+
+
Shares

टिकटक चलाउनुहुन्छ ? थाहा पाउनुहोस् १० रोचक तथ्य

सापेक्ष सापेक्ष
२०८२ माघ १ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटकको मासिक सक्रिय प्रयोगकर्ता संख्या दुई अर्बभन्दा बढी पुगेको छ र सन् २०२७ सम्ममा साढे दुई अर्ब पुग्ने अनुमान छ।
  • टिकटक विश्वभर चार अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको छ र सन् २०२२ मा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्यो।
  • टिकटकमा दैनिक एक अर्बभन्दा बढी भिडियो हेरिन्छ र १० मध्ये ९ प्रयोगकर्ताले दैनिक एप चलाउँछन्।

अहिले धेरै फोनमा पक्कै पनि एउटा एप हुन सक्छ – टिकटक । चाहे आफ्नो व्यवसायको प्रवर्धन गर्न होस् अथवा के गरिरहेको छु भन्ने सामान्य जानकारी दिन, टिकटक भरपर्दो प्लेटफर्म बन्दै गइरहेको छ । 

केही समयअघि सरकारको प्रतिबन्धमा समेत परेको यो प्लेटफर्म धेरैका लागि कमाइको माध्यम समेत बनिरहेको छ । 

टिकटकमा प्रयोगकर्ताले आफूले बनाउने कन्टेन्टको आधारमा पैसा पाउन सक्छन् । यो प्लेटफर्म नेपालमा मात्र नभएर विश्वभरी नै उत्तिकै प्रख्यात छ । 

टिकटकका केही रोचक तथ्य 

१. मासिक सक्रिय प्रयोगकर्ता दुई अर्ब माथि 

सामाजिक सञ्जालहरूको निगरानी गर्ने प्लेटफर्महरूका अनुसार हाल टिकटकको मासिक सक्रिय प्रयोगकर्ता दुई अर्बमाथि छन् । जुन सामाजिक सञ्जालको इतिहास अत्यन्तै छिटो समयमा  प्राप्त भएको रेकर्ड हो ।

स्थापनाको केवल तीन वर्षमा मात्रै टिकटकले एक अर्ब प्रयोगकर्ता पाएको थियो । जब कि त्यो आँकडा पूरा गर्न फेसबुकलाई ४ वर्ष र इन्स्टाग्रामलाई ६ वर्ष लाग्यो ।

स्थापनाको केवल तीन वर्षमा मात्रै टिकटकले एक अर्ब प्रयोगकर्ता पाएको थियो । जब कि त्यो आँकडा पूरा गर्न फेसबुकलाई ४ वर्ष र इन्स्टाग्रामलाई ६ वर्ष लाग्यो ।

छोटो, मनोरञ्जनात्मक, सहज पहुँचयोग्य भिडियोका कारण टिकटकले आफ्ना प्रयोगकर्तालाई बाँधेर राख्न सक्छ ।  प्रयोगकर्ताको संख्या बढ्नुमा यही नै मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।

सन् २०२७ सम्ममा टिकटकले यो आँकडा साढे दुई अर्बमाथि पुर्‍याउने बताइन्छ । 

२. चार अर्बभन्दा धेरैपटक डाउनलोड 

टिकटक प्रमुख मोबाइल अपरेटिङ सिस्टमहरू (आईओएस र एन्ड्रोइड) दुवैमा उपलब्ध छ । प्रयोगकर्ताहरूले यहीँ प्लेटफर्ममार्फत आफ्नो मोबाइल फोनमा टिकटक डाउनलोड गर्छन् ।

त्यसमा पनि टिकटकले कीर्तिमान नै राखेको छ ।

हालसम्म टिकटक सबै अपरेटिङ सिस्टमहरूमा गरेर चार अर्ब पटकभन्दा धेरै डाउनलोड गरिएको बताइन्छ । जुन कुनै पनि एपका लागि दुर्लभ उपलब्धि हो ।

अझ रोचक कुरा के छ भने सन् २०२० को दशकमा सबैभन्दा धेरै डाउनलोड गरिने एपहरूको सूचीमा टिकटक सातौँ स्थानमा परेको थियो । यसको कारण भनेको टिकटक २०१६ मा मात्र रिजिल हुनु हो ।

तर, सन् २०२२ मा टिकटक विश्वकै सबैभन्दा धेरै डाउनलोड हुने एप बन्यो, जुन ट्रेन्ड आजसम्म जारी छ ।

३. वयस्क उमेरका प्रयोगकर्ता

टिकटक सुरुदेखि नै वयस्क उमेरका प्रयोगकर्ताबीच लोकप्रिय बन्न गयो । जुन आजसम्म पनि कायम नै छ । तथ्याङ्कमा नै कुरा गर्दा सन् २०२२ मा मात्र अमेरिकामा २५ देखि ३४ वर्ष उमेर समूहका प्रयोगकर्ताहरू टिकटकको कुल  प्रयोगकर्ताको २५.४ प्रतिशत थियो । 

अहिले यही उमेर समूहको प्रयोगकर्ता टिकटकमा धेरै छन् । यो उमेर समूह जो कुनै पनि विज्ञापनदाताका लागि अत्यन्तै महत्वपूर्ण उपभोक्ता वर्ग हो । त्यस्तै, यो उमेर समूहका कारण पनि नयाँ उत्पादन, सेवा, ट्रेन्ड र ब्रान्डप्रति जानकारी लिने गतिलो माध्यम टिकटक बनेको छ । 

४. ‘इन्गेजमेन्ट रेट’ सबैभन्दा उच्च 

‘इन्गेजमेन्ट रेट’ भनेको प्लेटफर्ममा प्रयोगकर्ताले कति समय बिताउँछन् भन्ने हो । अपफ्लुएन्सका तथ्यांक अनुसार टिकटकको ‘इन्गेजमेन्ट रेट’ अन्य प्रमुख सामाजिक सञ्जालहरू इन्स्टाग्राम, फेसबुक, युट्युबभन्दा धेरै गुणाले बढी छ ।

अझ टिकटकका इन्फ्लुएन्सरहरूले १८ प्रतिशतसम्म ‘इन्गेजमेन्ट रेट’ रेट पाउँछन् । जुन डिजिटल मार्केटिङका लागि असाध्यै राम्रो हो । यसकारण आजकल सानाठूला सबै ब्रान्ड टिकटकमा विज्ञापन गर्न लागि परेका छन् । 

५. दैनिक प्रयोगको समयमा निरन्तर उकालो 

उच्च ‘इन्गेजमेन्ट रेट’ हुनुका साथै टिकटकमा प्रयोगकर्ताहरू बिताउने ‍औसत समय पनि बढिरहेको तथ्याङ्कहरूले देखाउँछ । एआईमा आधारित ‘फोर यू पेज’ले प्रयोगकर्तालाई त्यस्ता कन्टेन्टहरू बढी सुझाउँछ, जुन उनको रुचिको विषय हो ।

यसकारण टिकटकको एल्गोरिदमको चर्चा विश्वभर हुने गरेको छ । किनकि टिकटकमा छोटाखालका सामग्रीहरू बढी पाइन्छन् । जुन हेर्दा छोटो देखिन्छ । तर, त्यसले थाहै नपाइ लामो समय लिइरहेको हुन्छ ।

फलस्वरूप प्रयोगकर्ताहरूले टिकटकमा बिताउने दैनिक समय पनि उकालो लागिरहेको छ । 

६. विश्वका १८ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले चलाउँछन् टिकटक 

तथ्याङ्क अनुसार विश्वको कुल १८ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले टिकटक चलाउने गर्छन् । जुन कुनै पनि एपले पाएकोमध्ये दुर्लभ उपलब्धि हो ।

अझ कोभिड-१९ को महामारीपश्चात टिकटकको प्रयोगकर्ता ह्वात्तै बढ्यो । मान्छेले कम समयमा मनोरञ्जन, जानकारी, समाचार र सामाजिक अन्तरक्रियाको विकल्प खोजिरहेका थिए, त्यस्तोमा टिकटकले सबै आवश्यकता पूर्ति गर्न सक्यो ।

अर्कोतर्फ, ब्रान्डहरूलाई पनि आफ्नो उत्पादन धेरै सामु पुर्‍याउनु थियो । त्यो दुवै प्रकारको आवश्यकता टिकटकले पूरा गरिदिएको छ । 

७. १ सय ५४ देशमा टिकटक 

कतिपय देशहरूमा प्रतिबन्धमा परेता पनि आजको समयमा टिकटक १५४ देशहरूमा उपलब्ध छ । छिमेकी देश भारतमा समेत टिकटक प्रतिबन्ध छ । तर, अरु देशहरूमा यो खुल्ला छ ।

अमेरिकी सरकारले आफ्नो देशमा प्रतिबन्ध लगाउन खोजे पनि प्रयोगकर्ता र टिकटकमा हुने अर्थतन्त्रका कारण त्यस्तो कदम चाल्न सकिरहेको छैन । 

८. दैनिक एप चलाउनेमा १० मध्ये ९ प्रयोगकर्ता 

टिकटक वास्तवमा नै निकै लत बसाउने खालको छ । तथ्याङ्क अनुसार टिकटकका १० मध्ये ९ प्रयोगकर्ताले दैनिक एप खोलिरहेका छन् ।

त्यसको प्रमुख कारण टिकटको एल्गोरदिम, कन्टेन्टको विविधता र ठूलो बजार नै हो । अहिले अमेरिकामा मात्र पाँच करोड बढी दैनिक सक्रिय प्रयोगकर्ता छन् । त्यसले पनि टिकटको बजार देखाउँछ ।

अर्को रोचक कुरा भनेको टिकटक खोल्ने बित्तिकै देखिने पाँच सेकेन्डका छोटा विज्ञापनहरू दैनिक लाखौँ/करोडौँ पटक देखिन्छन् ।

९. दैनिक एक अर्बभन्दा बढी भिडियो हेरिने 

फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक जस्ता फरक-फरक सामाजिक सञ्जालमा तपाईंले कन्टेन्ट हाल्नुहुन्छ भने तपाईंले एउटा कुरा याद गर्नु भएको हुन सक्छ- त्यो टिकटकमा आउने भ्युज ।

साधारणतया ती प्लेटफर्महरूको तुलानामा टिकटकमा बढी भ्युज आउँछ । यसको कारण आज टिकटकमा दैनिक एक अर्बभन्दा धेरै पटक भिडियो देखिन्छ ।

टिकटकमा अर्को सुविधा भनेको यसमा भिडियो एडिटिङ सम्बन्धी केही जानकारी नराख्ने व्यक्तिले समेत भिडियो बनाउन सक्छ ।

त्यसका लागि टिकटकमा फिल्टर, इफेक्ट, संगीत जस्ता अनेकन् फिचर छन्, जसको प्रयोग गरेर बनाइएका भिडियोहरूमा सजिलै राम्रो संख्यामा भ्युज आउने गर्छ ।

१०. टिकटकको भिडियो युट्युबमा पनि

टिकटकको प्रभाव आफ्नै प्लेटफर्ममा मात्र सीमित छैन । यो अरु दोस्रो कम्पनीको प्लेटफर्ममा समेत फैलिएको छ । त्यसको गतिलो उदाहरण युट्युब हो ।

युट्युबमा ‘टिकटक म्यासअप’ जस्ता की वर्डहरू प्रयोग गरेर बनाइएका भिडियोहरू प्रशस्त पाइन्छन् । त्यसले पनि टिकटकको प्रभाव कस्तो रहेछ भन्ने थाहा पाउन सकिन्छ ।

अहिले त टिकटकको प्रभाव यतिसम्म देखियो कि त्यस्तै प्रकारको एपहरू प्रविधिका अन्य ठूला कम्पनीहरूले समेत बनाए । जस्तो कि, मेटाले टिकटकको जस्तै छोटो भिडियो क्लिप आउने ‘रिल्स’ बनायो ।

त्यस्तै, युट्युबले पनि उस्तै प्रकृतिको फिचर ‘सर्ट्स’ राख्न थालेको देखिन्छ । 

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?