२७ पुस, अमरगढी (डडेल्धुरा) । डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको परशुराम नगरपालिका-९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।
‘दुर्घटनामा परी दुवै जना घाइते हुनुभएको थियो, घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका छन्’, उनले भने ।
जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका प्रहरी प्रमुख सिंहले बताए ।
परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्याक्टर चालक सुरेश भट्ट फरार रहेका छन् । उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4