News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस बुधबार सभापति शेरबहादुर देउवा पक्षले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेपछि औपचारिक रूपमै विभाजित भएको छ।
- विभाजनपछि कांग्रेसको आधिकारिकता कुन समूहले पाउने भन्ने टुंगो लाग्न बाँकी छ र निर्वाचनमा दुवै पक्ष जान नसक्ने अवस्था देखिएको छ।
- अन्य दलका नेताहरूले कांग्रेसको फुटले लोकतन्त्र कमजोर हुने र निर्वाचन अनिश्चित हुने चिन्ता व्यक्त गरेका छन्।
३० पुस, काठमाडौं । नेपाली कांग्रेस बुधबार औपचारिक रूपमै विभाजित भएको छ । सभापित शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेपछि पार्टी औपचारिक रूपमै विभाजित भएको हो ।
बहुमत महाधिवेशन प्रतिनिधिको मागबमोजिम विशेष महाधिवेशन चल्दै गर्दा देउवा पक्षले केन्द्रीय समिति बैठक डाकेर दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।
बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा रहे पनि नेपाली कांग्रेसको आधिकारिकता कुन समूहले पाउँछ भन्नेबारे टुंगो लाग्न बाँकी छ ।
कांग्रेसमा विकसित घटनाक्रमलाई लिएर अन्य दलका नेताहरूले भने चिन्ता व्यक्त गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्त कांग्रेसको फुटले लोकतन्त्र कमजोर हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘अहिलेको स्थितिमा कांग्रेस फुट्दा निर्वाचन अनिश्चित हुन्छ, लोकतन्त्र संकटमा पर्छ, संविधान पनि संकटमा पर्न सक्छ ।’
निर्वाचनको मुखमा भएको फुटले निर्वाचन नै अनिश्चित गराउन सक्ने पनि उनको चिन्ता छ ।
२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मनोनयन दर्ता भइसकेको छ । यही पुस १३ र १४ गते भएको समानुपातिकको मनोनयनउपर निर्वाचन आयोगले जाँचबुझ गरेर उम्मेदवारी फिर्ताको कार्यतालिका सम्पन्न गरिसकेको छ । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको समय आगामी माघ ६ गतेका लागि तय भएको छ ।
निर्वाचनको मुखमा भएको कांग्रेसको विभाजनले कांग्रेसका दुवै पक्ष निर्वाचनमा जान नसक्ने अवस्था आउन सक्ने एमाले उपाध्यक्ष पन्तको चिन्ता छ । यस्तो अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प बलियो हुने उनको दलिल छ ।
‘दुवै पक्ष निर्वाचनमा जान सक्ने अवस्था रहँदैन । त्यो भनेको प्रतिनिधिसभा पुनर्स्थापना हो । सर्वोच्च अदालतले खुट्टा कमाउनुहुन्न,’ उनले भने ।
जेनजी आन्दोलन अगाडि कांग्रेस र एमाले संयुक्त सरकारमा थिए । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । त्यसपछि प्रतिनिधिसभाबाटै सरकार बन्ने अवस्था रहेन ।
नेपाली सेनाको समन्वय र राजनीतिक दलहरू समेतको संवादमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको सिफारिसमा २७ भदौमा प्रतिनिधिसभा विघटन भयो ।
सोही दिन अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर अर्को निर्वाचन आगामी २१ फागुनका लागि तोकेका छन् । त्यसअनुसार निर्वाचन कार्यक्रम निकै अगाडि बढिसकेको छ ।
समानुपातिकतर्फको उम्मेदवारीको मनोनयन सकिएको र प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने दिन आउन केही दिन बाँकी रहँदा कांग्रेसमा विभाजन आएकाले दुवै पक्ष निर्वाचनमा जान सक्ने अवस्था नरहने एमाले उपाध्यक्ष पन्तले बताएका हुन् ।
उनले अनलाइनखबरसँग भने, ‘कांग्रेसको महत्वपूर्ण भूमिका राष्ट्रिय राजनीति र लोकतन्त्रमा रहँदै आएको छ । त्यसैले दुवै पक्षका नेताहरुले गम्भीर भएर सोच्दै एकतालाई कायम राख्नुपर्छ र फु्ट्नु दिनु हुँदैन ।’
नेपाली कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटा कांग्रेस भित्रको घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँछन् । उनी भन्छन्, ‘त्यहाँ भित्रको घटनाक्रम नजिकबाट नियालिरहेका छौं । बहस तीव्र भएको छ । कुनै पनि पार्टी भित्र बहस हुनु राम्रो र सकारात्मक कुरा हो । तर फुटको हदसम्मको विषय आएको छ । जुटको बहस ज्यादा फलदायी हुन्थ्यो ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य दीपकराज बोहरा पनि कांग्रेसको फुटलाई राम्रो मान्दैनन् । कांग्रेस भित्रको विभाजनले लोकतन्त्रका लागि असर गर्न सक्ने उनको चिन्ता छ ।
बोहरा भन्छन्, ‘एउटा लोकतान्त्रिक पार्टी फुटको अवस्थामा पुग्नु राम्रो होइन । यो लोकतन्त्रका लागि समेत राम्रो विषय होइन । लोकतन्त्र मान्ने जोसुकैका लागि पनि राम्रो होइन ।’
कांग्रेसको फुटलाई अन्य दलहरूलाई निर्वाचनमा नाफा र घाटा के गर्छ भन्ने विषय भन्दा ज्यादा लोकतन्त्रकै रहेको उनलाई लाग्छ । ‘निर्वाचनमा हामीलाई केही सजिलो होला भन्ने अर्को पाटो हो । तर कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको फुटले राम्रो गरेन,’ उनी भन्छन्, ‘जुट्न सकिन्छ भन्ने ठाउँ अझै होला । त्यसमा छलफल होस् ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि कांग्रेसको फुटले राष्ट्रिय राजनीतिक प्रभावित हुनसक्ने चिन्ता व्यक्त गर्छन् ।
‘प्रजातन्त्रमा राजनीतिक दलहरू विभाजित हुनु यसै पनि रामो होइन । यसमा पनि कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टी विभाजित हुनु दु:खद् हो,’ उनी भन्छन्, ‘उसको फुटले राष्ट्रिय राजनीतिमा प्रभाव पार्छ । यसलाई दु:खद् घटनाको रूपमा लिएका छौं ।’
कांग्रेसको फुटकै कारणले निर्वाचन प्रभावित हुन्छ भन्न नसकिए तापनि दुई पक्षमा विभाजित कांग्रेस निर्वाचनमा सहभागी हुन सक्ने वातावरण बनाउनु चुनौतीपूर्ण हुनसक्ने अध्यक्ष लिङ्देनलाई लाग्छ । उनी भन्छन्, ‘स्वाभाविक रूपले प्रश्न उठेको छ । एउटा ठूलो हिस्सा निर्वाचनभन्दा बाहिर रहने अवस्था बन्छ कि ।’
नेपाली कांग्रेसको इतिहासमा टुट-फुटको श्रृंखला निकै लामो छ । पछिल्लो पटक २०५९ असार पहिलो साता अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए ।
तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालेसँग व्यक्तिगत टकराव बढ्दै जाँदा देउवा अलग पार्टी बनाउने अवस्थासम्म पुगेका थिए । कोइरालाले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि देउवाले पार्टी फुटाएर हिँडेका थिए । तर २०६४ असोजमा उनी पुरानै घर फर्किएका थिए ।
साढे ७ दशकमा हिँडिरहेको यो पार्टीमा बीपी कोइरालाले आफैं सभापति घोषणा, डिल्लीरमण रेग्मीले पार्टी दुई टुक्रा बनाएकोदेखि सुवर्ण शमशेरले सशस्त्र युद्ध गर्नुपर्छ भन्दै पार्टीबाटै अलग भएको घोषणा गरेकोसमेत इतिहास छ ।
प्रतिक्रिया 4