+
+
Shares
सधैं सम्झनेछौं प्रशान्त तामाङ :

विश्वभरका नेपालीलाई अभूतपूर्व उत्सवमा एकसाथ नचाउने त्यो गोर्खाली छोरो

मुटुको चाल तीब्र थियो । जति–जति साँझ छिप्पिंदै जान्थ्यो, सम्भावित नतिजाको पर्खाइले मान्छेलाई बेचैन बनाइरहेको थियो ।

शिव मुखिया शिव मुखिया
२०८२ पुष ३० गते ८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रशान्त तामाङले इन्डियन आइडल ३ को उपाधि जित्दा नेपाली समुदायमा राष्ट्रियता र अपनत्वको भावना अभूतपूर्व रूपमा फैलियो।
  • प्रशान्तको सफलताले नेपाली पहिचान र राष्ट्रियताको बहसलाई नयाँ आयाम दिएको छ र विश्वभरका नेपालीलाई एकजुट बनाएको छ।

त्यस्तो कहिल्यै भएको थिएन र कहिल्यै हुने छैन, जस्तो प्रशान्त तामाङको जिन्दगीमा भइदियो । वायुमण्डल चिसिंदै गएको असोज–कात्तिकको याम थियो । धर्तीभरका नेपाली हृदयमा भने एक किसिमको न्यानोपन भरिंदै थियो, अपनत्व र स्वभिमानको।

सबैजना एकै सूर र लयमा गोलबद्ध थिए । सबैको एउटै भाका थियो र स्पन्दन पनि । यसरी भएभरका नेपालीलाई एकढिक्का बनाउने मियो थिए, प्रशान्त तामाङ ।

दार्जीलिङ पहाडका लिखुरे प्रशान्त टेलिभिजनमा, पत्रपत्रिकामा, ब्यानरमा, होर्डिङबोर्डमा, शहरका भित्ताहरूमा अनि नेपालीको मन–मनमा थिए । सबैको अन्तहृदयको एकै ध्वनि थियो, ‘प्रशान्तलाई जिताऔं ।’

पूर्वोत्तर भारतलाई इपिसेन्टर बनाएर फैलिएको उमंगको यो परकम्पन विश्वभर फैलिएको थियो ।

सिक्कमका तत्कालीन मूख्यमन्त्री पवन चाम्लिङ प्रशान्तलाई जिताउन हार्दिकतासाथ आह्वान गरिरहेका थिए । त्यस सेरोफेरोमा मान्छेहरूले आफ्नो आँगनको मारुती भ्यान बेचिरहेका थिए, गोठका भैंसी बेचिरहेका थिए । आफूसँग भएको जायजेथा बेचेर पैसाको जोहो गरिरहेका थिए, प्रशान्तलाई भोट हाल्नका लागि ।

दार्जीलिङमा यसले राजनीतिक भुइँचालो ल्याउँदै थियो । सारा नेपाली भाषीको यो उल्लासमय एकतालाई नबुझ्ने नेता सुवास घिसिङ दार्जीलिङ शहरबाट लखेटिदै थिए । उनको दशकौं पुरानो राजनीतिक विरासत धुलापिठो हुँदै थियो र त्यो भावनात्मक उथलपुथलबाट बिमल गुरुङको उदय हुँदै थियो । उनी ‘प्रशान्तको नारा’ बोकेर सडक उमाल्दै थिए ।

अपनत्वको यो मेलामा नेपाल र राजधानी शहर काठमाडौं अरू तरंगित थियो । कला-मनोरञ्जनमा कति पनि चाख नमान्नेहरूको अवयव पनि ‘प्रशान्त को हो ?’ भन्ने उत्सुकताले तंग्रिएको थियो ।

कला र मनोरञ्जनलाई ‘तेस्रो पृष्ठका समाचार ठान्ने’ मूलधारका पत्रपत्रिका प्रशान्तको नामले रंगिएका थिए । प्रथम पृष्ठका व्यानरमा प्रशान्त हुन्थे र अक्सर ठाउँ नपाउने विचार–दृष्किोण पेजमा पनि प्रशान्त नै । समाचारमा प्रशान्त, विचारमा प्रशान्त र प्रतिक्रियामा प्रशान्त । यसले वैचारिक तहमा एउटा बहस छेडेको थियो, ‘आखिर देश के हो ? राष्ट्रियता के हो ?’

भौगोलिक मानचित्रले होइन भावनाको पुञ्जले देशलाई अनन्तसम्म फैलाउने रहेछ । संगीत कलाजस्तो सौम्य शक्तिले नेपालीपनलाई विश्वमाझ चिनाउने रहेछ । अनि ‘राष्ट्रियता’ भन्ने कुराको आत्मबोध र जागरण ल्याउने रहेछ ।

प्रशान्त तामाङ केवल इन्डियन आइडल जस्तो संगीत रियलिटी शोको एक प्रतिद्वन्द्वी मात्र रहेनन् । धर्तीको फरक–फरक गोलार्द्धमा बस्ने नेपालीलाई एकढिक्का बनाउने मधुर रसायन बने । उनले विश्वभर रहेका नेपालीमाझ जसरी कीर्तिमानी तरंग ल्याइदिए, त्यो इतिहासमा बिरलै जुर्ने संयोग भइदियो ।

देश–विदेशमा, गाउँ–शहरमा युवाहरू स्वतर्स्फत एकजुट भए । स्वेच्छा र हार्दिकताले गदगद हुँदै मान्छेहरूले पैसा दिए । प्रशान्तलाई भोट हाल्न, प्रशान्तलाई जिताउन ।

प्रशान्तले इन्डियन आइडलको शीर्ष ताज जित्नु र नजित्नु फरक कुरा थियो । तर त्यसले नेपालीमाझ अपनत्व र राष्ट्रियताको जुन भावना सञ्चार गरिदियो, त्यो अभूतपूर्व थियो । इन्डियन आइडल हेरिरहेका नेपाली दर्शक त्यहीबेला हर्षले पग्लिएका थिए, जतिबेला एउटा लिखुरे युवा मञ्चमा उभिएर नेपालीमा भाषामा संवाद गरिरहेका थिए ।

उनी निश्छल मुस्कानसहित इन्डियन आइडलको मञ्चमा उक्लिएका थिए । ‘म सिपाही हुँ’ भनेपछि उनलाई निर्णयकमध्येका एक अनु मलिकले ‘लेफ्ट राइट’ गराउँदै परेड खेलाएका थिए । निर्णयककै लस्करमा बसेका उदीत नारायणले सोधेका थिए, ‘आप कहाँ से है ?’

‘दार्जीलिङ से’ प्रशान्तले उही मुस्कानसहित संक्षिप्त जवाफ दिएका थिए ।

‘दार्जीलिङतिर सबै ठिक छ त ?’

प्रशान्तले नेपालीमै जवाफ फर्काएका थिए, ‘हजुर, सबै ठिक छ ।’

त्यसपछि त हो, प्रशान्तको अपराजित यात्रा आरम्भ भएको । त्यो यात्रा उनको विजयी सुरुवात मात्र थिएन । नेपाल र नेपालीलाई चिनाउने ऐतिहासिक उत्सवको उद्घाटन थियो ।

किनभने ‘नेपाल भन्ने देश छ र ?’ भनी प्रश्न गर्नेहरूदेखि ‘यो भारतकै कुनै प्रान्त होला’ ठान्नेहरूको जमात भारतमै कति थिए कति । ढाका टोपी लगाएका, नेपाली भाषा बोल्नेहरू देख्नासाथ ‘बहादुर’ भनी भारी बोकाउन तम्सिने र ‘चौकीदार’ भनी हियाउनेको पनि कमी थिएन ।

हेपिएको, पेलिएको अनि पहिचान नै नभएको जस्तो अवस्थामा बाँचिरहेका नेपालीहरू त्यहीबेला आत्मगौरवले उफ्रिए जतिबेला भारतकै ग्ल्यामरस टेलिभिजन शोमा नेपालभाषी केटाले धमाका मच्याउन थाले ।

प्रशान्त जसरी एकपछि अर्को चरणमा प्रवेश गर्दै थिए, नेपाली भावनाहरू उसैगरी जोडिँदै गए । अनि अपनत्वको त्यो भावनाले सर्वत्र उत्सव मनाउन सुरु गर्‍यो । प्रशान्तको जित अब उनको व्यक्तिगत उपलब्धि मात्र रहेन । सारा नेपालीको राष्ट्रियताको सवाल बन्यो ।

त्यसैले जब–जब प्रशान्त मञ्चमा उभिएर गाउन थाल्थे, नेपालीको धड्कन एकै ठाउँ लयबद्ध हुन्थ्यो । उनीहरू मनमनै कामना गर्थे, ‘उसले कहिल्यै हार्न नपरोस् ।’

अन्तत: त्यो दिन पनि आयो ।

इन्डियन आइडलले नै यसलाई एक ऐतिहासिक बनाउने तयारी गरिरहेको थियो । अनपेक्षित उर्लिएको जनलहरले आयोजकलार्ई मनग्ये फाइदा दिइसकेको थियो, चर्चा र पैसा दुवैमा । हजारौं दर्शकलाई प्रत्यक्ष साक्षी राखेर एकदमै तामझामसहित उनीहरू उद्घोष गर्दै थिए, इन्डियन आइडल ३ का विजेता ।

यसको सबैभन्दा मधुर झंकार दार्जीलिङमा थियो । उमंगको ज्योतिले त्यो शहर जगमगाएको थियो । त्यहाँ नेपालको गाउँ–शहरबाट गएका शुभेच्छुकहरूको मेला लागेको थियो । भोट हाल्नका लागि सार्वजनिक ठाउँमा टेलिफोन बुथहरू राखिएका थिए । उपस्थित हरेकले पालैपालो ल्याण्डलाइनबाट प्रशान्तलाई भोट हालिरहेका थिए । पूर्वोत्तर भारतभर नि:शुल्क भोट हाल्ने प्रबन्ध मिलाइएको थियो ।

नेपालको टोल–टोलबाट पैसा जुटाएर प्रशान्तको नाम अंकित व्यानरसहित पुग्नेहरूको लस्कर सानो थिएन । यसरी दार्जीलिङ बाहिरबाट आएकाहरूलाई स्थानीयहरु सोधिहाल्थे, ‘कहाँबाट आउनु भो, खाना खानु भो ? सुत्ने ठाउँ पाउनु भो ?’

त्यसबेला दार्जीलिङ भित्रिने हरेक व्यक्तिले ससुरालीमा नपाउने आतिथ्य पाइरहेका थिए । भोको देख्नै नहुने, कुनै न कुनै रेष्टुरेन्ट, होटलमा लगेर खाना खुवाइहाल्ने । सुत्नका लागि ठाउँ खोजिदिने । सबैकुरा सित्तैमा व्यवस्था गरिएको थियो ।

तर, मदिरापानमा कडा प्रतिबन्ध लगाइएको थियो । अनि सुरक्षा व्यवस्था उस्तै चुस्त बनाइएको थियो ।

मान्छेले आ-आफ्नो आँगनमा टेलिभिजन राखिदिएका थिए । त्यहाँ इन्डियन आइडलको प्रत्यक्ष प्रसारण हेर्नेहरू अधैर्यसाथ झुम्मिएका हुन्थे । भारतका अधिकांश टेलिभिनिज च्यानल प्रत्यक्ष प्रसारणका लागि दार्जीलिङमा एकत्रित भएका थिए । चौरास्तामा ओभी भ्यानहरू तैनाथ थिए ।

प्रशान्तको जन्मथलो दार्जीलिङमा के भइरहेको छ ? टेलिभिजनका लागि यो एकदमै रोचक खुराक थियो । उनीहरू क्षण-क्षणमा दार्जीलिङको अपडेट पस्किरहेका हुन्थे । प्रशान्तको जन्मघर पनि टेलिभिजन क्यामेराले घेरिएको थियो । उनको घर कस्तो छ ? उनी कहाँ जन्मे ? कहाँ खेले ? कहाँ हुर्किए ? जन्मकुण्डली खोतल्दै थिए टेलिभिजन प्रस्तोताहरू ।

दार्जीलिङको साँझ अरूबेलाजस्तो चिसो थिएन । मान्छेलाई त्यहाँको वायुले छोएकै थिएन । किनभने उनीहरूको मनमा उमंगको राप थियो । मुटुको चाल तीब्र थियो । जति–जति साँझ छिप्पिंदै जान्थ्यो, सम्भावित नतिजाको पर्खाइले मान्छेलाई बेचैन बनाइरहेको थियो । प्रशान्तले जित्यो भने हार्दिकताले हराभरा होला । विजयोत्सव मनाउँला । तर, हार्‍यो भने ?

यी दुवै कुराले मान्छेहरूलाई स्थीर रहन दिएको थिएन । अधैर्य, छटपटी, त्रासदी एकसाथ मिसिएर आएको थियो । अब समय धेरै बाँकी थिएन ।

त्यो अभूतपूर्व सांगीतिक माहौलमा अभिनेता जोन अब्रहाम स्टेजमा उक्लिएका थिए । उनको दायाँ र बायाँ हातले एकातिर प्रशान्त तामाङ र अर्कोतिर अमित पललाई समातेका थिए । कसको हात उठ्नेछ ? यो निर्णयक क्षणमा सबैको सास रोकिएको थियो ।

अचानक चर्को धुन बज्यो, अतिसबाजी भयो । त्यो भव्य मञ्च अरु प्रदीप्त भयो । अनि अभिनेता जोन अब्रहामको त्यही हात उठ्यो, जसले प्रशान्तलाई समातेको थियो । उनले उमंगमय उद्घोष गरे, ‘इन्डियन आइडल ३ का विजेता प्रशान्त तामाङ ।’

…………

लाख होइन, करोडौं करोडले प्रत्यक्ष हेरिरहेको त्यो पलमा प्रशान्तलाई उनकी आमाले ढाका टोपी लगाइदिइन् । अनि हार्दिकताले पग्लिएर उनले गीत गाए,

‘इतिहास पल्टाइहेर

या पूर्खालाई सोध

जितेकै छौं संसारलाई

वीर वीर वीर गोर्खाली

गोर्खालीको छोरो हुँ म ….।

विश्वभरका नेपालीहरू राष्ट्रियताको भावनाले गद्‍गद् भए । उनीहरूको आँखा रसायो, अपनत्वले ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?