२१ पुस, काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश दिएको छ। यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कडा चेतावनी दिएका छन्। ट्रम्पले भनेका छन्, ‘यदि डेल्सी रोड्रिगेजले भेनेजुएलाका लागि अमेरिकाले उचित ठानेको काम गरिनन् भने उनको अवस्था मादुरोको भन्दा पनि बढी खराब हुन सक्छ।’
ट्रम्पले ‘द एटलान्टिक’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा यो कुरा बताएका हुन्। यसअघि ट्रम्पले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रोड्रिगेजसँग कुरा गरेको र उनी भेनेजुएलाका जनताको जीवनस्तर सुधार्न अमेरिकाको अपेक्षाअनुसार काम गर्न तयार रहेको बताएका थिए।
‘न्यूयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले रोड्रिगेजले अमेरिकाको कुरा मानिन् भने भेनेजुएलामा अमेरिकी सेना तैनाथ गर्नुपर्ने आवश्यकता नपर्ने बताएका थिए ।
रोड्रिगेजले निकोलस मादुरोलाई सत्ताबाट हटाइएकोमा आलोचना गर्दै अमेरिकालाई मादुरो फिर्ता पठाउन माग गरेकी छिन्।
ट्रम्पले आइतबार भेनेजुएला सञ्चालनका लागि एक विशेष टोली बनाइएको जानकारी दिएका छन् । यस टोलीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पीट हेगसेथ र अन्य उच्च अधिकारीहरू समावेश हुनेछन्।
यो टोलीले भेनेजुएलामा शान्ति सुरक्षा कायम राख्न, सरकारी संस्थाहरूलाई पुन: सञ्चालनमा ल्याउन, तेल, ऊर्जा र सुरक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई स्थिर बनाउन र संक्रमणकाल सम्हाल्न मद्दत गर्नेछ। ट्रम्पले यसका लागि अमेरिकाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजसँग मिलेर काम गरिरहेको पनि बताए।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई तत्काल रिहा गर्न माग गरेकी छिन्। उनले निकोलस मादुरो नै भेनेजुएलाको वैध र एक मात्र राष्ट्रपति भएको र उनलाई जबरजस्ती नियन्त्रणमा लिनु पूर्णतया गलत भएको बताइन्।
डेल्सीले यो भनाइ राष्ट्रिय रक्षा परिषद्को बैठकमा दिएकी हुन् । बैठकको सरकारी च्यानल ‘भीटीभी’ बाट प्रत्यक्ष प्रसारण गरिएको थियो। उनले मादुरो र उनकी पत्नीको गिरफ्तारीलाई ‘अपहरण’ को संज्ञा दिएकी छिन्।
अमेरिकी सैनिकहरूले ३ जनवरीको राति भेनेजुएलामा कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूलाई न्यूयोर्क ल्याइएको छ, जहाँ उनीहरूलाई हिरासतमा राखिएको छ। उनीहरूमाथि हतियार र लागुऔषध तस्करीसँग सम्बन्धित मुद्दाहरूमा कारबाही चलाइने बताइएको छ। उनलाई आज अमेरिकी अदालतमा प्रस्तुत गर्ने बताइएको छ ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4