+
+
Shares

अमेरिकाले किन बनाउँदैछ प्रविधि दस्ता ?

एजेन्सी एजेन्सी
२०८२ पुष २ गते १३:३३

अमेरिकाको ट्रम्प प्रशासनले संघीय सरकारको प्रविधि क्षमता सुदृढ गर्ने उद्देश्यसहित ‘यूएस टेक फोर्स’ नामक महत्वाकांक्षी कार्यक्रम सुरु गरेको छ ।

राष्ट्रपति ट्रम्पले राष्ट्रिय एआई नीतिसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै उक्त प्रविधि दस्ता गठनको कार्य अघि बढाइएको हो ।

सरकारले अघि सारेको यस योजनाअन्तर्गत करिब एक हजारजना इन्जिनियर, डेटा वैज्ञानिक र प्रविधि विज्ञलाई दुई वर्षे करारमा विभिन्न सरकारी निकायमा खटाइनेछ ।

उनीहरुले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा, सफ्टवेयर विकास र सरकारी डेटा प्रणालीको आधुनिकीकरणमा काम गर्नेछन् ।

अमेरिकी प्रविधि दस्तामा छनोट भएका विज्ञहरूले सम्बन्धित सरकारी एजेन्सीका प्रमुखलाई प्रत्यक्ष रिपोर्ट गर्नेछन् । उनीहरूलाई निजी क्षेत्रका दिग्गज प्रविधि कम्पनीसँग सहकार्य गर्दै काम गर्ने अवसर पनि दिइनेछ ।

यस्तो अभ्यासले सरकारी परियोजना हरुमा निजी क्षेत्रको नवीन सोच र व्यवहारिक सीप भित्र्याउन मद्दत गर्ने विश्वास ट्रम्प प्रशासनको छ ।

उक्त कार्यक्रम अन्तर्गत अमेजन वेब सर्भिसेज, एप्पल, गुगल, माइक्रोसफ्ट, एनभिडिया, ओपनएआई, ओरेकल, पालान्टिर र सेल्सफोर्सजस्ता विश्वकै ठूला प्रविधि कम्पनीहरू सहभागी छन् । यी कम्पनीहरूले प्रविधि, तालिम र परामर्शमार्फत सरकारी परियोजनालाई सहयोग गर्नेछन्। केही कम्पनीहरूले आफ्ना कर्मचारीलाई अस्थायी रूपमा सरकारी सेवामा पठाउने तयारी पनि देखाएका छन् ।

तलब सुविधा कति ?

टेक फोर्समा छनोट हुने विज्ञले वार्षिक करिब डेढ लाखदेखि २ लाख अमेरिकी डलरसम्म तलब पाउने अनुमान गरिएको छ । यसका अतिरिक्त तालिम, नेटवर्किङ र करियर विकासका अवसर पनि उपलब्ध हुनेछन् ।

दुई वर्षे कार्यकाल पूरा भएपछि सहभागीहरू निजी क्षेत्रका साझेदार कम्पनीहरूमा स्थायी रोजगारीका लागि आवेदन दिन सक्नेछन्, जहाँ उनीहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ ।

किन आवश्यक ठानियो प्रविधि दस्ता ?

पछिल्ला रिपोर्टहरुका अनुसार अमेरिकी संघीय प्रणालीमा प्रविधि जनशक्तिको कमी देखिँदै आएको छ । एआई र डिजिटल सेवाको तीव्र विकाससँगै सरकारी संरचना पछाडि परिरहेको अवस्थामा टेक फोर्सलाई छिटो समाधानको रूपमा अघि सारिएको हो । यस पहलमार्फत अमेरिकाले प्रविधि प्रतिस्पर्धामा चीनलाई चुनौती दिन र राष्ट्रिय सुरक्षासँग जोडिएका डिजिटल क्षमताहरू बलियो बनाउन चाहन्छ ।

यद्यपि उक्त कार्यक्रमको स्वागतसँगै केही आलोचना पनि भएका छन् । विज्ञहरूले निजी कम्पनीको प्रत्यक्ष संलग्नताले स्वार्थको द्वन्द उत्पन्न हुने जोखिम बढ्न सक्ने चेतावनी दिएका छन् ।

साथै दुई वर्षे करार प्रणालीले दीर्घकालीन संस्थागत क्षमता निर्माणमा खासै प्रभाव नपार्ने आशंका पनि गरिएको छ । यसअघि सरकारी डिजिटल सेवासँग सम्बन्धित केही संरचना कटौती गरिएकाले अहिलेको योजना अस्थायी समाधान मात्र हुनसक्ने चिन्ता व्यक्त गरिएको छ ।

अन्तर्राष्ट्रिय र दीर्घकालीन प्रभाव

अमेरिकी प्रविधि दस्ताले विश्वव्यापी प्रविधि प्रतिभा बजारमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ । उच्च तलब र प्रतिष्ठित सरकारी अनुभवका कारण अन्तर्राष्ट्रियस्तरका प्रविधि विज्ञहरू अमेरिकी प्रविधि उद्योगमा आकर्षित हुन सक्ने विश्लेषण गरिएको छ ।

उक्त कार्यक्रमलाई अमेरिकी सरकारी प्रविधि प्रणालीको आधुनिकीकरणमा  ठूलो प्रयास मानिए पनि यसको वास्तविक सफलता पारदर्शिता, कार्यान्वयन र दीर्घकालीन नीतिगत प्रतिबद्धतामा निर्भर रहने विज्ञहरुको विश्लेषण छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?