News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता अनिल कपूरले सन् २००१ को फिल्म 'नायक' को अधिकार खरिद गरेर यसको सिक्वेल बनाउन चाहन्छन्।
- फिल्म 'नायक' भारतमा 'कल्ट क्लासिक' मानिन्छ र यसको विषयवस्तुमा सिक्वेलको सम्भावना छ।
- सन् २०१३ र २०१७ मा पनि 'नायक' को सिक्वेल बन्ने चर्चा चलेको थियो तर कुनै आधिकारिक घोषणा भएन।
मुम्बई । सन् २००१ मा रिलिज भएको अनिल कपूर, रानी मुखर्जी र अमरीश पुरी अभिनित बलिउड फिल्म ‘नायक’ बक्सअफिसमा सुपरहिट बन्यो । यो फिल्म अझैपनि भारतमा एक ‘कल्ट क्लासिक’ हो ।
रिलिजको २५ वर्ष पछि यसको सिक्वेल बन्न सक्ने अड्कलबाजी काटिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता कपूरले यो फिल्मको अधिकार खरिद गरेका छन् ।
बलिउड हंगामाको हालैको रिपोर्टअनुसार, ‘सनम तेरी कसम’ जस्ता हिट फिल्मका निर्माता दीपक मुकुटसँग कपूरले राइट किनेका हुन् । ‘यो फिल्म मुख्य अभिनेता अनिल कपूरको हृदयको धेरै नजिक छ, त्यसैले उनी अधिकार कायम राख्न चाहन्छन् । उनी यसको सिक्वेल पनि बनाउन चाहन्छन्’ विवरणमा भनिएको छ ।
‘उनलाई फिल्मले वर्षौंदेखि दर्शकबाट पाएको मायाको बारेमा राम्ररी थाहा छ र उनी विश्वास गर्छन् कि नायकको विषयवस्तुमा सिक्वेलको सम्भावना छ’ उल्लेख छ ।
अनिल कपूर, रानी मुखर्जी, पूजा बत्रा, अमरीश पुरी र परेश रावल अभिनीत फिल्म सन् २००१ मा हिट सावित भयो । यो फिल्म शंकरको साउथ फिल्म मधुवलन (१९९९) को हिन्दी रिमेक थियो ।
साथै, नायक शंकरले निर्देशन गरेको एक मात्र हिन्दी फिल्म पनि । उनले शिवाजी : द बोस, आई, र रोबोट २.० जस्ता ब्लकबस्टर फिल्म पनि निर्देशन गरेका छन् ।
‘नायक’ को सिक्वेल बन्ने कुरा लामो समयदेखि बलिउडमा चलिरहेको छ । सन् २०१३ मा, कपूरले नायकको सिक्वेल ‘नायक रिटर्न्स’ बनाउने रिपोर्ट आएको थियो ।
यद्यपि निर्माताले कुनै आधिकारिक घोषणा गरेनन् । सन् २०१७ मा पनि सिक्वेलको चर्चा चल्यो । त्यतिबेला किवी विजयेन्द्र प्रसादले फिल्मको पटकथा लेख्दै थिए र यसको पोस्ट-प्रोडक्सन सन् २०१७ मा नै सुरु भएको चर्चा थियो ।
प्रतिक्रिया 4