+
+
Shares

रेणुलाई विकासप्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १४:३३
फाइल तस्वीर

२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रेणु दाहाललाई विकासवादी-विकासप्रेमी रेणु भनेर जनताले स्थापित गरेको बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रचण्डले रेणुलाई आफूहरूले नभई यहाँका जनताहरूले विकास प्रेमी भनेर स्थापित गरेको बताए ।

प्रचण्डले भने, ‘रेणुको नाम अब विकासवादी रेणु, विकास प्रेमी रेणु भनेर तपाईंहरूले स्थापित गर्नु भएको हो, मैले-हामीले गरेका होइनौं । तपाईंहरूले स्थापित गरेको हो । यसलाई आदर्श मानेर अगाडि जान जरुरी छ ।’

संयोजक प्रचण्डले सामाजिक सञ्जालमा भएको स्टन्टबाजीकै कारण २४ भदौमा राष्ट्र खरानी बनेको टिप्पणी गरे ।

उनले भने, ‘सोसल मिडियामा स्टन्ट गरेकै भरमा चाहिँ मानिसहरूको दिमाग चाट्ने एउटा प्रक्रिया तपाईंहरूले देखिराख्नु भएकै छ । अब कहिलेकाहीँ मानिसहरूको दिमाग त्यस्तो स्टन्टबाजी प्रति भ्रमित हुने हो कि भन्ने चिन्ता छ । हाम्रो राष्ट्र झन्डै झन्डै अस्ति २४ भदौमा खरानी जस्तो भयो । यहाँ धेरै कुरा आए, तपाईंलाई सबैलाई थाहा छ, म भन्न चाहन्छु, त्यस्तै स्टन्टबाजहरूको कारणले भएको हो । त्यो कुनै विचार, सिद्धान्त, आदर्शका कारणले भएको होइन ।’

अहिले पनि सतर्क भएनौ भने, एकताबद्ध भएर सिद्धान्तहीन विचारहीन आदर्शहीन, निष्ठाहीन, होहल्लाको पछि लाग्यो भने देश दुर्घटनामा पर्न सक्ने उनले बताए ।

तसर्थ त्यस तर्फ सबै जना सतर्क हुन उनले अपिल समेत गरे ।

उनले भने, ‘अहिले पनि तपाईं हामी सबै सतर्क भएनौं भने तपाईं हामी सबैले एकताबद्ध भएर सिद्धान्तहीन, विचारहीन आदर्शहीन, निष्ठाहीन, होहल्लाको पछि लाग्यो भने देश दुर्घटनामा पर्न सक्छ । म आफू पनि चितवनकै नागरिक हुनुको नाताले मैले कर्तव्य सम्झेको छु । तपाईंहरू सबैलाई अपिल गर्छु ।’

समाजमा देखापरेको अराजकतालाई नियन्त्रण गर्न पनि सबै गम्भीर र जिम्मेवार हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?