News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटारले १३ वर्षको अनुसन्धानपछि \'खुमल-१८\' नामक बायोफोर्टिफाइड धान जात विकास गरेको छ।
- \'खुमल-१८\' धानमा फलामको मात्रा सामान्य जातभन्दा बढी छ र यसले कुपोषण विशेषगरी आइरनको कमी समाधान गर्ने विश्वास गरिएको छ।
- यो जातले प्रतिहेक्टर औसत ५ हजार २ सय किलो धान उत्पादन गर्छ र रोग तथा कीराप्रतिको प्रतिरोधात्मक क्षमता छ, जसले किसानलाई लाभ पुर्याउने छ।
२ पुस, काठमाडौं । नेपालको राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटारले १३ वर्षको निरन्तर अनुसन्धानपछि विकास गरेको ‘खुमल-१८’ धानको प्रजातिले नेपालको कृषि क्षेत्रमा नयाँ आयाम थपेको छ ।
यस धानलाई नेपालकै प्रथम ऐतिहासिक ‘बायोफोर्टिफाइड’ जातका रूपमा दाबी गरिएको छ, जसमा फलाम (आइरन) को मात्रा अत्यधिक छ ।
कुपोषण, विशेषगरी आइरनको कमीबाट हुने समस्यासँग जुधिरहेको नेपालका लागि यो धान समाधान बन्न सक्ने विश्वास गरिएको छ ।
राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमलटारका प्राविधिक अधिकृत तथा वैज्ञानिक डा. उज्ज्वल कुशवाहले १३ वर्षभन्दा लामो अथक अनुसन्धानपछि यो धानको जात विकास गरेका हुन् ।
सरकारले हालै खुमल-१८ धानको एक नयाँ उन्नत जातलाई बीउबिजन ऐन २०४५ अन्तर्गत सूचित बीउबिजनका रूपमा राजपत्रमा समावेश गरिसकेको छ ।
डा. कुशवाहको नेतृत्वमा सन् २००७ देखि सुरु भएको खुमल-१८ को विकास यात्रा लगभग डेढ दशक लामो छ । यो धान अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्रबाट ल्याइएको ‘आईआर ६४’ जात र नेपालको स्थानीय जात ‘पातले’ बीच ‘क्रस’ गराएर विकास गरिएको हो ।
स्थानीय जात ‘पातले’ लाई पहाडी भेगमा सुत्केरी महिलालाई खुवाउने परम्परा रहेको र यसमा आइरनको मात्रा बढी हुने तथ्य अनुसन्धान क्रममा पत्ता लागेको डा. कुशवाहले बताए । यसै गुणलाई नयाँ जातमा ल्याउने उद्देश्यले यी दुई जातबीच वर्णशंकर गराइएको थियो ।
यो जातको परीक्षण मध्यपहाडी क्षेत्रका विभिन्न अनुसन्धान केन्द्र जस्तै खुमलटार, दोलखा, पाख्रिबास (धनकुटा), दैलेख, जुम्ला, डोटी र लुम्ले लगायत स्थानमा ७ सय ५० देखि १ हजार ५ सय मिटर उचाइसम्म १० वर्षभन्दा बढी समयसम्म गरिएको थियो ।
यी व्यापक परीक्षणले विभिन्न वातावरणीय र माटोका अवस्थामा पनि यसको उत्पादन र पोषण मूल्य स्थिर रहेको पुष्टि गरेका छन् ।
आनुवंशिकी तथा बाली प्रजननमा विद्यावारिधि गरेका डा. कुशवाहले यसअघि खुमल-१२, खुमल-१४ र खुमल बासमती-१६ जस्ता सफल धानका जात पनि विकास गरिसकेका छन् । खुमल-१८ उनको चौथो महत्त्वपूर्ण सफलता हो ।
खुमल-१८ धानको बिरुवा औसत १ सय ३२ सेन्टिमिटर अग्लो हुने गर्दछ । यसले फुल्नका लागि औसत १ सय ५ दिन र पूर्णरूपमा पाक्न १ सय ४५ दिन लिने अनुसन्धानले देखाउँछ ।
केन्द्रका अनुसार उत्पादनका हिसाबले यो जात निकै प्रभावशाली देखिएको छ । यसले प्रतिहेक्टर औसत ५ हजार २ सय किलो धान उत्पादन गर्छ । धानसँगै यसले प्रतिहेक्टर औसत १० हजार ५ सय किलो पराल पनि उत्पादन गर्दछ ।
उत्पादनका महत्त्वपूर्ण अवयवहरूमा प्रतिगेडा औसत ११ प्रभावकारी झुप्पा (टिल्लर्स) हुन्छन् । यसको १ हजार दानाको औसत तौल १८.६ ग्राम हुन्छ भने प्रति पेनिकलमा औसत १ सय २० प्रभावकारी दाना पाइएको छ ।
पोषण र उत्पादकत्वमा अब्बल
खुमल-१८ को सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको बायोफोर्टिफाइड गुण हो । डा. कुशवाहका अनुसार यसको पोलिस गरिएको चामलमा २.४ मिलिग्राम/१०० ग्राम र खैरो चामल (ब्राउन राइस) मा ५.९३ मिलिग्राम/१०० ग्राम फलाम पाइएको छ, जुन सामान्य धानका जातमा पाइने १ देखि १.५ मिलिग्रामभन्दा धेरै हो ।
यसका साथै खैरो चामलमा २.६ मिलिग्राम/१०० ग्राम जिंकको मात्रा पनि रहेको छ । बायोफोर्टिफाइड धान भएकाले यसको पोषण तत्त्वको मात्रा प्राकृतिक अवस्थामा प्रत्येक पुस्तामा स्थिर रहन्छ ।
‘मौसम र माटोको विविधताले पोषण तत्त्वको मात्रामा केही फरक पारे पनि त्यो ठूलो मात्रामा घटबढ हुँदैन,’ डा. कुशवाहले भने ।

खुमल-१८ धानमा ११.२९ प्रतिशत आर्द्रता पाइएको छ । यसमा ०.५७ प्रतिशत खरानी, ०.९७ प्रतिशत फ्याट र ९.११ प्रतिशत प्रोटिन रहेको छ । साथै, यसमा ०.५७ प्रतिशत कच्चा फाइबर र ७८.०६ प्रतिशत कार्बोहाइड्रेटको मात्रा भेटिएको छ ।
खनिज तत्त्वहरूका हकमा खुमल-१८ मा प्रति १ सय ग्राम २.४० मिलिग्राम फलाम पाइएको छ, जुन शरीरका लागि आवश्यक सुक्ष्म पोषक तत्त्व हो । यसैगरी यसमा १२६.७७ मिलिग्राम फस्फोरस र ५७.२७ मिलिग्राम क्याल्सियम पनि रहेको छ, जुन हड्डीको स्वास्थ्य र अन्य शारीरिक कार्यका लागि महत्त्वपूर्ण मानिन्छ ।
खुमल-१८ एक खुला सेचित जात (ओपन पोलिनेटेड भेराइटी) हो, जसलाई वर्षे धानका लागि सिफारिस गरिएको छ । यसको उत्पादकत्व प्रतिहेक्टर ४.५ देखि ७.५ टनसम्म रहेको पाइएको छ, जुन सामान्यतया प्रतिहेक्टर ५.२० टन तोकिएको उत्पादनभन्दा बढी हो ।
यो जातले मध्य पहाडी क्षेत्रमा सिञ्चित र वर्षाको भरमा गरिने खेती दुवै प्रकारका जग्गामा राम्रो उत्पादन दिने डा. कुशवाह बताउँछन् ।
वर्षामा आधारित खेतीमा समेत यसले प्रतिहेक्टर ३.५ देखि ४ टनसम्म उत्पादन दिएको पाइएको छ, जुन अन्य जातको तुलनामा धेरै हो । यो जात पाक्न १ सय ४५ दिन लाग्छ र यसको चामल मसिनो खालको, बाला लामो तथा सजिलै नढल्ने विशेषता रहेको छ ।
रोग र कीरा प्रतिरोधात्मक क्षमता : किसानलाई भरपर्दो विकल्प
कुनै पनि बाली सिफारिस गर्दा त्यसको रोग र कीरा प्रतिरोधात्मक क्षमतालाई उच्च प्राथमिकता दिइन्छ । डा. कुशवाहका अनुसार खुमल-१८ मध्यपहाडी क्षेत्रमा धानमा लाग्ने मुख्य रोग जस्तै ब्लास्ट (मरुवा रोग) बाट पूर्णरूपमा सुरक्षित छ ।
परीक्षण क्रममा देशका विभिन्न ठाउँमा यसमा कीरा र रोगको समस्या नदेखिएको उनको दाबी छ । ‘हामी रोग र कीरा लाग्ने जातलाई अगाडि बढाउँदैनौं, त्यसलाई हटाइदिन्छौं,’ डा. कुशवाह भन्छन्, ‘खुमल-१८ लाई जलवायु स्मार्ट जात (क्लाइमेट स्मार्ट भेराइटी) का रूपमा पनि लिइएको छ, जसले किसानलाई रोग र कीरा नियन्त्रणमा कम लागत लाग्ने र चिन्तारहित बनाउँछ ।’
आर्थिक दृष्टिकोणले पनि यो धान नेपालका लागि महत्त्वपूर्ण रहेको डा. कुशवाह बताउँछन् । हाल नेपालमा आइरन र जिंक फोर्टिफाइड चामल भारत, थाइल्यान्ड र चीनबाट आयात हुने गर्छ । खुमल-१८ को व्यावसायिक उत्पादनले आयात घटाउनुका साथै किसान र कृषि व्यवसायीका लागि नयाँ व्यापारिक अवसर सिर्जना गर्ने छ ।
‘यो जातलाई व्यावसायिक रूपमा खेती गरेर बेच्न सकिन्छ, जसले कृषिमा नयाँ बिजनेसको ढोका खोल्छ,’ डा. कुशवाह भन्छन्, ‘यसले स्वास्थ्य, शिक्षा र कृषि गरी तीनवटै मन्त्रालयका उद्देश्यलाई एकैचोटि सम्बोधन गर्ने क्षमता राख्छ ।’
चुनौती र भविष्यको बाटो
खुमल-१८ जस्ता उन्नत जातको विकास एक जटिल, लामो र चुनौतीपूर्ण प्रक्रिया हो । डा. कुशवाहले एउटा उन्नत जात विकास गर्न करिब १२–१४ वर्ष लाग्ने बताए । यद्यपि, नेपालमा वैज्ञानिकहरूको योगदान र यस प्रकारका अनुसन्धानलाई सरकारले गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ ।
‘सेवा सुविधाको कमीले वैज्ञानिकहरूमा निराशा र पलायनको अवस्था समेत देखिएको छ,’ उनी भन्छन्, ‘जसले गर्दा यस्ता महत्त्वपूर्ण अनुसन्धानहरूलाई निरन्तरता दिन कठिन हुन्छ ।’
वर्तमानमा खुमल-१८ को बजार विकासका लागि कुनै ठोस रणनीति तयार भइसकेको छैन, जुन नीतिगत तहमा सरकार र सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने विषय हो । आगामी दिनमा खुमल-१८ को बीउ किसानमाझ पुर्याउने र यसको व्यावसायिक उत्पादन बढाउने चुनौती छ ।
राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख डा. कृष्णहरि घिमिरे किसानहरूले यसको उन्नत बीउ आगामी वर्षदेखि प्राप्त गर्न सक्ने बताउँछन् ।
उनका अनुसार केन्द्रमा खुमल-१८ को प्रजनन बीउ (स्रोत बीउ) उपलब्ध छ । यो बीउ सिधै किसानलाई नभई, मूलबीउ उत्पादन गर्ने किसान समूह वा सहकारीहरूलाई प्रदान गरिने छ ।
ती समूह वा सहकारीले उत्पादन गरेको मूलबीउ अर्को वर्षदेखि आम किसानले प्रयोग गर्न पाउनेछन् ।
हाल परीक्षण वा प्रदर्शनीका लागि एक-दुई किलो बीउ चाहने किसानले खुमलटारस्थित केन्द्रबाटै प्राप्त गर्न सक्नेछन्, किनभने यसको मूलबीउ धेरै फार्म केन्द्रहरूमा अझै उपलब्ध भइसकेको छैन ।
प्रजनन बीउको मूल्य प्रतिकिलो १ सय ३५ देखि १ सय ४० रुपैयाँसम्म तोकिएको छ, जुन अन्य जातको बीउको तुलनामा अलिकति बढी हो किनभने यो उच्च गुणस्तरको बीउ हो ।
यो वर्ष खुमल-१८ को करिब ४ सयदेखि ५ सय किलो प्रजनन बीउ उपलब्ध रहेको र आगामी चैत–वैशाख (मार्च-मे) सम्ममा यसको माग अत्यधिक बढ्ने अपेक्षा गरिएको छ । यस वर्ष सबै किसानको माग पूरा गर्न नसकिने सम्भावना रहेको डा. घिमिरेले बताए ।
राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रले भविष्यमा खुमल-१५ जस्ता अन्य उन्नत जात पनि ल्याउने तयारी गरिरहेको छ, जुन मध्यपहाडी क्षेत्रका लागि नै लक्षित छन् ।
प्रतिक्रिया 4