News Summary
Generated by OK AI. Editorially reviewed.- मिस ग्लोब २०२५ को विजेता छायानुस 'चेरैम' सरादत्त थाइल्याण्डबाट नेपाल आइपुगेकी छन्।
- उनको नेपाल भ्रमण ५ दिनको हुनेछ र काठमाडौंसहित आसपासका पर्यटकीय गन्तव्य भ्रमण गर्ने कार्यक्रम छ।
- सरादत्तले नेपालका हिमालप्रति आकर्षण रहेको बताइन् र संस्कृति, पर्यटन मन्त्रालय तथा प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम तय गरिएको छ।
काठमाडौं । आफ्नो ‘एसिया टूर २०२६’ अन्तर्गत वर्तमान मिस ग्लोबकी विजेता छायानुस “चेरैम’ सरादत्त मंगलबार थाइल्याण्डबाट नेपालमा आइपुगेकी छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर एन्ड मिस नेसनल’ का राष्ट्रिय आयोजक सन्तोष उपाध्यायसहित ‘मिस ग्लोब नेपाल’ का विजेताले स्वागत गरे ।
सरादत्तसँगै ‘मिस ग्लोब’ का अन्तर्राष्ट्रिय आयोजक फ्याकी बोजो पनि आएका छन् । उपाधि जितेपछि सरादत्तको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । नेपालपछि उनी भारत, फिलिपिन्स र भियतनाम पनि जाने कार्यक्रम छ ।
काठमाडौं विमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै सरादत्तले नेपालका हिमालप्रति आफ्नो विशेष आकर्षण रहेको बताइन् ।
उनले भनिन्, “पहिलोपटक नेपाल आएकोमा निकै खुसी लाग्यो । यहाँका पर्वतबारे धेरै सुनेकी छु । पहाड र हिमालतिर घुम्न चाहन्छु ।’

सन् २०२५ मा अल्बानियामा सम्पन्न मिस ग्लोबको फिनालेमा उनले थाइल्याण्डलाई उपाधि जिताएकी थिइन् । सरादत्त र उनको टोलीको नेपाल बसाइँ ५ दिनको हुनेछ ।
भ्रमणको क्रममा उनीहरूले काठमाडौंसहित आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन् । औपचारिक भेटघाटका कार्यक्रमसँगै विद्यार्थीसँग अन्तरक्रिया गर्ने तालिका पनि तय गरिएको छ ।
औपचारिक भेटघाटअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा सम्भव भए प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । त्यस्तै, उनी एक मेडिकल सम्मेलनमा विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछिन् ।
गतवर्ष पनि ‘मिस ग्लोब’ विजेता डायना मोरेनो नेपाल आएकी थिइन् । उनले ‘मिस नेसनल नेपाल’ को अडिसनमा निर्णायकको भूमिकासमेत निर्वाह गरेकी थिइन् ।
तस्वीर : गोपीकृष्ण चापागाईं
प्रतिक्रिया 4