+
+
Shares

असोजको वर्षाले कृषिमा साढे ३ अर्बको क्षति, कात्तिकको विवरण आउन बाँकी

कृषि मन्त्रालयले असोज तेस्रो साता भएको वर्षा र बाढीपहिरोबाट मात्रै साढे ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असोज तेस्रो साता परेको वर्षा र बाढीपहिरोले कृषि क्षेत्रमा ३ अर्ब ५५ करोड ८७ लाख रुपैयाँभन्दा बढीको क्षति गरेको छ।
  • मधेश प्रदेशमा सबैभन्दा बढी २ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ बराबरको कृषि नोक्सानी भएको छ।
  • कात्तिकमा पाकेको धानबालीमा परेको वर्षाले थप क्षति पुर्‍याएको छ र क्षतिको तथ्यांक संकलन भइरहेको छ।

२१ कात्तिक, काठमाडौं । यस वर्ष कृषि क्षेत्रमा वर्षा र बाढीपहिरोका कारण व्यापक क्षति भएको छ । बाहिरिने समयमा परेको झरीले बालीनालीमा क्षति पुगेको हो ।

विशेषगरी गत असोज दोस्रो साता भएको भारी वर्षा र बाढीपहिरोले ठूलो नोक्सानी पुर्‍याएको थियो भने कात्तिकमा पाकेको धानबाली उठाउने बेला फेरि पानी पर्दा थप क्षति भयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असोज तेस्रो साता भएको क्षति विवरण संकलन गरी प्रारम्भिक तथ्यांक निकालेको छ । उक्त समय भएको वर्षा र बाढीपहिरोबाट मात्रै साढे ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको तथ्यांक छ ।

मन्त्रालयका अनुसार ३ अर्ब ५५ करोड ८७ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको छ । यो क्षति मुख्यतया कोशी, मधेश र बागमती प्रदेशमा भएको हो । गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य क्षति देखिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्षति नभएको मन्त्रालयले जनाएको छ ।

कात्तिकमा भएको क्षतिको पूर्ण विवरण संकलन गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जानुका पण्डितले बताइन् ।

कात्तिक दोस्रो साता भएको वर्षाले विशेषगरी पाक्न लागेको धान र तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको छ ।

क्षति वर्गीकरण हेर्दा असोजमा बालीनालीमा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । यसबाहेक पशुपन्छीमा करिब १४ करोड ९० लाख ५२ हजार, कृषि पूर्वाधारतर्फ ४ करोड ५९ लाख ५ हजार र बीउबिजनमा २७ करोड ९४ लाख ४ हजार रुपैयाँको क्षति भएको छ ।

सबैभन्दा बढी क्षति मधेश प्रदेशमा भएको देखिएको छ, जहाँ २ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । मधेशका सबै जिल्ला प्रभावित भएका छन् । ९ हजार १ सय ८६ हेक्टर क्षेत्रफलमा धान, तरकारी, फलफूल र उखु बाली डुबान तथा कटानमा परेका छन् । यस प्रदेशमा ९९ हजार ८ सय ३३ टन बाली वस्तुमा क्षति भएको छ ।

त्यस्तै कोशीमा धान, तरकारी, अलैँची, अदुवा, केरा, आलु, चिया र कोदो गरी १ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमा क्षति भएको छ । यस प्रदेशमा कुल ३४ करोड २४ लाख २५ हजार रुपैयाँ बराबर क्षति भएको छ । यस प्रदेशमा ६ हजार २ सय ३५ टन बाली वस्तुमा क्षति भएको अनुमान छ ।

बागमती प्रदेशमा १२ करोड ४६ लाख ३ हजार रुपैयाँको क्षति भएको छ । यहाँ ८७ हेक्टर क्षेत्रफलमा लगाएको धान, मकै, तरकारी र कोदो बाली डुबान तथा कटानबाट प्रभावित भएको छ । नुवाकोटमा ४० हेक्टर, काभ्रेमा १० हेक्टर र सिन्धुलीमा ३७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ ।

अन्य प्रदेशमा भने कम क्षति भएको छ । गण्डकी प्रदेशमा धान, तरकारी, सुन्तला र केरा गरी १ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ भने लुम्बिनी प्रदेशमा ३ हेक्टर क्षेत्रफलमा धानबाली बालुवाले पुरेको र डुबानमा परेको तथ्यांक छ ।

मन्त्रालयकी प्रवक्ता पण्डितका अनुसार १७ र १८ असोजको वर्षा र बाढीपहिरोबाट भएको क्षति विवरण अन्तिम चरणमा पुगेको छ भने कात्तिकमा भएको क्षतिको तथ्यांक संकलन भइरहेको छ ।

‘असोज तेस्रो साताको वर्षाले कृषि क्षेत्रमा ३ अर्ब ५५ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भइसकेको र यसको विस्तृत विश्लेषण भइरहेको छ,’ प्रवक्त पण्डितले अनलाइनखबरसँग भनिन्, ‘दुई–तीन दिनभित्रै प्रतिवेदन सार्वजनिक हुन्छ ।’

उनका अनुसार मन्त्रालयले अहिले उक्त अवधिको क्षतिको गहन विश्लेषण भइरहेको छ, जसको प्रतिवेदन तयार भएपछि सम्बन्धित निकायमा पठाइने छ ।

यसैगरी पाकेको धानबाली उठाउने बेला कात्तिकमा भएको वर्षाले पुर्‍याएको क्षतिको विवरण भने अझैसम्म मन्त्रालयमा आइनपुगेको प्रवक्ता पण्डितले बताइन् ।

मन्त्रालयले यस सम्बन्धमा सरोकारवाला निकायलाई पत्राचार गरिसकेको छ र त्यसको तथ्यांक संकलन विवरण प्रतीक्षामा रहेको उनको भनाइ छ ।

बेमौसमी वर्षाले गर्दा कृषिबालीमा भएको क्षतिको क्ष्तिपूर्ति पाउनुपर्ने माग किसानहरूले गरिरहेका छन् । तर, राहत र पुनर्स्थापनाको बजेट सिधै कृषि मन्त्रालयअन्तर्गत नपर्ने प्रवक्ता पण्डितले बताइन् ।

विपद् व्यवस्थापनसम्बन्धी राहत कार्यक्रमहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणजस्ता निकायहरूले हेर्ने गर्छन्। कृषि मन्त्रालयको काम भनेको क्षतिको यथार्थ विवरण सङ्कलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र विपद् व्यवस्थापन निकायहरूमा पठाउनु रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?