+
+
Shares

रास्वपाले माग्यो सांसदहरूलाई स्वकीय सचिव

उनले भने, ‘पहिलो लगानी सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गरेर गरियोस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गर्ने विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने माग राखेका छन्।
  • सांसदहरूको स्वकीय सचिव पद सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौतीको कारण खारेज गरेको थियो।
  • संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले स्वकीय सचिवको पद ब्युँताउने प्रक्रिया अघि बढाएको छ तर सरकारले निर्णय लिएको छैन।

३१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूलाई स्वकीय सचिव आवश्यक रहेको बताएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा प्राप्त समयमा बोल्दै रास्वपाका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले सांसदहरूलाई सक्षम बनाउन आवश्यक रहेको बताए ।

‘सांसदहरूलाई सक्षम बनाउन, सांसदहरूको वृति विकास र क्षमता अभिवृद्धिमा लगानी गर्ने विषय नीति तथा कार्यक्रममा समेटियोस्,’ उनले भने, ‘पहिलो लगानी सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गरेर गरियोस् ।’

पहिले सांसदहरूले यो सुविधा पाउँथे । सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले सांसद्का स्वकीय सचिवको पद खारेज गरेको थियो । त्यसबेला सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूचीमा हेरफेर गरेर संसद्का स्वकीय सचिवको सुविधा खोसेको थियो ।

खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको हो । तर, यो निर्णयप्रति त्यसबेलै संघीय संसद्का तत्कालीन पदाधिकारीहरूले असन्तुष्टि जनाएका थिए ।

गत कातिक १८ गते प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर तत्कालीन सभामुख देवराज घिमिरेसहितका संसद्का पदाधिकारीले असन्तुष्टि जनाएका थिए ।

गत ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । जसमा अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय नेपाल सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहमा लागू हुने भनिएको छ ।

यसैका आधारमा सांसद्हरूले पाउँदै आएको स्वकीय सचिवको पद खारेज भएको हो ।

संंघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २५ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सक्ने उल्लेख छ ।

यही अधिकार प्रयोग गरेर सरकारले अनुसूची–२ को क्रमसंख्या २ र ३ मा हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो ।

यसप्रति असन्तुष्टि व्यक्त भइरहेका बेला सांसद्का स्वकीय सचिवको पद ब्युताउँने प्रक्रिया अगाडि बढेर पनि टुंगोमा पुगेको छैन ।

सांसद्का स्वकीय सचिवको पद ब्युँताउनु उपयुक्त हुने निष्कर्षसहित संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रक्रिया अगाडि बढाएको हो ।

यसले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरे पनि यसबारे सरकारले कुनै निर्णय लिएको छैन ।

यहीबेला रास्वपाका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गर्ने विषय सरकारको नीति तथा कार्यक्रममा समेटिनुपर्ने माग राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?