+
+
Shares

चुनावमा कांग्रेस-एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

थापाले थपे, ‘तर, त्यो उनीहरूले गर्दछन् भन्ने मानेर हामी दुई वटा शक्तिहरूले यो लडाईंमा लोकतन्त्रवादीहरूलाई जिताउन र प्रतिगमनकारीहरुलाई परास्त गर्न मोर्चाबन्दी गर्न जरूरी छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १६:०२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्ने बताएका छन्।
  • थापाले मुलुक संकटमा फसेको उल्लेख गर्दै कांग्रेस र एमालेले मोर्चाबन्दी गरेर अघि बढ्नुपर्ने तर्क गरे।
  • उनले फागुन २१ मा निर्वाचन वा संसद पुनःस्थापना गरेर लोकतन्त्र पुनःस्थापित गर्नुपर्ने बताए।

१५ पुस, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले एमाले–कांग्रेसले तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

उनले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमालेले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाइ गर्न नहुने तर्क गरे ।

‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्नसक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ’ उनले भने, ‘हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ ।’

उनले थपे, ‘अविलम्ब दुवै दलले अबको लोकतन्त्रलाई पुनर्स्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरू सुविचारित ढंगले निश्चित गर्न जरुरी छ ।’

उपाध्यक्ष थापाले संसद पुनःस्थापना गरेर वा निर्वाचनमा गएर कांग्रेस एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने तर्क गरे ।

‘नयाँ संसद पुनःस्थापना गरेर होस् वा विघटित संसद लाई पुनःस्थापना गरेर होस् । यो दुई वटा बोटाबाट हामी अगाडि बढ्नसक्छौँ ‘ उनले भने, ‘नयाँ संसदमा वामपन्थी लोकतन्त्रवादी शक्तिहरुको वर्चस्वलाई स्थापित गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्नसक्छौँ ।’

अदालतको बाटो वा सडकको बाटोबाट विघटित संसद पुनस्थापना गर्ने फागुन २१ समस्मको समय रहेको उपाध्यक्ष थापाले बताए । ‘आगामी निर्वाचनमा जो फागुन २१ मा हुन गइरहेको छ, त्यो नहुन पनि सक्छ । यदि उनीहरुले आफू अनुकूल नभए त्यो नगर्न पनि सक्छन्,’ उनले भने ।

थापाले थपे, ‘तर, त्यो उनीहरूले गर्दछन् भन्ने मानेर हामी दुई वटा शक्तिहरूले यो लडाईंमा लोकतन्त्रवादीहरूलाई जिताउन र प्रतिगमनकारीहरुलाई परास्त गर्न मोर्चाबन्दी गर्न जरूरी छ ।’

उपाध्यक्ष थापाले भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको र देश गम्भीर संकटमा फसेको जिकिर गर्दै त्यसको निदान कांग्रेस र एमालेले मिलेर मात्रै दिनसक्ने समेत तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?