+
+
Shares
अन्तर्वार्ता :

भेनेजुएलाकी पत्रकार ब्राजोन : नागरिकहरू मदुरो पक्राउ परेकोमा खुसी छन्

‘भेनेजुएलाका नागरिकहरू मादुरो पक्राउ परेकोमा खुसी छन्, तर उनीहरूले उत्सव मनाउन सकिरहेका छैनन् । किनभने सत्ता र दमनकारी संयन्त्रहरूमा अझै पनि चाभिस्मोहरूकै नियन्त्रण छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते २१:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका लगेको छ र अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएला कडा रूपमा चलाउने घोषणा गरेका छन्।
  • भेनेजुएलामा अहिले पनि चाभिस्मोले शासन नियन्त्रणमा राखेको छ र उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ।
  • मदुरोमाथि लागुऔषध र आतंकवादसम्बन्धी आरोप छन् र उनी अमेरिकी हिरासत केन्द्रमा छन् भने देशमा ९ सयभन्दा बढी राजनीतिक बन्दीहरू छन्।

अमेरिकी सेनाले नाटकीय रूपमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ गरेर अमेरिका लगेसँगै त्यहाँ अनिश्चितताको अवस्था देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला अब अमेरिकाले चलाउने कडा घोषणा गरेका छन् तर त्यहाँको वास्तविक शक्ति सन्तुलन भने निकै जटिल देखिन्छ । त्यहाँ अझै पनि शासन सत्तामा चाभिस्मो (चाभेजवादी) कै नियन्त्रण छ ।

वक्तव्यहरू र ब्रेकिङ न्यूजका हेडलाइनभन्दा भित्र वास्तवमै भेनेजुएलामा के भइरहेको छ भनेर बुझ्न अनलाइनखबरका जनार्दन बरालले भेनेजुएलाकी वरिष्ठ पत्रकार आना मारिया रोड्रिगेज ब्राजोनसँग कुराकानी गरेका छन् ।

ल्याटिन अमेरिकाको द्वन्द्व, राजनीति र धर्मका विषयमा लामो समयदेखि कलम चलाउँदै आएकी ब्राजोन हाल कोलम्बियाको प्रमुख दैनिक पत्रिका ‘एल टिएम्पो’ का लागि राजधानी काराकासबाट रिपोर्टिङ गर्छिन् ।

उनले यस संकटमा सर्वसाधारण भेनेजुएलीहरूको प्रतिक्रिया, देश भित्रको अवस्था र आगामी दिनमा विकसित हुन सक्ने राजनीतिक परिदृश्यबारे स्थलगत जानकारी दिएकी छिन् । प्रस्तुत छ उनीसँग गरिएको अन्तर्वार्ताको सार :

अमेरिकी आक्रमणपछि काराकास र भेनेजुएलाका अन्य प्रमुख शहरहरूको पछिल्लो अवस्थाका बारेमा हामीलाई बताइदिनुहोस् न ?

अहिले काराकासलगायत भेनेजुएलाका सडकहरू लगभग सुनसान छन् । किनभने दमनकारी संयन्त्रले जेल हाल्ने वा मार्ने डरले मानिसहरू बाहिर निस्केका छैनन् । तर, खाद्यान्न र औषधि किन्न सुपरमार्केट र फार्मेसीहरूमा मानिसहरू लामो लाइनमा बसिरहेका छन् ।

राष्ट्रपति मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि भेनेजुएलाको सरकारी संयन्त्रले कसरी प्रतिक्रिया दिएको छ । साथै, देशको सेना तथा अन्य सुरक्षा निकायहरू अहिलेको रिक्तताको बेला कसरी प्रस्तुत भइरहेका छन् ?

गृहमन्त्री डियोस्डाडो काबेलोको कमाण्डमा रहेको प्रहरी बल अहिले सडकमा तैनाथ छ । प्रहरी बलले वर्तमान शासनविरुद्धको विरोध प्रदर्शन रोक्ने मनसायका साथ नागरिकहरूको निगरानी गरिरहेको छ ।

त्यहाँको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएला ‘चलाउने’ घोषणा गरेका छन् । अहिलेको अवस्थामा भेनेजुएला कसको नियन्त्रणमा देखिन्छ ?

अहिले नि:सन्देह चाभिस्मो (ह्युगो चाभेजका अनुयायीहरूलाई चाभिस्मो भनिन्छ, जो अहिले सत्तामा छन्) हरूले नै देशमा नियन्त्रण कायम राखेका छन् । ट्रम्पको घोषणा केमा आधारित छ वा त्यसको अर्थ के हुन्छ भन्ने विषयमा हामीलाई थाहा छैन ।

राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई अमेरिकी हिरासत केन्द्रमा राखिएको छ । मदुरोविरुद्ध अमेरिकाले लगाउन लागेको लागुऔषध र हतियार सम्बन्धी आरोपहरू कत्तिको गम्भीर छन् ?

निकोलस मदुरोलाई एक तानाशाहको रूपमा हेरिन्छ । त्यसबाहेक विगतदेखि नै उनले आतंकवाद र लागुऔषध ओसारपसारको आरोप सामना गरिरहेका छन् । सन् २०२० देखि नै अमेरिकाले उनको गिरफ्तार गर्नेलाई ५ करोड डलर (करिब सवा ७ अर्ब रूपैयाँ बराबर) पुरस्कार दिने घोषणा गरेको छ ।

यहाँ स्मरण गर्नुपर्ने कुरा के हो भने मदुरोविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको छ । भेनेजुएलामा मानवताविरुद्ध अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनीमाथि छानबिन गरिहेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमका विषयमा जनताले मिश्रित प्रतिक्रिया दिइरहेको बताएका छन् । उनको गिरफ्तारीको खबरलाई लिएर त्यहाँका नागरिकहरूले खास कस्तो प्रतिक्रिया दिइरहेका छन् ?

भेनेजुएलाका नागरिकहरू मदुरो पक्राउ परेकोमा खुसी छन्, तर उनीहरूले उत्सव मनाउन सकिरहेका छैनन् । किनभने सत्ता र दमनकारी संयन्त्रहरूमा अझै पनि चाभिस्मोहरूकै नियन्त्रण छ ।

यो पनि स्मरण गर्नु महत्वपूर्ण हुन्छ कि आजका दिनसम्म भेनेजुएलामा ९ सयभन्दा बढी राजनीतिक बन्दीहरू छन्, जसलाई यातना दिने गरिन्छ, कसैलाई पनि सम्पर्क गर्न नदिएर एक हिसाबले सम्पर्कविहीन बनाइएको छ ।

तीमध्ये धेरैलाई ‘एल हेलिकोइड’मा थुनिएको छ, जुन सिरियाको सेडनायाजस्तै जेल हो, जसलाई मानव बधशालाका रूपमा चित्रित गरिन्छ । त्यसैले कोही पनि नागरिक उत्सव मनाउन सडकमा निस्कन सकेका छैनन् ।

सर्वसाधारण भेनेजुएलालीहरूले अमेरिकी हस्तक्षेपलाई कसरी व्याख्या गरिरहेका छन्— उनीहरूले यसलाई अमेरिकी कब्जा भन्छन् कि स्वतन्त्रता ? वा अन्य केहीको रूपमा यसलाई हेर्छन् ?

भेनेजुयाली नागरिकले यसलाई अमेरिकी हस्तक्षेपको रूपमा होइन, एक सफल तर अपूर्ण अपरेशनको रूपमा यसलाई हेर्छन् । किनभने चाभिस्मो अझै सत्तामा छ ।

गत वर्षको राष्ट्रपतिको चुनावमा ७० लाखभन्दा बढी मत ल्याएर राष्ट्रपतिमा जितेका एडमन्डो गोन्जालेजले ‘प्रेसिडेन्ट–इलेक्ट’का रूपमा पदभार ग्रहण गरून् भन्न भेनेजुएलालीहरू चाहन्छन् । भेनेजुयाली शासनको उत्पीडनका कारण गोन्जालेज हाल निर्वासनमा छन् ।

तपाईंको विचारमा, कुन प्रमुख घटनाले अमेरिकालाई यो सैन्य कारबाहीका लागि प्रेरित गरेको होला ?

यसका धेरै कारणहरू छन् । अमेरिकाले यसअघि नै मदुरोको गिरफ्तारीका लागि पुरस्कार घोषणा गरेको थियो । अमेरिकाले अहिले सत्तामा रहेको चाभिस्मो र विपक्षीबीच धेरैवटा वार्ता प्रक्रियामा सहभागी भएको थियो । तर, मदुरोले कहिल्यै आफ्नो वाचा पूरा गरेनन् । त्यसबाहेक, ट्रम्पको पहिलो कार्यकालमा पनि ह्वाइट हाउसले मदुरोलाई सत्ताच्युत गर्ने प्रयास गरेको थियो ।

केही भेनेजुएलालीहरू राष्ट्रपति ट्रम्पको यो कदम लोकतन्त्र बहालीका लागि नभई भेनेजुएलाको तेल स्रोतहरूको दोहनका लागि हो भन्ने विश्वास गर्छन् । यति ठूलो अमेरिकी अपरेशनको पछाडि कस्तो प्रकारको राजनीतिक वा आर्थिक स्वार्थ लुकेको हुन सक्छ ?

पक्कै पनि, भेनेजुएलाको तेलमा अमेरिकाको चासो छ । वास्तवमा सन् १९२० मा पहिलोपटक तेल उत्खनन गरेदेखि नै भेनेजुएलाको तेल उद्योगलाई सुदृढ बनाउन अमेरिकाले योगदान गरेको थियो ।

तर, अहिलको अपरेसनमा तेल नै एकमात्र उद्देश्य होइन । क्युबाले वर्षाैंदेखि भेनेजुएलाबाट सित्तैमा तेल लगिरहेको छ । अन्य क्यारिबियन टापुहरूले विना कुनै निगरानी वर्षौंदेखि भेनेजुएलाको तेल उपभोग गरिरहेका छन् । तेलमा कब्जा गर्नु मात्रै उसको उद्देश्य हो भन्नुको अर्थ यी तथ्यहरूलाई बेवास्ता गर्नु हो ।

रूस, चीन र इरानले पनि भेनेजुएलाको स्रोत र भौगोलिक अवस्थितिको फाइदा उठाइरहेका छन् । त्यसैले, यो दाबी अमेरिकाविरुद्ध चाभिस्मोहरूले खडा भाष्य (चाभिस्टा न्यारेटिभ) मात्र हो ।

यो अपरेसनपछिका कुन अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू तपाईंलाई सबैभन्दा महत्वपूर्ण लागे । र, तिनीहरूले भेनेजुएलाको अबको चरणलाई कसरी आकार देलान् ?

वास्तवमा, यस विषयमा प्रतिक्रिया दिनेहरू भेनेजुयाली शासनका सहयोगीहरू नै हुन् । जुन सधैं जस्तै निकारागुवा र क्युबा हुन् ।

खाद्यान्न आपूर्ति, स्वास्थ्य सेवा र पूर्वाधारका क्षेत्रमा यी घटनाहरूको तत्काल मानवीय प्रभाव कस्तो देखिएको छ ?

अहिले नै त्यस्तो कुनै ठूलो मानवीय प्रभाव देखिएको छैन । देश रोकिएको छैन, चलिरहेको छ । मानिसहरू भविष्यमा संकट आउनसक्ने आशंकामा पूर्वतयारीका रूपमा आवश्यक सामग्रीहरूको जोहो गर्न जुटाउन सुपरमार्केटहरूमा लाइन लागेका छन् ।

तपाईंको दृष्टिकोणमा, आगामी हप्ताहरू र दीर्घकालीन रूपमा भेनेजुएलाको राजनीतिका सम्भावित परिदृश्यहरू के–के हुन सक्छन् ?

यस विषयमा अहिले नै केही भन्नु हतार हुनेछ । धेरै किसिमका सम्भावित परिदृश्यहरू छन् । हालका लागि उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले नै देशमा शासन व्यवस्था कायम राखून् र लोकतन्त्रतर्फ व्यवस्थित रूपान्तरणको तयारी होस् भन्ने खालको प्रस्ताव अमेरिकाको रहेको देखिन्छ ।

मदुरो २८ जुलाई २०२४ को चुनावमा हारेका थिए, तर परिणाम चोरेर आफैँलाई विजयी घोषणा गरेका थिए । यो कुरा सबैलाई सबैलाई थाहा छ । शान्तिपूर्ण संक्रमण नै अहिले देशका लागि सबैभन्दा राम्रो कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?