+
+
Shares

माघी पर्वले जातीय सद्‍भाव कायम गर्न मद्दत गर्छ : राष्ट्रपति

रासस रासस
२०८२ माघ १ गते ७:४७

१ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले भनेका छन्, “माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउनाका साथै सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”

माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र  खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ ।

राष्ट्रपति पौडेलले आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको पनि उल्लेख गरेका छन् । विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, “माघे सङ्क्रान्ति एवम् माघी पर्वबाट संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक  समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?