News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन्।
- विशेष महाधिवेशनमार्फत् गगन थापा सभापति चुनिएपछि आधिकारिकता विवादमा आयोगले छानबिन गरिरहेको छ।
- नेता कल्याण गुरुङले केन्द्रीय समिति, जिल्ला सभापति, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली आयोग पुगेको बताए।
२ माघ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । विशेष महाधिवेशनमार्फत् गगन थापा पार्टी सभापति चुनिएपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता–कार्यकर्ताहरुको टोली आयोग पुगेको हो ।
नेता कल्याण गुरुङले केन्द्रीय समितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली निर्वाचन आयोग पुगेको बताए । ‘हामी हाम्रा कुरा राख्न आयोग आएका छौं,’ गुरुङले भने ।
यही पुस २७ गतेदेखि माघ १ गते बिहानसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेको थियो । यससँगै सभापति शेरबहादुर देउवा पक्षले र थापा पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सो निवेदनउपर छानबिन गरिरहेको आयोगले जनाएको छ ।
यसैबीच नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दैछन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
खड्काले पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य सचिव पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4