+
+
Shares

पालिकाहरूले तिरेनन् मधेश सरकारलाई ६२ करोड राजस्व

दुई दर्जन पालिकाहरूले नदीजन्य पदार्थको ६२ करोड भन्दा बढी राजश्व मधेश प्रदेश सरकारलाई तिरेका छैनन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ पुष १ गते ८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका स्थानीय सरकारहरूले नदीजन्य पदार्थबाट हुने राजश्व ६२ करोडभन्दा बढी रकम प्रदेश सरकारको संचित कोषमा दाखिला नगरेका छन्।
  • निजगढ नगरपालिकाले स्थापनाकालदेखि अहिलेसम्म गिट्टी बालुवाको राजश्व २३ करोड ९२ लाखभन्दा बढी बुझाएको छैन भने वीरगञ्ज महानगरपालिकासहित २४ पालिकाले पनि रकम नबुझाएको पाइएको छ।
  • मधेश सरकारले राजश्व नबुझाउने स्थानीय तहहरूको अनुदान रोक्का गरेको छ र आर्थिक वर्ष अनुसार विभिन्न पालिकाहरूले तिर्न बाँकी रकम सार्वजनिक गरिएको छ।

१ पुस, जनकपुरधाम। स्थानीय सरकारहरूले नदीजन्य पदार्थबाट हुने आम्दानी प्रदेश सरकारलाई बुझाएका छैनन्। महालेखा परीक्षकको प्रतिवेदन अनुसार हालसम्म स्थानीय सरकारहरूले ६२ करोड भन्दा बढी राजस्व मधेश सरकारको संचित कोषमा दाखिला नगरेको पाइएको छ।

मधेश सरकारको आर्थिक ऐनमा नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुंगाको स्थानीय तहले ६० र प्रदेश सरकारले ४० प्रतिशत राजश्व बाँडफाँड हुने उल्लेख छ। यसरी रकम दाखिला नगर्नेमा वीरगञ्ज महानगरपालिकासहित दुई दर्जन पालिकाहरू छन् ।

संस्कारलाई दोष

बाराको निजगढ नगरपालिकाले स्थापनाकालदेखि अहिलेसम्म उसले गिट्टी बालुवाको राजश्व नै बुझाएको छैन। प्रतिवेदन अनुसार उसले तिर्नुपर्ने राजश्व रु. २३ करोड ९२ लाख भन्दा बढी छ।

निजगढका नगर प्रमुख सुरथ पुरी पहिलादेखि नै राजश्व दाखिला नगर्ने संस्कारको कारण आफूहरूले पनि बुझाउन नसकेको स्वीकारे।आफू निर्वाचित भएर आएको वर्ष ठेक्का नलागेको उनको भनाइ छ । उनी भन्छन्, ‘दुरुपयोग भएको होइन । यही विकास निर्माणमै खर्च भएको हो।’

प्रदेश सरकारबाट पनि समयमा खोजी नहुँदा यो अवस्था आएको दाबी उनको छ।स्थानीय तह वित्तीय संघीयतामा जिम्मेबार नहुँदा गर्नुपर्ने राजश्व दाखिला प्रदेश संचित कोषमा नगरेको अर्थ मन्त्रालय मधेश प्रदेशका सचिव रामकुमार महतो बताउँछन्। उनी भन्छन्, ‘स्थानीय तह वितीय संघीयतामा गैर जिम्मेवार देखिन्छ । जसले गर्दा प्रत्येक वर्ष महालेखा परीक्षकले बेरुजु ठहर्याएको छ।’

गत साउन ३० गते मधेश प्रदेशका सबै स्थानीय तहमा अर्थ मन्त्रालयले पत्राचार गरी राजश्व बाँडफाडको रकम प्रदेश संचित कोषमा दाखिला गर्न आग्रह गर्दै अन्यथा रोक्का गर्ने चेतावनी समेत दिएको थियो।

रोकियो अनुदान

राजश्व नबुझाउने र बाँकी रहेका स्थानीय तहको मधेश सरकारले प्रदेशबाट स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान र राजस्व बाँडफाँटको रकम रोक्का गरेको छ।

स्थानीय तहले संकलन गरी बाँडफाँट गर्नु पर्ने ढुङ्गा, गिट्टी, बालुवा, माटो, दहत्तर वहत्तर शुल्क, विज्ञापन कर र मनोरञ्जन कर लगायतका राजस्व संकलन गरी कतिपय स्थानीय तहले कानून वमोजिम वाँडफाँट गरी प्रदेश सञ्चित कोषमा विगत वर्षदेखि नै दाखिला नभएको पत्रमा उल्लेख छ।

पत्रमा भनिएको छ, ‘प्रदेशको सम्पूर्ण हिस्सा प्रदेश सञ्चित कोषमा अनिवार्यरुपमा दाखिला हुन अनुरोध गर्दै उल्लिखित रकम दाखिला नभएको देखिएमा प्रदेशवाट तहाँ स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान र राजस्व बाँडफाँटको रकम रोक्का राखिने तथा कट्टा गरी समायोजन गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ।’

कसको कति तिर्न बाँकी ?

क्र.सं. स्थानीय पालिका आर्थिक वर्ष तिर्न बाँकी
१. गणेशमान चारनाथ नगरपालिका (धनुषा) २०७८/०७९,२०७९/०८० ३ करोड २ लाख ३९ हजार

 

२. मिथिला बिहारी नगरपालिका (धनुषा) २०८०/०८१ १ करोड ३५ लाख ४ हजार

 

३. धनुषाधाम नगरपालिका (धनुषा) २०८०/०८१ ६० लाख ८० हजार

 

४. बर्दिबास नगरपालिका (महोत्तरी) २०७९/०८०,२०८०/०८१ २ करोड ५ लाख ३५ हजार

 

५. भंगहा नगरपालिका (महोत्तरी) २०७७/०७८ १ करोड ७ लाख ३ हजार

 

६. गौशाला नगरपालिका (महोत्तरी) २०७८/०७९ ६४  लाख ६० हजार

 

७. बागमती नगरपालिका (सर्लाही) २०८०/०८१ ६७ लाख ७७ हजार

 

८. लालबन्दी नगरपालिका (सर्लाही) २०७७/०७८, ०७८/०७९ ७४ लाख ४२ हजार

 

९. ईश्वरपुर नगरपालिका (सर्लाही) २०७७/०७८,२०७९/०८० ९२ लाख ५६ हजार

 

१०. हरिपुर नगरपालिका (सर्लाही) २०७८/०७९,२०८०/०८१ १७ लाख २२ हजार

 

११. बसबरीया नगरपालिका (सर्लाही) २०७९/०८० ५ लाख ३४ हजार

 

१२. लहान नगरपालिका (सिरहा) २०७७/०७८, ०७९/०८० १ करोड ५० लाख ६० हजार

 

१३. कर्जन्हा नगरपालिका (सिरहा) २०८०/०८१ ७१ लाख ३६ हजार

 

१४. मिर्चैया नगरपालिका (सिरहा) २०७९/०८० १६ लाख १२ हजार
१५. धनगढीमाई नगरपालिका (सिरहा) २०७९/०८० २७ लाख १८ हजार

 

१६. गढीमाई नगरपालिका (रौतहट) २०८०/०८१ २७ लाख १८ हजार

 

१७. चन्द्रपुर नगरपालिका (रौतहट) २०७८/०७९, ०८०/०८१ ३८ लाख ३० हजार

 

१८. गौर नगरपालिका (रौतहट

 

२०७७/०७८  ४० हजार
१९. जितपुर सिमरा उपमहानगरपालिका (बारा) २०७६/०७७, ०८०/०८१ १३ करोड ५५ लाख १३ हजार

 

२०. निजगढ नगरपालिका (बारा) २०७४/०७५ देखि २०८०/०८१ ५ करोड ८३ लाख ८८ हजार

 

२१. वीरगञ्ज महानगरपालिका (पर्सा ) २०७९/०८०,०८०/०८१ २ करोड ३५ लाख ३४ हजार

 

२२. जिरा भवानी नगरपालिका (पर्सा) २०७८/०७९ १३ लाख ९७ हजार

 

२३. पर्सागढी नगरपालिका (पर्सा )  २०८०/०८१ ८ लाख १७ हजार

 

 

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?