१४ पुस, काठमाडौं । उज्यालो पार्टी नेपालले विभिन्न पक्षसँग एकताको संवाद भइरहेको भए पनि आफूहरूले निर्वाचनका आवश्यक तयारी पनि सँगसँगै अघि बढाएको बताएको छ ।
निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका सो पार्टीका नेता प्रविण तामाङले अस्तित्वसहित आफ्नो पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गरे ।
‘हाम्रो आफ्नो अस्तित्वसहितको हाम्रो पार्टी हो । हाम्रो पार्टीको आफ्नै खालको तयारी छ । देशैभरी आफ्नो संगठन विस्तार भइसकेको छ,’ उनले आयोग परिसरमा सञ्चारकर्मीसँग भने, ‘देशैभर हाम्रो निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवारी तयार भइसकेको छ । आफ्नो तयारीलाई यहाँ पेश गर्ने हो ।’
लगत्तै उनलाई ‘एक्लै लड्छ चुनाव अब यो पार्टी ?’ भनेर सञ्चारकर्मीले सोधेका थिए ।
‘भोलि के हुन्छ थाहा छैन । तर एक्लैको तयारी हो,’ तामाङले भने ।
साथै, उनले सहमति र छलफलको कुरा प्रक्रियामा रहेको बताउँदै देशको हितका लागि अघि बढेका शक्तिसँग संवाद भइरहेको बताए ।
‘सहमति र छलफलको कुरा आफ्नो प्रक्रियामा छ । अहिले पनि उज्यालो पार्टी नेपाल देश बनाउनका लागि मिलेर जान तयार छ । तर आफ्नो तयारी हामीले अघि बढाएका छौं,’ उनले भने, ‘देशमा भएका मुलुकमा परिवर्तन चाहनेसँग सबैसँग हाम्रो तयारी छ ।’
प्रतिक्रिया 4