News Summary
Generated by OK AI. Editorially reviewed.- सहकारीमा कार्यान्वयन हुनुपर्ने स्तरीय स्वनियमन र कानून परिपालनामा हामी जिम्मेवार बन्नै पर्छ । सहकारीहरू जनताका स्रोत परिचालन गर्ने संस्था भएकाले यसमा वित्तीय अनुशासन कडा हुन आवश्यक छ ।
- बचत तथा ऋण सहकारी अभियानको आकार बढ्दै जाँदा जोखिम बढ्यो । सदस्यहरूको नियन्त्रण कमजोर हुन पुग्यो । नियामक निकाय मूकदर्शक भएर बस्यो वा गरेको अनुगमनले पनि स्वच्छन्दता बढायो ।
समुदायको वित्तीय सहयात्रीका रूपमा बचत तथा ऋण सहकारी स्थापित भएको सिद्ध भएको छ । पुग नपुग चार दशकको अभियान सुदृढ बन्दै गएको छ । नयाँ–नयाँ समस्या र नयाँ–नयाँ समाधान पनि विकास हुँदै गएका छन् । बचत तथा ऋण सहकारीको संख्या धेरै छ । समस्या पनि धेरै छ । सोचेका, नसोचेका समस्याहरू छन् । सहयोग पनि सरोकारवालाहरूको रहेको छ ।
चार दशकको इतिहासमा चारवटा त ऐन नै सहकारीका नाममा आएका छन् । नियमावली तथा निर्देशनहरू वृहत छन् । अभ्यासहरूले पनि धेरै कुरा सिद्ध गरेको छ ।
बचत तथा ऋण सहकारी अभियान आज सशक्तताको यात्रामा निस्किएको छ । टोल टोलमा बचत तथा ऋण सहकारी छ । भूकम्प, कोभिड, आर्थिक मन्दी आदि झेलेर यो अभियान आजको अवस्थामा आएको छ ।
बचत तथा ऋण सहकारीहरूलाई सहकारी सिद्धान्तले दिशा बोध गरेको छ । संविधानले सहकारीलाई आर्थिक व्यवस्थाको फरक स्वरूपमा स्वीकार गरेको छ । ऐनमा पनि वृहत व्यवस्था छ । जनताले पनि यसलाई स्वीकार गरेको देखिन्छ । सजिलो, असजिलो सबै सन्दर्भमा बचत तथा ऋण सहकारी समुदायको वित्तीय साथी बनेको छ र आधुनिक समाजमा आर्थिक प्रणालीको आधारका रूपमा स्थापित हुँदै गएको छ ।
संस्थागत विकास
बचत तथा ऋण सहकारीहरूको स्थापना चार दशकअघि भए पनि संस्थागत विकासमा सरकारमा बस्नेहरूको सोच तथा अभियानकर्मीहरूको कार्यक्षमताले र योजनामा परेको प्रभावका कारण संस्थागत, ढाँचा, नीतिगत व्यव्स्था र विकासको गतिमा विविधता आयो । खुल्ला र बन्द दुबै अर्थ व्यवस्थामा सहकारी देखियो र सीमान्तकृत समुदायसँग नै सहकारी रहेको पाइयो ।
जब–जब सहकारीमा शक्तिका पुजारी, पैसाका मालिक र राजनीतिका खेलाडीको भूमिका बढ्यो, सहकारिता कमजोर बनेको अनुभव गरियो । सहकारी जनताको संगठनका रूपमा नै राम्रो भएको पाइयो । सहकारीले राज्यको दायित्व वा निजी क्षेत्रको नाफाको विधिभन्दा पनि मौलिक सहकार्य, अरुको हेरचाह वा एकका लागि सबै र सबैका लागि एकको अवधारणामा नै सफल भएको पाइयो ।
समुदायले खुल्ला अर्थव्यवस्थाको सहकारीमा जन्मदेखि मृत्युसम्म भूमिका देख्यो । वित्तीय सहयात्रीका रूपमा सुदृढीकरणका लागि योगदान गरेका कारण आजको अवस्थासम्म आयो । अपेक्षित नभए पनि समुदाय स्तरमा सहकारीहरूको संस्थागत विकास अरु सामुदायिक संस्था भन्दा राम्रो भयो र भइ रहेको पनि छ ।
समाज सहकार्यका लागि बन्छ र सहकार्यबाट नै सहकारी जन्मिन्छ । आज समाज जस्तो छ, सहकारी पनि उस्तै छ । सहकारीको संस्थागत विकासमा सरकार, समुदाय तथा सञ्जालको अवश्य नै महत्वपूर्ण भूमिका छ ।
सहकारीमा आधुनिकरूपमा सहकार्यको संस्थागत स्वरूप विकास भयो । राज्यको लगानी विना सहकारीहरू सबल र सुदृढ बन्दै गए । स्वार्थी मानिसहरूले सहकारीका नाममा छदम भेषमा चलाएका सहकारीहरू आज समस्यामा पनि परे । सदस्यहरूको बचत फिर्ता हुन सकेन । जीवनको आशको दीप निभ्यो । सरकार मूकदर्शक भएको जस्तो देखियो ।
अभियान जिम्मेवार बन्ने संस्थागत आधार बन्न सकेन । जोखिम आज पनि उस्तै छ । संसारभर सामुदायिक बैंकका रूपमा विकास भएको बचत तथा ऋण सहकारी नेपालमा शंकाको घेरामा उभिन बाध्य भयो । राज्य वा निजी क्षेत्रको विकल्प नभई परिपूरकका रूपमा विकास गर्नुपर्ने सहकारीलाई सरकारले सही नीति दिन सकेन । जुन गतिमा संस्थागत विकास हुनु पर्ने हो, त्यो हुन सकेन । वित्तीय क्षेत्रको सेवा प्रवाहको अपेक्षित संस्थागत विकास हुन नसक्दा सहकारीहरू कमजोर भएको भान हुन गयो । जुन विषय आज पनि सरोकारवालाहरूको प्राथमिकतामा परेको छैन ।
रुढिवादी नियामक
नेपालले बचत तथा ऋण सहकारीहरूको नियामकीय सोच खुल्ला र सहकारी मैत्री कहिल्यै पाउन सकिएन । वित्तीय सहकारीहरूको हकमा त परम्परागत बैंकिङका विद्धानहरूको बासी ज्ञानको विरासतको शिकार बन्न बाध्य भयो । प्रजातन्त्रपछिको खुल्ला समाजमा पनि सहकारीको व्यावसायिक संकुचनको वकालत र संरक्षण नियामकको जिम्मेवारी भयो । जनताका लागि जनताबाट विकास गरिएको र योगदान भएको सहकारी संस्था सामुहिक सोचमा चलेको कतिपयलाई पनि राम्रो लागेन ।
वित्तीय क्षेत्रको नियामक केन्द्रीय बैंक सहकारीको संरक्षक बन्न कहिल्यै सकेन । जहिले पनि सहकारीलाई सौतेनी व्यवहारको प्रवर्द्धन गरेर बौद्धिक विलासितामा समय बितायो । राज्यको जिम्मेवार निकायले दशकौंसम्म नियमन गर्न नसकिने तर्क गर्दै कानून नभएको बहानामा समय बितायो । वित्तीय सहकारीलाई क्षमताका आधारमा विकास गर्न नदिएर सधैँ नियामकीय दोधारमा राखियो ।
स्वनियमनलाई भाषणको विषय बनाइए पनि नियामकबाट कहिल्यै स्वीकार गरिएन । स्वनियमनका आधारमा गरिएको विकासलाई सहकारी सिद्धान्तभन्दा बाहिरको व्यवहारका रूपमा परिभाषित गरियो । सहकारीको व्यवसायिक ढाँचाको आन्तरिकीकरण हुन सकेन । सहकारीको स्वयत्ततालाई उपहासको विषय बनाइयो ।
नियामकको मुखबाटमा कुनै पनि दिन सहकारीको राम्रो कुरा सुन्न पाइएन । नियमनको क्षेत्रमा व्यक्तिगतरूपमा भएका प्रयासहरूले संस्थागत स्वरूप पाउन सकेन । वित्तीय क्षेत्रको नेपाल सरकारको सल्लाहकार अनवरतरूपमा सहकारीप्रति अनुदार रहिरहनाले नाफामूलक ढाँचाहरूको संरक्षण र गैरनाफामूलक ढाँचाहरूले तिरस्कारको व्यवहारको सामना गर्नु परेको इतिहास बन्यो । विश्वभरका सहकारीका असल अभ्यास आन्तरिकीकरण हुन सकेन र बचत तथा ऋण सहकारी अभियान आजको अवस्थामा आयो ।
आज एउटा बचत तथा ऋणको प्रारम्भिक सहकारीले तिरेको करभन्दा कम स्रोत सहकारी मन्त्रालयमा विनियोजन भएको अवस्था छ । करको दर निरन्तर बढेको छ । सहकारी ऐनमा नै लेखेको करको दर कार्यान्वयन गर्न पनि सरकार तयार छैन । सरकारले सहकारीलाई निजी वा गैरसरकारी संस्थालाई हेर्ने आँखाबाट हेरेर व्यवस्थापन गर्न खोजेको छ, जुन सोच नै रुढीग्रस्त एवं परम्परागत छ ।
कानूनको भण्डार छ तर कार्यान्वयन शून्य प्राय: छ । नियामकको संख्या असंख्य नै भन्दा हुन्छ तर प्रभावकारिता शंकाको घेरामा छ । समयमा नै सोचिएन भने सहकारी क्षेत्रको संरक्षण कठिन बन्न सक्छ । त्यसैले आजको पहिलो आवश्यकता भनेको रूपान्तरणकारी नियामक नै हो ।
सरकारविना सहकारीले एक्लै विकास गर्न सक्दैन । यसका लागि अभियान मैत्री सरकार आजको आवश्यकता हो ।
स्वच्छन्द अभियान
सहकारी सिद्धान्त, मूल्य, मान्यता र आर्दश बचत ऋणका सबै अभियानकर्मीहरूले आत्मसाथ गर्न सकेनन् । वित्तीय क्षेत्रमा आउन सक्ने जोखिमलाई नजरअन्दाज गरेर नाफाकेन्द्रित व्यवहार यस अभियानमा देखियो । सञ्चालनमा स्वनियमन कमजोर भयो । आपसमा मिलेर संघमार्फतको नियमन पनि हुन सकेन । स्वनियमनलाई स्वच्छन्दताका रूपमा बुझियो र व्यवहार गरियो । व्यक्ति वा समूहलाई मनमा लागेको निर्णय गर्ने विषयमा स्वनियमन हुन पुग्नु दुर्भाग्यपूर्ण रह्यो ।
बचत तथा ऋण सहकारी अभियानको आकार बढ्दै जाँदा जोखिम बढ्यो । सदस्यहरूको नियन्त्रण कमजोर हुन पुग्यो । नियामक निकाय मूकदर्शक भएर बस्यो वा गरेको अनुगमनले पनि स्वच्छन्दता बढायो । सहकारीमा सबै विषयमा स्वनियमन प्रभावकारिताको विषय भए पनि तालिम शिक्षामा मात्र कार्यान्वयन भयो र औपचारिक वा अनौपचारिक क्षेत्रका कमजोरीहरूलाई अवसरका रूपमा उपयोग गरियो । नियन्त्रण हुन सकेन ।
साधारण सभा प्रभावकारी हुन सकेन । साधारण सभालाई सदस्यको सभाभन्दा नियामकको औपचारिकताका रूपमा विकास गरियो । लेखा सुपरीवेक्षण समिति आन्तरिक लेखा परीक्षणमा भन्दा पनि भागबण्डामा आधारित हुन पुग्यो । बचत तथा ऋण सहकारीको सम्बन्धमा ऐनमा कल्पना गरिएको संरचना नै प्रभावकारी नभई स्वनियमनका नाममा स्वच्छन्द हुन पुग्यो ।
अभियानमा भएको स्रोतमा पनि केन्द्रीकृत परिचालनले जोखिम हुनाले बजारमा समस्या आऊँदा संस्थाहरू कमजोर भए । त्यसको असर सदस्यहरूको बचत जोखिममा पर्न गयो र अभियानको छवि धुमिल हुन गयो । सहकारीमा कार्यान्वयन हुनुपर्ने स्तरीय स्वनियमन र कानून परिपालनामा हामी जिम्मेवार बन्नै पर्छ । सहकारीहरू जनताका स्रोत परिचालन गर्ने संस्था भएकाले यसमा वित्तीय अनुशासन कडा हुन आवश्यक छ ।
अभियानको सक्षमता
सहकारी क्षेत्रले वास्तविक तथ्याङ्क बनाउन र पाउन सकिने छ । यसको जिम्मा कसैले लिएन । राज्य संघीय संरचनामा जानुअघिका डाटाहरूका आधारमा काम गर्नु परिरहेको छ । आज बचत तथा ऋण सहकारी अभियानमा देशको कुल बचतको २० प्रतिशतको हाराहारीमा बचत पुगेको अनुमान छ ।
खण्डीकृत डाटाहरूलाई समष्टिगतरूपमा हेर्दा बचत तथा ऋण सहकारी अभियानमा ६० लाखको हाराहारीमा सदस्यहरू आवद्ध भएको पाइन्छ । अभियानको कुल जगेडाको कोष मात्र हेर्दा पनि दुईवटा वाणिज्य बैंकलाई आवश्यक पर्ने पुँजीभन्दा अधीक रहेको छ ।
सदस्य र पुँजीमा बचत तथा ऋण सहकारी क्षेत्र सुदृढ बन्दै गएकोमा शंका छैन । बचत तथा ऋण सहकारीहरूको संस्थागत विकास र सहकारी मैत्री व्यावसायिक वातावरण विकासमार्फत सदस्यहरूको बचतको सुरक्षा नै आजको प्राथमिकता हो । सबै स्थानीय तहमा सहकारी पुगेको अवस्था छ । पहुँचका आधारमा पनि सहकारी अरु संस्थाहरू भन्दा सक्षम छ ।
आज सहकारी क्षेत्रले विश्वासिलो प्रविधिमा आधारित वित्तीय सेवाप्रवाहको ढाँचा विकास गर्न नसकेको र नियामकले सहयोग गरेर विकास हुन दिने वातावरण पनि नभएको अवस्थामा भावी दिनहरूमा सदस्यहरूको निरन्तरता, वित्तीय कारोवारको निन्तरता र प्रविधिमा आधारित सेवा प्रवाहको क्षमता विकास आजको चुनौतीका रूपमा रहे पनि स्थापना कालदेखि आजसम्म बचत तथा ऋण सहकारीहरू समुदायमा आधारित जनताका वित्तीय संस्थाका रूपमा विकास भएको पाइन्छ । आज बचत तथा ऋण सहकारीहरू व्यवसायिक निरन्तरता दिन प्रविधिको आन्तरिकीकरण गर्न वा वित्तीय बजारका चुनौतीहरू सामना गर्ने सक्षमता राख्छन् ।
सुदृढ अभियान
बचत तथा ऋण सहकारीहरूको सुदृढीकरण भएको कानूनको पूर्ण परिपालना र जति सक्दो छिटो बचत तथा ऋण सहकारी ऐनको विकासबाट मात्र सम्भव छ । आजको समस्या भनेको भएको ऐन पनि विधायिकी मनसाय अनुसार कार्यान्वयन हुन नसक्नु नै हो ।
सहकारी ऐनका सबै दफाहरू ऐनको भावनाअनुसार नै कार्यान्वयन हुन आवश्यक छ । सहकारी ऐन २०७४ बमोजिम कार्यान्वयन शुरु गरेका अवयवहरूले पनि सहकारी मैत्री व्यवहार र आचरण देखाउन आवश्यक छ ।
नियामक निकायहरूको जन्म बचत तथा ऋण सहकारीहरूको विकास भएको कारण भएको हो, न कि नियामकहरू भएका कारण बचत तथा ऋण सहकारीको विकास भएको । बचत तथा ऋण सहकारी अभियान आफ्ना सदस्यहरूप्रति जिम्मेवार बन्नै पर्छ । कानून परिपालन गर्नै पर्छ र नयाँ–नयाँ व्यवसायिक सोचहरूको विकास र कार्यान्वयन गर्नैपर्छ । सरकारी निकायहरूले पनि सहकारी मैत्री कार्यान्वयन ढाँचा विकास गर्न र बचत तथा ऋण सहकारी विकासमा योगदान गर्ने सबै सरोकारवालाहरूको भावना समेटेर अघि बढ्न आवश्यक छ ।
सहकारी ऐनले नयाँ विकास गरेका अवयवहरूले अभियानको संस्थाहरूलाई प्रतिस्पर्धीका रूपमा व्यवहार गर्न आवश्यक छैन । अभियान सरकारको प्रतिस्पर्धी होइन, परिपूरक हो र यो निरन्तर रहिरहने छ ।
आजसम्म यस अभियानले गरेको योगदानको अवमूल्यन गरेर नियमन वा कारवाहीले मात्र सदस्यहरूको बचत सुरक्षित हुन सक्दैन । बचत तथा ऋण ऋण सहकारी अभियानको विकासमा सरकारको भन्दा जनताको योगदान बढी छ ।
नवगठित संस्थाहरूको ध्यान सहकारी संरक्षणमा जान आवश्यक छ । अभियान सहयोग गर्न तयार छ । यसका लागि अभियानलाई राज्यले पनि सही पहिचान दिन आवश्यक छ । साँघुरो घेराबाट सहकारीको वृहत लक्ष्य पूरा हुन सक्दैन र बचत तथा ऋण सहकारीहरू नरहने हो भने नियामक पनि रहंदैन । नियामक र अभियानको लक्ष्य सक्षम र सुरक्षित बचत तथा ऋण सहकारी अभियान हुन आवश्यक छ ।
बचत तथा ऋण सहकारी अभियान बचाउने अवको बाटो भनेको सहकारी सिद्धान्त र वित्तीय अनुशासन स्वनियमनमार्फत कार्यान्वयन नै हो । आजको स्तरसम्म विकास भएको बचत तथा ऋण सहकारी अभियान अझ सुदृढ बनाउन अभियान एक ठाउँमा आउन आवश्यक छ । यसका लागि अभियानको पहिचान र जिम्मेवारी तोकिनु पर्दछ ।
-लेखक ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष हुन् ।
प्रतिक्रिया 4