो प्याकेट हातमा लिएर उभिएका साजिद र सतीशका लागि त्यो साधारण दिन थिएन । त्यो प्याकेटभित्र १५.३४ क्यारेटको हीरा थियो।

यो हीरासँगै, उनीहरूले त्यो आशालाई वास्तविकतामा परिणत गरेका थिए, जुन धेरै पन्नावासीले देख्छन् तर कमले मात्र प्राप्त गर्छन् ।बीबीसीसँगको कुराकानीमा साजिद भन्छन्, ‘हीरा भेटिनासाथ तुरुन्तै चिनिन्छ । बिल्कुलै चम्किलो । शरीर तरंगित हुन्छ कि हो, यो नै हीरा हो ।’

पन्ना डायमण्ड कार्यालयका सरकारी हीरा परीक्षक अनुपम सिंहले पुष्टि गरे, ‘सतीश खतिक र साजिद मोहम्मदले १५.३४ क्यारेटको हीरा पाएका छन् । खानी सतीशको नाममा थियो तर दुवैले मिलेर यो हीरा खोजेका हुन् ।’

हीरा भेटिएको क्षण सम्झँदै सतीश भन्छन्, ‘अविश्वसनीय थियो कि हामी यति छिट्टै यति ठूलो रकमको मालिक बन्नेछौं । अब बहिनीहरूको विवाह राम्रोसँग गर्न सक्नेछौं ।’

‘डायमण्ड सिटी’ पछाडिको कथा: आशा र अनिश्चितता

भारतको बुंदेलखंड क्षेत्रमा पर्ने पन्नालाई ‘डायमण्ड सिटी’ भनिन्छ । तर यो पहिचानको पछाडि गरिबी, पानीको कमी र रोजगारीको अभावको लामो कथा छ । यहाँ जमिन खन्नु केवल रोजगारी मात्र होइन, आशा र अनिश्चितताबीच लिइएको निर्णय हो ।

साजिद र सतीशले पनि हीरा पाउने चाहनामा यही बाटो अपनाएका थिए । धेरै मानिसहरूको जीवन पन्नामा हीरा खोज्दै बित्छ, तर यी दुई बाल्यकालका साथीहरूलाई केवल २० दिनमै सफलता मिल्यो।

पन्नाको रानीगञ्ज क्षेत्रमा बस्ने यी दुईको जीवन धेरै हदसम्म मिल्दोजुल्दो छ । दुवैको अघिल्ला धेरै पुस्ताको जीवन हीरा खोज्नमै बितेको छ ।

सतीश सानो मासुको पसल चलाउँछन्। साजिदको परिवार फलफूल बेचेर गुजारा चलाउँछ ।

सीमित आम्दानी भएका यी दुई परिवारमा दिदी–बहिनीहरूको विवाह खर्च लामो समयदेखि चिन्ताको विषय थियो ।साजिद भन्छन्, ‘हाम्रो बुबा र हजुरबुबाले पनि वर्षौँ जमिन खन्नुभयो, तर कहिल्यै हीरा पाउनु भएन ।’

सतीशको परिवारको कथा पनि त्यस्तै छ । तर मानिसहरू हरेक पटक फरुवा उठाउँदा सोच्दछन् कि सायद यस पटक भाग्य बदलिन्छ ।

घरको बढ्दो खर्च र बहिनीहरूको विवाहको चिन्ताले गर्दा, दुबै साथीहरूले नोभेम्बर महिनामा हीरा खोज्ने निर्णय गरे । सयौं परिवार पुस्तादेखि संघर्ष गरिरहेको यस क्षेत्रमा, २० दिनभित्र उनीहरूको चर्चा सबैतिर फैलियो ।

पन्नामा हीरा खोज्ने तरिका र यसको मूल्य

पन्नामा मझगाँव हीरा खानी नेशनल मिनरल डेभलपमेन्ट कर्पोरेशन (NMDC) ले सञ्चालन गर्छ । यसबाहेक, पन्नामा कुनै पनि व्यक्तिले राज्य सरकारबाट ८x८ मिटरको भूभाग वार्षिक २०० रुपैयाँ शुल्क तिरेर कानूनी रूपमा एक वर्षसम्म हीरा खन्न सक्छ । तर हीरा भटिने ग्यारेन्टी भने हुँदैन ।

साजिद र सतीशले पनि भाडामा जग्गा लिएर खन्न सुरु गरे । करिब बीस दिनको मिहिनेतपछि, डिसेम्बर ८ को बिहान उनीहरूले जीवनको दिशा बदल्ने क्षमता राख्ने त्यो पत्थर भेटे ।

पन्ना हीरा कार्यालयमा परीक्षण गर्दा, यसको वजन १५.३४ क्यारेट र गुणस्तर जेम–गुणस्तरको पाइयो । हीरा परीक्षक अनुपम सिंहका अनुसार, ‘हीराको सही मूल्य बताउन गाह्रो छ किनभने यो अन्तर्राष्ट्रिय बजार दरमा निर्भर हुन्छ । तर वर्तमान अनुमान अनुसार यसको मूल्य ५० देखि ६० लाख रुपैयाँको बीचमा हुन सक्छ।’

पन्नामा अहिलेसम्मको सबैभन्दा महँगो हीरा २०१७–१८ मा मोतीलाल प्रजापतिलाई फेला परेको थियो, जसको वजन ४२.५८ क्यारेट थियो र लिलामीमा साढे दुई करोड रुपैयाँभन्दा बढीमा बिकेको थियो।

सुरक्षित भविष्यको सपना

हीरा प्रायः लिलामीमा बेचिन्छ । लिलामीबाट प्राप्त कुल रकमको १२ प्रतिशत सरकारले राख्छ, बाँकी रकम हीरा खोज्ने व्यक्तिलाई प्राप्त हुन्छ।साजिद र सतीश भन्छन्, ‘यो रकम कल्पनाभन्दा पर छ किनभने हाम्रो मासिक आम्दानी केही हजार रुपैयाँभन्दा बढी छैन ।’

साजिदकी दिदी सबा बानो खुसी हुँदै भन्छिन्, ‘हाम्रो बुबा र हजुरबुबालाई कहिल्यै यो सफलता प्राप्त भएको थिएन । मेरा दाइ सतीशले हाम्रो विवाह खर्च बेहोर्ने बताएका छन् । अहिले हाम्रो पूरा परिवार खुसी छ।’

सतीश भन्छन्, ‘हीरा भेटिने रात निद्रा लागेन । सपनामा पैसाभन्दा बढी सुरक्षित भविष्य थियो– बहिनीहरूको विवाह, घर र थोरै स्थिरता।’

पन्नामा हीरा खोज्ने काम आशा र निराशाबीचको यात्रा हो । धेरै खाली हात फर्कन्छन्, तर जब कसैले हीरा भेटाउँछ, त्यसको चमक केवल एउटा परिवारमा सीमित हुँदैन; सम्पूर्ण क्षेत्रमा आशाको सञ्चार हुन्छ कि सायद अब हीरा भेटाउने पालो मेरो हो।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?