News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंमा आकस्मिक अनुगमन गरी गुणस्तर विपरीत खाद्य वस्तु जफत र नष्ट गरेको छ।
- अन्नपूर्ण मिनरल वाटर इण्डस्ट्रिजमा पुराना जार फेला पारी विभागले ४० थान जार नष्ट गरेको छ र पानीको नमुना संकलन गरेको छ।
- खाद्य वस्तु भण्डारणमा लापरबाही भेटिएपछि विभागले सुधारका लागि निर्देशन दिएको र उपभोक्तालाई लेबल हेर्न अनुरोध गरेको छ।
४ माघ, काठमाडौं । बजारमा खाद्य वस्तुको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो सक्रियता बढाएको छ ।
विभागले जनगुनासोका आधारमा ‘र्यापिड रेस्पोन्स मोडालिटी’ मार्फत काठमाडौंका विभिन्न स्थानमा आकस्मिक अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।
विभागले २४, २८ र २९ पुसमा गरेको विशेष अनुगमनका क्रममा कैफियत भेटिएका खाद्य वस्तु जफत गर्ने, नमुना संकलन गर्ने र मापदण्ड विपरीतका सामग्री नष्ट गर्ने कार्य गरेको छ ।
बानेश्वरको हाटबजारमा ‘अर्गानिक’ भन्दै लेबलविहीन नौनी बिक्री
२४ पुसमा पुरानो बानेश्वरमा लाग्ने शनिबारे हाटबजारमा अनुगमन गर्दा दुई व्यवसायीले ‘इलामको नौनी घिउ’ र ‘अर्गानिक’ भन्दै लेबल नभएको सामग्री बिक्री गरिरहेको पाइएको थियो ।
बिक्रीका लागि राखिएको उक्त नौनीमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर वा म्याद सम्बन्धी कुनै पनि अनिवार्य विवरण उल्लेख थिएन ।
विभागले उक्त नौनीको नमुना संकलन गरी थप अनुसन्धान र प्रयोगशाला विश्लेषणका लागि पठाएको छ ।
अन्नपूर्ण मिनरल वाटरका ४० थान पुराना जार नष्ट
२८ पुसमा चन्द्रागिरी–८ स्थित अन्नपूर्ण मिनरल वाटर इण्डस्ट्रिजमा गरिएको अनुगमनका क्रममा विभागले ४० थान पुराना र कोत्रिएका जारहरू फेला पारी तत्काल नष्ट गरेको छ ।
प्रशोधित पिउने पानीमा लेउ भेटिएको र जारहरू चुहिएको भन्ने उजुरीका आधारमा विभागको टोली त्यहाँ पुगेको थियो ।
अनुगमनका क्रममा सरसफाइको अवस्था सामान्य रहे पनि पुराना जारहरू प्रयोगमा रहेको पाइएपछि ती जार नष्ट गरिएको हो ।
साथै, पानीको गुणस्तर यकिन गर्न नमुना संकलन गरिएको छ र उद्योगलाई नियमित सरसफाइ तथा अभिलेख दुरुस्त राख्न निर्देशन दिइएको छ ।
२९ पुसमा चन्द्रागिरी–१२ स्थित भेराइटी इन्टरनेसनलमा गरिएको अनुगमनमा खाद्य वस्तुहरूको भण्डारणमा गम्भीर लापरबाही भेटिएको छ ।
उक्त फर्मले खाद्य सामग्रीहरू सिधै भुइँको सम्पर्कमा आउने गरी राखेको पाइएपछि विभागले तत्काल सुधारका लागि निर्देशन दिएको छ ।
खाद्य वस्तुहरू भुइँमा नराखी अनिवार्य रूपमा ‘प्यालेट’को प्रयोग गरेर मात्र भण्डारण गर्न विभागले सचेत गराएको छ ।
विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा कुनै पनि सम्झौता नगर्ने बताइन् ।
‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम अनुगमनलाई थप प्रभावकारी बनाइने र कैफियत भेटिएका व्यवसायीलाई कानुन बमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ ।
साथै, विभागले उपभोक्ताहरूलाई कुनै पनि खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा लेबल हेर्न र शंकास्पद वस्तु फेला परेमा तुरुन्त विभागमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया 4