News Summary
Generated by OK AI. Editorially reviewed.- म्युजिक नेपालले काठमाडौंमा डल्बी एट्मसद्वारा मान्यताप्राप्त पहिलो पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ।
- डल्बी भारतका निर्देशक र वरिष्ठ साउन्ड इन्जिनियरहरू स्टुडियो सेटअप र सञ्चालनका लागि काठमाडौंमा छन्।
- स्टुडियोमा फिल्म र संगीतका सम्पादन, डीआई, रेकर्डिङ, ७.१ प्रि-मिक्स लगायतका सबै पोस्ट-प्रोडक्सन कार्य हुनेछन्।
काठमाडौं । अबदेखि नेपालमै विश्वस्तरीय डल्बी एट्मसको गुणस्तरीय ध्वनिसहित फिल्म र संगीतको पोस्ट-प्रोडक्सन कार्य गर्न सकिने भएको छ । अग्रणी सांगीतिक कम्पनी ‘म्युजिक नेपाल’ ले मुलुकमा पहिलोपटक डल्बी एट्मसद्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ ।
४ दशकको सांगीतिक इतिहास बोकेको कम्पनीले ‘म्युजिक नेपाल अडियो भिजुअल’ कम्पनी शुभारम्भ गरेको छ । गौशाला पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयमा स्टुडियो खोलिएको छ । शुक्रबार आयोजित समारोहमा यसको औपचारिक घोषणा गरियो ।
शनिबारदेखि स्टुडियो औपचारिक सञ्चालनमा आउने ‘म्युजिक नेपाल’ का प्रमुख सन्तोष शर्माले जानकारी दिए । दक्षिण एसियामा भारतपछि डल्बीले नेपालमा स्टुडियो विस्तार गरेको हो । स्टुडियो सेटअपदेखि सञ्चालनको लागि डल्बी भारतका निर्देशक समीर सेठ, दुई वरिष्ठ साउन्ड इन्जिनियरहरू दमन सुद र भरत रेड्डी काठमाडौंमा छन् ।
बलिउडका सुप्रसिद्ध साउन्ड इन्जिनियर सुद उनै हुन् जसले सन् १९९१ मा म्यूजिक नेपालको पहिलो र त्यसपछिको दोस्रो स्टुडियो पनि सेटअप गरेका थिए । यश चोपडा, करण जोहर र संजयलीला भन्सालीसँग काम गरिसकेका सुद केही समयदेखि यतै छन् ।
स्टुडियोमा सम्पादन, डीआई, रेकर्डिङ स्टुडियो, ७.१ प्रि-मिक्सका सबै कार्य हुने जनाइएको छ । ‘फिल्मका सबै पोस्ट-प्रोडक्सन कार्य यहाँ हुन्छ । सुटिङ गरेर आएपछिका सबै काम हुन्छ’ म्युजिक नेपालका प्रमुख शर्माले भने ।

१० करोड रुपैयाँ लागतमा तयार भएको स्टुडियोमा फिल्म र संगीतका निर्माताले उचित रकम तिरेर काम गर्न सक्नेछन् । ‘सुरुमा केही छूट दिने घोषणा गरेका छौं’ शर्माले भने, ‘सस्तैमा सेवा लिन सकिनेछ ।’ स्टुडियो बुक गर्ने पहिलो ३ लाई ५० प्रतिशत र जनवरी ३१ सम्म २५ प्रतिशत छूट दिने जनाएको छ ।
सगरमाथा, ल्होत्से, धौलागिरी, अन्नपूर्ण, मनास्लुसहित ८ हजार मिटरभन्दा अग्ला नेपाली हिमाल र राष्ट्रिय चरा डाँफेको नामबाट स्टुडियोका प्रत्येक कक्षको नाम राखिएको छ । यी प्रत्येक कक्षमा पोस्ट-प्रोडक्सनका भिन्न कार्य हुन्छन् । सगरमाथामा एटमस मिक्सटेज, मनास्लुमा मल्टिप्रपोज रुम, अन्नपूर्ण दोस्रोमा एडिट स्विट, डाँफेमा डीआई रुम, अन्नपूर्ण पहिलोमा एडिट स्विट, धौलागिरीमा रेकर्डिङ र कन्ट्रोल रुम, ल्होत्सेमा मिक्सिङ कार्य हुनेछन् ।
डल्बी एटमस स्टुडियो नै किन ? नेपाली चलचित्रको कमजोर पक्ष ध्वनि हो भन्ने बुझेर आफूले स्टुडियो बनाएको शर्माले बताए ।
‘फिल्ममा जुन प्रभाव आउनुपर्ने हो । त्यो प्रभाव नेपाली फिल्ममा नभएको पाएपछि के गर्नुपर्छ भन्ने सोचिरहेको थिएँ । डल्बीले क्रमशः नेपालका हलमा पनि ध्वनि विस्तार गरिरहेको र विदेशमा पनि अघि बढाएको देखेँ’ शर्माले भने, ‘दमन सुदजी धेरै पहिलेदेखि चिनेको साथी भएकाले मलाई यसमा अघि बढ्न झनै सजिलो भयो ।’
डल्बीद्वारा मान्यताप्राप्त स्टुडियो भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरमा ध्वनिको गुणस्तर पाइने उनले बताए । ‘डल्बीको लागि यहाँ र हलिउडको साउन्डको लेभल बराबर हुनुपर्छ’ उनले गुणस्तरबारे भने, ‘डल्बीले सर्टिफाइड गरिसक्यो, यो ठूलो उपलिब्ध हो ।’

केही दिनअघि डल्बीका साउन्ड इन्जिनियर रेड्डीले नेपालका २० जना व्यवसायिक साउन्ड इन्जिनियरलाई चलचित्र विकास बोर्डसँगको सहकार्यमा ध्वनिबारे तालिम दिएका थिए ।
भारतभर डेढसय डल्बी स्टुडियो सेटअप गरिसकेका र यश चोपडाजस्ता सिद्धहस्त हिन्दी फिल्मका निर्माता, निर्देशकसँग काम गरिसकेका वरिष्ठ ध्वनि प्राविधिक सुदले ‘म्यूजिक नेपाल’ को स्टुडियोले नेपाली फिल्म र संगीत क्षेत्रलाई फाइदा पुग्ने बताए । ‘नेपाली फिल्म र संगीत क्षेत्रको लागि यो ठूलो उपलब्धि हो’ उनले भने ।
पछिल्लो समय फिल्ममेकरले साउन्डस्केपमा महत्व दिन थालेको बताउँदै सुदले फिल्ममा दृश्यभन्दा ध्वनि महत्वपूर्ण रहेको बताए । नेपालमा खुलेको डल्बी स्टुडियो उपकरणको जडानभन्दा पनि भविष्यवादी ढंगले बनाइएको उनको भनाइ छ ।
‘अबको १० वर्षसम्म लक्षित गरि बनाइएको यो स्टुडियो फ्युचरिस्टिक अवश्य छ । उपकरण मात्र होइन, यसले नेपाली फिल्ममा कथा भन्ने शैली र आउने वर्षमा संगीत उत्पादनमा पनि ब्यापक योगदान दिने पक्का छ’ सुदले अनलाइनखबरसँग भने, ‘मैले नेपाली फिल्मले अस्कर र गीतले ग्रामी जित्ने भविष्य देखेको छु । नेपाल यसका लागि योग्य पनि छ ।’
आफूले अहिलेसम्म डेढसय स्टुडियो सेटअप गरेको बताउँदै सुदले गुणस्तरीय ध्वनितर्फ फिल्म र संगीतको ध्यान तानिनु खुसीको कुरा भएको बताए । यसका लागि दक्ष प्राविधिक उत्पादन गर्नुपर्ने, फिल्म शिक्षा र तालिम दिनुपर्ने उनको धारणा छ ।
‘म्युजिक नेपाल’ को कुरा गर्दा यसले गैरनाफामूलक नेपाल संगीत विद्यालय पनि सञ्चालन गरिरहेको छ । यो स्कुलमार्फत संगीतलाई विद्यालय शिक्षामा प्रवर्धन भैरहेको छ । चाँडै ओटीटी बजारमा पनि कम्पनीलाई अघि बढाउने म्युजिक नेपालका प्रमुख शर्माले बताए ।







प्रतिक्रिया 4