+
+
Shares

पूर्णबहादुर कमजोर हुँदा देउवा फेरि बलिया

असोज २८ मा पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेर अर्को साता सिंगापुर उडेका देउवा फेरि पार्टी गतिविधिमा सक्रिय बन्न थालेका छन् । एमाले अध्यक्ष ओलीको धाप, अनि कार्यवाहक सभापति खड्काले सहयोगमा उनी कार्यकारी भूमिकामा क्रियाशील हुन थालेको देखिन्छ ।

सन्त गाहा मगर लिलु डुम्रे सन्त गाहा मगर, लिलु डुम्रे
२०८२ पुष ९ गते २१:४२

९ पुस, काठमाडौं । थुप्रै भित्री/बाहिरी तयारीपछि २८ असोजमा शेरबहादुर देउवाले कांग्रेस सभापतिको कार्यकारी भूमिका त्याग्ने स्पष्ट निर्णय दिएका थिए । अढाइ महिना पुगनपुग हुँदा उनले आफ्नो पूर्व निर्णय बदल्ने छनक दिएका छन् ।

र, देउवाको पुनरागमनका लागि बाटो सहज गरिदिएका छन् पूर्णबहादुर खड्काले । कार्यवाहक सभापतिको भूमिकामा यसबीच रहेका उपसभापति खड्कालाई ‘दृश्यमान दुस्मन’ अर्थात् भिजिबल एनिमी देख्न छाडिदिएका थिए गगन थापा र विश्वप्रकाश शर्माले ।

पूर्णबहादुर खड्काले डेढ महिनासम्म पार्टीको बैठक धकेल्दा पनि थापा र शर्माले त्यसलाई महाधिवेशन टार्ने खेल भनी बुझ्न सकेका थिएनन् । खड्काले देउवालाई फर्किनका लागि  जग बनाएका हुन् भन्ने बुझाइ कम्तीमा उनीहरुको थिएन । यति बेला भने खड्का मज्जैसँग देउवालाई फर्किने आधारभूमि बनाइरहेका छन्, र पार्टीभित्र परिवर्तनको आवाज मत्थर गराउन उनी पात्र बन्न पुगेका छन् ।

विगतको संसदमा आफ्नो दलपछिको दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी ओलीको ‘उत्प्रेरणा’ अनि पार्टीभित्रको निकट समूहको ग्रीन सिग्नल पछ्याउँदै देउवाले फेरि सक्रियताको चाहना गरेका हुन् ।

मंगलबार शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीसँगको बैठकमा उनी स्वयंको सहभागिताले धेरैथोक भन्छ ।

देउवाले कार्यकाल थोरै बाँकी छँदाछँदै पनि जेनजी विद्रोहमार्फत् युवाहरुले देखाएको नेतृत्व परिवर्तनको आह्वानलाई सम्मान गर्ने संकेतस्वरुप कार्यबाहक तोकेका थिए । अहिले उनको पुनरागमन तयारीबाट सबैभन्दा विस्मित छन् उनै महामन्त्रीद्वय थापा र शर्मा ।

महामन्त्रीद्वय विस्मित नहुन् पनि किन ! असोज २८ गतेको केन्द्रीय समितिको बैठकमा १३ पृष्ठको मन्तव्य दिएका देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई सुम्पिएका थिए । त्यतिबेला लिखित धारणा राख्दै उनले आफूले पार्टी र सरकारको नेतृत्व गरेका बेलाका महत्त्वपूर्ण उपलब्धीको चर्चा गरेका थिए ।

त्यही भएर हुनसक्छ,  धेरैले त्यसलाई देउवाको बिदाइ मन्तव्यको रुपमा व्याख्या गरेका थिए । तर पछिल्लो केही हप्ताको गतिविधिले देखाउँछ, उनी ‘सक्रिय राजनीति’ मै छन् ।

‘जसरी घरमा सधैं एकै जना मुली रहँदैन, त्यसरी नै पार्टीमा हमेसा एकै जना सभापति रहँदैन’ भन्दै उपसभापतिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका देउवाको पुन: सक्रियताको राज के हो त ? कांग्रेस नेताहरूका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ पाएपछि देउवाको सक्रिय हुने मोह जागेको हो । एक सहमहामन्त्री भन्छन्, ‘सक्रियता मात्र होइन, ओलीजीकै एजेण्डामा समर्थन जनाउँदै जानु भएको देखिन्छ ।’

दुई महामन्त्री लगायत पार्टीका थुपैै्र नेताहरुलाई चक्मा दिँदै देउवाले पुनरागमनको संकेत गर्दा कांग्रेसभित्र विशेष महाधिवेशनको औचित्यबारे फेरि बहस सुरु भएको छ । महामन्त्रीहरुले सभापतिको प्रतिबद्धतालाई बढ्ता विश्वास गर्दा मूल्य चुकाउनुपरेको भन्दै आलोचनासमेत चल्न थालेको छ ।

जेनजी विद्रोहसँगै पार्टीभित्र पुनर्गठन र नेतृत्व परिवर्तनको मागलाई थप चर्काइरहेका थापा र शर्माले आफूहरुमाथि धोका भएको अनुभूति गरेका छन् ।

‘२८ असोजमा देउवाले आफ्नो कुरा जसरी राख्नुभयो, अनि त्यसअघिका औपचारिक, अनौपचारिक बैठकमा जसरी उहाँ कन्भिन्स हुनुभएको थियो, मैले उहाँका कुरालाई त्यसरी नै लिएँ,’ थापाले अनलाइनखबरसँग भने, ‘आज त्यसबेलाको मेरो बुझाइ गलत भएकोमा म पुगेँ, किनकि देउवा आफ्नो निर्णयमा अडिनुभएन ।’

देउवाले २८ असोजमा सिंगापुर उपचारमा जानुअघि केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने क्रममा के भनेका थिए, एकपल्ट सम्झौं ।

देउवाले लिखित मन्तव्यमा भनेका थिए : ‘नेपाली कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वसनीयता पुर्नपुष्टि गर्नुपर्नेछ । विद्यमान अवस्थामा मुख्य रुपमा हामीले आफ्नै पार्टीका विषयमा र राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा उचित मार्गदर्शन गर्नुपर्ने छ ।

मैले अनेक आरोह र अवरोह व्यहोरेको छु । देशमा संकत उत्पन्न हुँदा सदैव देश र जनताको पक्षमा दृढतापूर्वक उभिएको छु ।

राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्दति गम्भीर संकेटमा परेको यस घडीमा पार्टीभित्र एकता कायम राख्नु परेको छ । यसलाई ध्यानमा राखी हाम्रो पार्टीको विधान अनुसार तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ ।’

कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका देउवादम्पत्ती १८ दिनपछि स्वदेश फर्केका थिए ।

कांग्रेस र एमाले दुवैतर्फका स्रोतले बताएअनुसार सिंगापुरमा देउवा छँदा काठमाडौंबाट ओलीले उनलाई तारन्तार फोन गरेका थिए । जेनजी विद्रोहसँगै सत्ताच्युत ओलीलाई त्यस बेला पार्टी नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने दबाब उठिरहेको थियो । उनले देउवासमेतको आडमा आफूलाई सान्दर्भिक देखाउन खोजिरहेका थिए ।

ओलीले झन्डै तीन चौथाई मत पाएर एघारौं महाधिवेशनमा अध्यक्ष पद जिते ।

त्यसअघि देउवालाई भेट्न ओली १९ मंसिरमा पत्नी राधिका शाक्य लिएर महाराजगन्ज पुगेका थिए । उक्त भेटमा देउवा पत्नी आरजु पनि सँगै थिइन् ।

दोस्रोपटक भेट्न ७ पुसमा महासचिव शंकर पोखरेल लिएर देउवा निवास महाराजगञ्ज पुगे । देउवा–ओली पहिलो भेट लगत्तै कांग्रेसका आठ सांसदले वारेस मार्फत संसद पुनर्स्थापनाको रिट दायर गरे । दोस्रो भेटपछि पुरक रिटका लागि देउवाले पूर्व सचेतक श्याम घिमिरेलाई ताकेता गरे ।

कांग्रेस–एमालेबाट बहुमत संख्या पुर्‍याएर पुरक रिट दायर भइसकेको छ । बहुमत संख्या पुगेपछि देउवा दम्पत्तिले पनि हस्ताक्षर गरेनन् । पुनर्स्थापनाको पक्षमा महामन्त्री गगन थापा पक्षधर पूर्व सांसदहरुले हस्ताक्षर गर्न अस्वीकार गरे ।

जबकी कांग्रेस संसद पुनर्स्थापनाको पक्षमा जाने औपचारिक निर्णय गरेको छैन । निर्वाचमा जाने निर्णय गरेको कांग्रेसलाई एमालेको पछि लागेर संसद पुनर्स्थापनाका लागि जोड गर्न थालेको छ ।

निर्वाचनमा जाने पार्टीको निर्णयमा भनिएको छ, ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ ।’

असोज ३ मै कार्यसम्पादनको बैठक बसेर संसद पुनर्बहालीको पक्षमा नजाने औपचारिक निर्णय कांग्रेसले गरेको थियो । त्यसबेला देउवा उपचारका क्रममा अस्पताल थिए । संसद ब्युँताउने कार्यमा कांग्रेस नलाग्ने स्पष्ट पारिएको त्यसबेलाको निर्णयमा भनिएको छ,‘अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभई संवैधानिक पनि भएको र सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकोले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली कांग्रेस विश्वास गर्दछ ।’

तर यति बेला चुनावको बारेमा पर्याप्त संशय उठाउँदै ओलीले औपचारिक अनौपचारिक सभा, भेला र बैठकहरुमा प्रश्न गरिरहेका छन् । अहिलेको सरकार असंवैधानिक भएको भन्दै यसले गर्ने चुनावको वैधता नहुने ओलीको जिकिर छ । उनले कांग्रेससमेतले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने बताइरहेका छन् ।

कांग्रेस नेताहरुका अनुसार देउवा–ओली भेट बाक्लिनुमा अलि परसम्म दुई दलले सहकार्य गर्ने उद्धेश्यले छ । देउवा–ओली निरन्तरको भेटले एमालेलाई संसद पुनर्स्थापनाको मागमा बल पुगेको छ । राष्ट्रिय सभामा तालमेल हुने संशय छ ।

एमालेसँग सहकार्य गरेर नागरिकले नरुचाएको र भावी दिनमा मिलेर जान सकिन्न् भनेर नेताहरुले भनिरहँदा देउवा भने निरन्तर ओलीसँग संवादमा छन् । कांग्रेसका कार्यसम्पादन समितिका एक सदस्यले दुई जनाको भेटको विश्लेषण गर्दै भने,‘संसद पुनर्स्थापना, हुँदै राष्ट्रिय सभाको चुनावमा तालमेलको वातारण बनाउँदै छन् । भविष्यमा आन्दोलन गर्नुपर्ने भए सहकार्य गर्ने गरी मिलेर जाने निर्णय लिन्छन् । आउने चुनावमा एमालेसँग गठबन्धन गर्ने अवस्थामा पुर्‍याउन भन्ने चिन्ता छ ।’

ओलीको पछिपछि देउवा

कांग्रेस महामन्त्री थापाले बुधबार पूर्णबहादुर खड्कालाई नाममात्रको कार्यवाहक भन्दै सबै शक्ति यति बेला देउवामै रहेको बताए । उनले खड्का कमजोर बनेकैले गर्दा देउवालाई खेल्ने आधार बनेको, त्यसले पार्टीको समग्र साख र सामर्थ्यलाई नकारात्मक प्रभाव पार्ने भन्दै चिन्ता जाहेर गरे ।

कांग्रेस केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकपछि थापाले भने, ‘सभापतिले कार्यवाहक दिनु भएको छ, नाम मात्रको कार्यवाहक दिनु भयो । आजको बैठकमा आउनु भएको छैन तर सबै शक्ति उतै छ ।’

माथि नै भनिसकियो, मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित शीर्ष नेताहरूको बैठकमा कार्यवाहक सभापति खड्कालाई नपठाउनुले पनि थापाले भने जस्तै शक्ति देउवामै रहेको देखाउँछ । राष्ट्रपति, प्रधानमन्त्री सुशीला कार्की, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी बैठकमा देउवा आफै उपस्थित भए ।

देउवाले शीतल निवासमा देश अब चुनावतिर जानुपर्ने, तर त्यसपूर्व सुरक्षा ग्यारेन्टी हुनुपर्ने, ढिलाई गरिए संसद पुनर्स्थापनको माग सान्दर्भिक बन्न सक्ने विचार राखेको बुझिएको छ । उनको यो विचारलाई एमालेको पक्षमा उनको समर्थन भनी अर्थ्याउनेहरु पनि छन् ।

निर्वाचनबारे यति स्पष्ट निर्णय लिइसकेको कांग्रेसले एमालेको निर्णय पछ्याउँदै संसद् पुनर्स्थापनामा गएको देखिन्छ । एमाले नेता खिमलाल भट्टराई आफ्नो पार्टीले सही निर्णय लिएकाले त्यसमा अन्य पार्टीले समर्थन जनाउनुलाई अन्यथा लिन नहुने बताउँछन् । उनी भन्छन्, ‘शुरूमा हामी मात्र भए पनि अहिले बहुमत सांसद्हरू पुनर्स्थापनाको पक्षमा देखिनु भएको छ, एमालेको अडानकै कारणले कांग्रेस अगाडि बढेको हो ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने ओलीको एजेण्डामा देउवा हिंड्यो भन्नु गलत हुने बताउँछन् । सरकार निर्वाचनप्रति गम्भिर र एकाग्र हुन नसकाले आफूहरू संसद् पुनर्स्थापनालाई पनि विकल्पको रुपमा अघि सारेको उनको भनाइ छ ।

‘संसद् विघटनलाई हामीले शुरुदेखि नै असंवैधानिक भन्दै आएका हौं । सरकारले निर्वाचन गर्न सकेन वा आलटाल गर्दै गयो भने के गर्ने भनेर पुनर्स्थापनालाई पनि विकल्पको रुपमा राखेका हौं’ महत भन्छन्, ‘अहिले पनि हाम्रो प्राथमिकता निर्वाचन नै हो ।’

महत लगायत नेताहरुको विचारलाई देउवाकै विचार भनी बुझ्नेहरु पार्टीभित्र छन् । देउवा स्वयं मुखर भएर बोल्ने गर्दैनन् । उनका विचार निश्चित नेताहरुले पुनरावृत्ति गर्ने प्रचलन पार्टीभित्र स्थापित छ ।

‘अब त देउवाजीलाई बैठकमा समेत आइराख्नु नपर्ने भयो, कोठामा बसेर निर्णय गर्नुहुन्छ, कार्यबाहक सभापतिले कार्यान्वयन गर्नुहुन्छ,’ कांग्रेसका एक उच्च नेताले भने, ‘तर हामी अहिलेको स्थितिलाई यत्तिकै हुन दिँदैनौं, पार्टीभित्र परिवर्तनको आवाज कमजोर हुन दिँदैनौं ।’

लेखक
सन्त गाहा मगर

लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?