७ पुस, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–४ स्थित सिंगो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ ।
उनीहरू वर्षौंदेखि लालपुर्जाविहीन छन् । चार पुस्तादेखि बस्दै आएपनि लालपुर्जा नभएको स्थानीय ५५ वर्षीय सेवक सदाले बताए । उनका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै परिवारसँग आफ्नो जग्गाको लालपुर्जा छैन ।
सोही बस्तीमा पाँचौं पुस्ता बसोबास गर्दै आइरहेको बताउने २२ वर्षीय शोभेन्द्र सदाका अनुसार यस बस्तीमा वृद्धवृद्धा, वयस्क महिला, पुरुष तथा बालबालिका सबै गरेर ३७० जनसङ्ख्या रहेको छ ।
बस्तीकै ५० वर्षीय शङ्कर सदाले आफूहरूले हालसम्म लालपुर्जा प्राप्त नगरेको र यसले के काम गर्छ भनेर समेत थाहा नभएको बताए ।
अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरूको आफू बस्ने घरबाहेक अरू जग्गा जमिन नरहेको र भएका जग्गाको समेत लालपुर्जा नभएको वडाध्यक्ष अब्दुल गफार राइनले बताए ।
उनकाअनुसार त्यस बस्तीमा कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर जग्गा छ । तर अब चाँडै उनीहरूलाई लालपुर्जा वितरणको पहल गर्ने उनले बताए ।
एक वर्षअघि मात्रै खटिआएको नापी टोलीले आफ्नै अगुवाइमा बस्तीको जग्गा नापजाँच गरेर गइसकेको र चाँडै आवश्यक प्रक्रिया पूरा गरी लालपुर्र्जा वितरण गरिने वडाध्यक्ष राइनले बताए ।
प्रतिक्रिया 4