+
+
Shares

महानगर बिदाइ गर्न दिनभर कुरिरह्यो, बालेन गएनन्

आइतबार बिहानदेखि नै मेयरको बिदाइ गर्न चाहेका उनीहरूले आवश्यक तयारी गरिसकेका थिए । उपमेयर डंगोलले त जति जना भइन्छ, त्यतिले भए पनि औपचारिक बिदाइ गर्नुपर्ने बताएकी थिइन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ माघ ४ गते १९:५४

४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ४ माघमा राजीनामा दिने चर्चा थियो । उनको सचिवालयले सोहीअनुसार ४ माघमा राजीनामा दिएर घण्टीघर जाने जानकारी सञ्चार माध्यमलाई जानकारी दिइह्यो ।

४ माघमा राजीनामा दिएर घण्टीघर जाने अनि ५ माघमा जनकपुरमा हुने रास्वपाको घोषणासभा सम्बोधन गर्ने रणनीति यसअघि नै तय थियो ।

सोहीअनुसार काठमाडौं महानगरले पनि आफ्नो कार्ययोजना बनायो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, उपमेयर सुनिता डंगोल लगायतले मेयर बालेनलाई आइतबार बिदाइ गर्ने योजना बनाए ।

‘आज हामी उहाँलाई बिदाइ गर्न तयार थियौं । यत्रो समय सँगै काम गरेपछि बिदाइ गर्नु स्वाभाविक थियो,’ महानगरका एक कर्मचारीले भने, ‘तर उहाँ आउनुभएन । सायद भ्याउनुभएन होला ।’

आइतबार बिहानबाटै मेयरको बिदाइ गर्न चाहेका उनीहरूले आवश्यक तयारी गरिसकेका थिए । उपमेयर डंगोलले त जति जना भइन्छ, त्यतिले भए पनि औपचारिक बिदाइ गर्नुपर्ने बताएकी थिइन् ।

महानगर स्रोतका अनुसार उनीहरूले मेयरलाई पटक-पटक फोन पनि गरेका थिए । ‘बिदाइको तयारी के गरौँ’ भन्दा तत्कालीन मेयर शाहले ‘पछि भन्छु’ भनिरहे । यद्यपि, निर्णय जे पनि आउन सक्ने भएकाले आफ्नो तयारी गरिरहे । बिदाइको लागि दिनभर बालेनलाई कुरेर बसे ।

तर, यहीबीचमा मेयरले राजीनामा तत्काल नदिने मनस्थिति बनाएको समाचार आयो । बालेन निकट एक नेताका अनुसार कांग्रेस अदालत गएको अवस्थामा चुनाव सर्न सक्ने लगायतका अनुमानका कारण राजीनामा दिन हतार नगर्ने उनको सोच थियो । यदि तोकिएकै समयमा भए पनि उम्मेदवारी दर्ता गरेपछि सम्भवत: मेयर पद खारेज हुने सल्लाहपछि उनको राजीनामा होल्ड गरियो ।

‘तर, पछि थप सल्लाह उहाँले गर्नुभयो । अनि के भयो, एकाएक राजीनामा दिएरै घण्टीघर जाने सोच बनाउनुभयो,’ बालेन स्रोतले भन्यो ।

यसरी बालेनले पुन: एकाएक राजीनामा दिने सोच बनाए र घण्टीघर पुगे । सचिवालयमार्फत उपमेयर सुनिता डंगोलसामु राजीनामा बुझाए । तर आइतबार बिहानदेखि बिदाइ गर्न कुरिरहेको महानगर टिम खिन्न बन्दै उनको राजीनामा वारेसमार्फत लिन बाध्य बन्यो । कार्यक्रम स्थगित गर्नुपर्‍यो ।

बालेन पनि राजीनामा दिएपछि घण्टीघर पुगे । जेनजी अगुवा सुदन गुरुङको गाडीमा घण्टीघर पुगेका उनले रवि लामिछानेसँगै उभिएर घण्टीघर अगाडि राखिएको घण्टी बजाए ।

केहीबेर आफ्नो कार्यकक्षमा बसेर उनी घण्टीघरबाट निस्किएका छन् । महानगरबाट औपचारिक बिदाइ हुन नभ्याएका बालेन घण्टीघरमा भने रवि लामिछानेबाट औपचारिक स्वागत लिन भ्याए ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?