News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन भरतपुरमा २ देखि ४ माघसम्म 'नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी' आयोजना हुने भएको छ।
- प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत देशका कृषिसम्बन्धी कम्पनीका १ सयभन्दा बढी स्टल रहनेछन्।
- प्रदर्शनीमा कृषि औजार, डेरी मेसिनरी, पशुपन्छीपालन उद्योगका उपकरणको डेमो गरिनेछ र निःशुल्क प्रवेश व्यवस्था गरिएको छ।
१५ पुस, काठमाडौं । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधि प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित चितवन भरतपुरमा ‘नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना हुने भएको छ ।
विगतका वर्ष झैं यस वर्ष पनि २ देखि ४ माघसम्म चितवन प्रदर्शनी केन्द्रमा यो बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी सञ्चालन हुनेछ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुन गइरहेको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत देशका कृषिसम्बन्धी कम्पनीका १ सयभन्दा बढी स्टल रहनेछन् ।
प्रदर्शनीमा कृषिका विभिन्न विधा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाईभैँसीपालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बिउबिजन, कृषि तालिम र वित्तीय सुविधाबारे एकै थलोमा जानकारी प्राप्त गर्न सकिने छ ।
देश तथा विदेशबाट आउने उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि लगायत कृषकले प्रदर्शनीमा आधुनिक प्रविधि अवलोकन गर्ने र आफ्ना जिज्ञासा मेटाउने अवसर पाउने विश्वास लिइएको छ ।
निःशुल्क प्रवेश व्यवस्था गरिएको प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना औजारदेखि डेरी मेसिनरी तथा पशुपन्छीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको डेमो समेत प्रदर्शन गरिने छ ।
प्रदर्शनीका लागि सीमित स्टलमात्र बाँकी रहेको र बुकिङ तीव्र गतिमा भइरहेको जनाइएको छ । यो प्रदर्शनी नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा कोशेढुंगा सावित हुने र नवीनतम प्रविधि प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई आत्मनिर्भर बन्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवर्द्धकको भूमिकामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम छन् ।
त्यस्तै सहयोगी संस्थाको भूमिकामा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ नेपाल र चितवन उद्योग संघ छन् ।
प्रतिक्रिया 4