१२ पुस, काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिएको जानकारी गराएका छन् ।
उनका अनुसार, अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएका छन् ।
सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्नसक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको पनि आयोगले जानकारी गराएको छ ।
२०७९ को तुलनामा २०८२ मा कूल मतदाताको संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ । ०७९ मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए ।
त्यस्तै, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया 4