डिसेम्बर २१ । यस दिन वर्षभरिकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । अनि डिसेम्बर २२ (पुस ८) – प्राकृतिक नयाँ वर्ष । यस दिनदेखि दिन लामो हुन थाल्छ । न्यानोपन बढ्न थाल्छ । प्रकृतिमा वार्षिक नयाँ जीवनचक्र र कृषि पात्रो पनि शुरु हुन थाल्छ । र, शुरु हुन्छ चाडपर्वको चहलपहल पनि ।
हो, पुस १५ गते ‘तमु ल्होछार’ – गुरुङ जातिको नयाँ वर्ष । दुराहरू पनि यसै दिन आफ्नो नयाँ वर्ष मनाउँछन् । पुस १७ गते अंग्रेजी नयाँ वर्ष । पुस १९ ‘तापा ङ्या’– पुसे पूर्णिमा, तामाङ जातिको प्राचीनतम ल्होछार । सन्थाल समुदाय जनवरी ९ (पुस २५) मा ‘दिसोम सोहराई’ चाड मनाउँछन् । उनीहरू यो चाड पाँच दिनसम्म मनाउँछन् ।
यसैगरी पुस ५ गते ‘तोला ल्होछार’ मनाइन्छ । यस वर्ष डिसेम्बर १३ (पुस ४) मा सिक्किमका लेप्चा जातिले आफ्नो नयाँ वर्ष ‘नामसुङ’ चाड मनाएको देखें भने डिसेम्बर २९ अर्थात् पुस १४ मा कैलाश पर्वतको पश्चिमतिरका लद्दाखी र किन्नौरीहरूले ‘ल्होछार’ मनाएको देखें– धुमधामसँग ।
प्राकृतिक नयाँ वर्षभन्दा केही दिन अगाडि भोट–बर्मेली भाषिक परिवारका पूर्वी शाखाका राई, लिम्बू, याक्खा आदिले ‘उँधौली चाड’ (मङ्सिर १८) मनाएको देखें । यसै दिन काठमाडौं उपत्यकाकेन्द्रित भोट–बर्मेली भाषिक परिवारका नेवार समुदायको ‘योमरी पुन्हि’ र ‘ज्यापु दिवस’ मा सहभागी पनि भएँ ।
अनि माघ १ गते – ‘माघी चाड’ । यो पहाडभरि बसोबास गर्ने मगर जाति र तराईमा बसोबास गर्ने थारू जातिको प्रमुख चाड हो । छन्त्याल र अन्य पहाडी समुदायले पनि यस दिनलाई आफ्नो नयाँ वर्ष ठान्दछन् । यसै दिन तराई र पहाडमा बसोबास गर्ने हिन्दुहरू ‘माघे सङ्क्रान्ति’ भनेर मनाउँछन् । उनीहरू यस दिन सूर्य उत्तरतिर लागेको अर्थात् लामो दिन शुरु भएको ठान्दछन् । यसै दिन घिउ–चाकु खाने नेवार समुदायको चाड पनि हो । किरातीहरूद्वारा विकसित तथा पोषित यलम्वर संवत् पनि माघ १ गतेदेखि नै प्रारम्भ हुन्छ । त्यस्तै मथिलाञ्चल क्षेत्रमा माघ १ गते तिला पर्व मनाइन्छ ।
अनि ‘सोनाम ल्होछार’ देखा पर्छ– माघ ५ गते (यस वर्ष) । माघ शुक्ल प्रतिपदाको दिन । यो पहाड र हिमालमा बसोबास गर्ने तामाङ र ह्योल्मो समुदायको प्रमुख चाड हो । अनि एक महिनापछि ‘ग्याल्पो ल्होसार’– शेर्पा, तिब्बती लगायत हिमाली जातिको चाड आउँछ । चिनियाँहरू ल्होछार– नयाँ वर्षलाई वसन्त उत्सवको रूपमा मनाउँछन् ।
तामाङ लगायत नेपालका विभिन्न जातिका लोकसाहित्य र वैदिक साहित्यहरूमा समेत घामको महिमा गाइएको छ । खेती–किसान गर्नेहरूको लागि सूर्यको न्यानोपनको महत्व अति छ । नेपालको मौसमी पात्रोले नयाँ खेतीपातीको सङ्केत गर्दछ ।
नेपालका प्राय: सबैजसो भाषाभाषीहरूका चाडपर्व पुस–माघ महिनामा पर्नुले नेपाल कृषिप्रधान देश हो भन्ने सङ्केत गर्दछ । नेपालका चाडपर्वहरू प्रकृतिजन्य छ र तापकेन्द्रित छ भन्ने पनि दर्साउँछ ।
२०६३ मा देशमा अपूर्व राजनीतिक परिवर्तन भयो । दुईसय पचास वर्षजति लामो राजकाज चलाएको राजतन्त्र ढल्यो । गणतन्त्रात्मक सङ्घीय लोकतन्त्रको स्थापना भयो । हिन्दु सत्ताकेन्द्रित धेरै मिथक भत्किए । नेपालमा १२४ भाषा बोल्ने १४२ जातजाति छन् भन्ने तथ्याङ्क राष्ट्रिय जनगणना (२०७८) ले सार्वजनिक गरिएको सन्दर्भमा यी सबै जातजाति र भाषाभाषीलाई जोड्ने तन्तु अब के हुनसक्दछ भनेर रेशमी धागो खोज्ने काम पनि विद्वान् जगतले नगरेको होइन ।
पञ्चायतकालको ‘एक राजा एक देश, एक भाषा एक भेष’ अवधारणा निरङ्कुश पञ्चायती सत्तासँगै टुट्यो । राजतन्त्र, एकात्मक राज्यसत्ता, नेपाली भाषा र हिन्दु संस्कृतिको एकलवादी चरित्र गणतन्त्रको स्थापना सँगसँगै छुट्यो । यी चार तत्वले नेपाल र नेपाली जोडेको छ भन्ने भ्रम पनि हट्यो । एकात्मक सोच कतै छ वा थियो भने पनि खिया लाग्न थाल्यो ।
नेपालमा मूलत: चार भाषिक परिवारका समुदायहरूको बसोबास रहेको छ । भोट–बर्मेली भाषिक समुदायकाहरू हिमाली र पहाडी भूक्षेत्रमा बसोबास गर्दछन् भने भारोपेली समुदायकाहरू तराई र पहाडी भूक्षेत्रमा केन्द्रित छन् । यसैगरी आग्नेली (सन्थाली, मुडियारी र खडिया) र द्रविडेली (उराव) परिवारकाहरू पूर्वी तराईमा बसोबास गर्दछन् । यस लेखका प्रारम्भिक अनुच्छेदहरूले के औंल्याएका छन् भने नेपालका सबैजसो भाषाभाषीहरूले जाडो मौसमको न्यायो दिनलाई स्वागत गर्दै आ–आफ्ना चाडपर्व मनाउँछन् ।
सुरुवातका अनुच्छेदहरूबाट सबैजसो नेपालीले न्यानो घामकेन्द्रित चाडपर्व मनाउँदा रहेछन् भन्ने सिद्ध हुन्छ चाहे त्यो चन्द्रपात्रोमा आधारित नै किन नहोस् । नेपालीहरू जीउ तताउन र जीवनस्रोत बटुल्नका लागि जाडो महिनामा सक्रिय हुँदा रहेछन् भन्ने पनि सङ्केत गर्दछ ।
अब नेपाललाई जोड्ने एउटा बलियो आधार विभिन्न भाषिक समुदायका बहुल सांस्कृतिक चाडपर्व हुन सक्दछन् । पुसको अन्तिम वा माघको पहिलो हप्ताभरि सबै चाडपर्वलाई राष्ट्रिय चाडको रूपमा विविध महोत्सव गरी मनाउँदा नेपालको राष्ट्रियता बलियो हुन, पर्यटन बढ्न सक्दछ ।
गुरुङ संस्थाका एक जना पूर्व अध्यक्ष श्रीप्रसाद गुरुङले ‘कुल धर्म हाम्रो धर्म, बौद्धधर्म राष्ट्रिय धर्म’ भने जस्तै आ–आफ्ना चाडपर्वहरू घरपरिवारमा र तोकिएको मितिमा बहुल समुदायको सहभागितामा राष्ट्रिय चाड मनाउन सकिन्छ । बहुल चाडपर्व मार्फत नै नेपालको राष्ट्रिय एकतालाई अझ दरिलो बनाउन सकिन्छ ।
मेरो यस अवधारणाप्रति सम्बन्धित सबै समुदाय र राज्यको ध्यान जाओस् । धन्यवाद !
(लेखक योन्जन–तामाङ भाषा आयोगका पूर्व सदस्य हुन् ।)
प्रतिक्रिया 4