१५ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशी रास्वपा बनेका छन् । उनी कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टी हुँदै रास्वपा बनेका हुन् ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच सोमबार बेलुका एकता घोषणा गरिएको थियो । उज्यालो नेपाल पार्टीबाट एकता वार्ताको वातावरण निर्माणमा जोशीले पहल गरेका थिए ।
डडेलधुरा घर भएका जोशी अब प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन् । ‘म समानुपातिकको बन्द सूचीमा छैन, यदि पार्टीले टिकट दियो भने प्रत्यक्ष चुनाव लड्छु,’ जोशीले भने ।
लामो समय डडेलधुरामा एमालेको नेतृत्व गरेका जोशी एकीकृत समाजवादी, उज्यालो नेपाल पार्टी हुँदै रास्वपा बनेका हुन् । उनले पुराना राजनीतिक शक्तिबाट जनअपेक्षा अनुसारको विकास सम्भव नहुने देखेर वैकल्पिक शक्ति रोजेको बताए ।
‘अग्रगामी नीति, कार्यक्रम अनि सुशासनको आवश्यकता छ, तर त्यसतर्फ पुराना पार्टीलाई ड्राइभ गरेर लैजान सम्भव देखिएन,’ जोशीले अनलाइनखबरसँग भने, ‘अब नयाँबाट मात्र त्यो काम सम्भव हुन्छ भन्ने मेरो क्षेत्रका जनताको सुझाव अनुसार नयाँ वैकल्पिक शक्तितिर लागेँ ।’
जोशी रास्वपाका एकमात्रै प्रदेश सांसद हुन् । रास्वपाभित्र प्रदेश स्वीकार गर्ने या नगर्ने बहसको टुंगो लागिसकेको छैन ।
प्रतिक्रिया 4