+
+
Shares
अमरेशकुमार सिंहसँग कुराकानी :

‘बीपी र गिरिजाको जस्तो निष्ठा देखेर बालेनको सिपाही बनेँ’

जो–जो हिजोका खलनायक थिए, तिनलाई परास्त गर्न ‘नायक’ नै चाहिन्छ । मेरो विचारमा, यो नेपालमा चलिरहेको ‘लुटको फिल्म’ को इन्डिङ (अन्त्य) हुने समय हो । त्यसैले म यो अभियानमा जोडिएको हुँ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १०:१९

काठमाडौं । लामो समय नेपाली कांग्रेसको राजनीतिमा रहेका अमरेशकुमार सिंहले २०७९ साल कांग्रेस छोडेर स्वतन्त्र चुनाव लडे । त्यसपछि कांग्रेस र पुराना राजनीतिक शक्तिहरूका गतिविधिमा माथि प्रश्न उठाउँदै आएका उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा संलग्न भएका छन् । उनी अहिले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई मधेशमा राजनीतिक स्कर्टिङ गर्दैछन् । रास्वपाको सोमबार जनकपुरमा हुने सभाको तयारीमा रहेका नेता सिंहसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :

तपाईं गिरिजाप्रसाद कोइरालालाई नेता मानेर राजनीतिमा आएको मान्छे, आज बालेन शाहलाई नेता मानेर हिँड्नुपर्ने अवस्थामा कसरी पुग्नुभयो ?

हेर्नुस्, एउटा कुरा के प्रष्ट पारौँ भने म सधैँ ‘निष्ठाको राजनीति’ गर्छु । बीपी कोइराला र गिरिजाप्रसाद कोइरालामा जुन स्तरको राजनीतिक निष्ठा थियो, अहिलेको पुस्तामा मैले त्यो निष्ठा बालेन शाहमा पाएको छु । उहाँलाई नजिकबाट बुझेर र जानेर नै मैले नेता मानेको हुँ । म अहिले उहाँको एउटा सिपाही भएर उभिएको छु ।

तपाईं उहाँको पार्टीमा पद खोज्दै जानुभएको हो ?

म त्यहाँ नेता बन्न, मन्त्री बन्न वा सांसदको टिकट लिन गएको होइन । आजको दिनमा नेपाली कांग्रेस लगायतका ठूला दलहरू मलाई टिकट दिन तयार छन् र मलाई जनताले स्वतन्त्र रूपमा पनि जिताएका छन् । शक्ति त जनतामै छ ।

तर, अहिले देशले ती पात्रहरूसँग हिसाब माग्ने बेला आएको छ, जसले ३० वर्षसम्म यो देश नाश गरे । जो–जो हिजोका खलनायक थिए, तिनलाई परास्त गर्न ‘नायक’ नै चाहिन्छ । मेरो विचारमा, यो नेपालमा चलिरहेको ‘लुटको फिल्म’ को इन्डिङ (अन्त्य) हुने समय हो । त्यसैले म यो अभियानमा जोडिएको हुँ ।

शेरबहादुर देउवाको कांग्रेसमा त तपाईं अटाउनुभएन, तर गगन थापाको कांग्रेसमा त अटाउनुहुन्थ्यो होला नि ? किन रास्वपातिर लाग्नुभयो ?

हेर्नुस्, गगनजीप्रति मेरो सम्मान छ, उहाँलाई मेरो बधाई पनि छ । उहाँ शेरबहादुरजी भन्दा सयौँ कदम अगाडि हुनुहुन्छ, यो मेरो सार्वजनिक अभिव्यक्ति नै हो । तर मेरो प्रश्न प्रवृत्ति माथि हो । म निष्ठाको राजनीति गर्छु, देश बनाउने राजनीति गर्छु, ठग्ने राजनीति गर्दिनँ ।

तपाईं भन्नुहुन्छ कांग्रेसमा मिल्न सकिन्थ्यो, तर ३० खर्ब ऋणको भारी कसले बोक्ने ? सुडान घोटाला, जेनजी हत्याकाण्ड जस्ता काण्डहरूको जिम्मा कसले लिने ? हिजो पञ्चायतमा राजा थिए, आज गणतन्त्रमा नयाँ राजाहरू जन्मिएका छन् । जो कानुनभन्दा माथि छन्, साइरन बजाएर हिँड्छन् र जनतालाई धम्काउँदै देश बेच्छन्, म त्यस्तो प्रवृत्तिको विरुद्धमा छु । म कुनै व्यक्ति विशेषको विरुद्धमा छैन ।

जानकी मन्दिर दर्शनपछि बालेन शाहसँग अमरेसकुमार सिंह

तपाईंले अन्य काण्डका कुरा गर्नुभयो, तर रास्वपा (जसमा तपाईं जोडिनुभएको छ) भित्र पनि त सहकारी काण्ड छ नि ? त्यसको जिम्मा चाहिँ तपाईंले लिने ?

म एउटा कुरा प्रष्ट पार्छु– हामी विषयवस्तुमा सम्झौता गर्दैनौँ । हाम्रो नेतृत्व वा पार्टीभित्र जहाँसुकै होस्, निष्ठाको सवालमा कतै ‘कम्प्रोमाइज’ हुँदैन । म पूर्ण सम्मानका साथ भन्छु, हाम्रो प्रधानमन्त्रीको अनुहार भनेको बालेन शाह जस्तो हुनुपर्छ । नेपालमा बालेन शाह जुन स्तरको निष्ठा बोकेर आउनुभएको छ, म त्यसैमा विश्वास गर्छु ।

मलाई कसैको पद वा पैसासँग सरोकार छैन । मैले देश र जनताको नाममा कसम खाएको छु । त्यही निष्ठाकै कारण मैले संसदमा लुगा फुकालेर विरोध गरेको थिएँ– यो सन्देश दिन कि नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर बेच्न पाइँदैन ।

हामी हरेक सरकारी संस्थालाई दलीयकरणबाट मुक्त गर्न चाहन्छौँ । मेरिटोक्रेसी (योग्यताप्रणाली) लागू हुनुपर्छ । भ्रष्टाचारी चाहे वडाको होस् वा प्रधानमन्त्री कार्यालयको, उसलाई दण्डित गरिनुपर्छ ।

तपाईंले बालेन शाहलाई लिएर मधेश झर्नुभएको छ, उहाँको चुनावी अभियानको फ्रन्टलाइनमा हुनुहुन्छ । अभियानको सुरुवात मधेशबाटै किन त ?

किनभने मधेश सहिदहरूको भूमि हो । यो दुर्गानन्द झा, रामनारायण मिश्र, महेन्द्रनारायण निधि र सरोज कोइराला जस्ता निष्ठावान् नेताहरूको भूमि हो । तर विडम्बना, अहिले यही भूमिबाट सबैभन्दा धेरै ठग, दलाल र बिचौलियाहरू उत्पादन भएका छन् । तिनैको अन्त्य गर्न हामीले यहाँबाट सुरुवात गरेका हौँ ।

हामी यहाँ कसैको श्रीमतीलाई उपकुलपति बनाउन वा छोरालाई मन्त्री बनाउन आएका हैनौँ । हामी राजनीतिलाई सफा गर्न आएका हौँ । जसले स्कुल बनाउनुको साटो भ्यु–टावर बनाएर देश लुटे, तिनले अब हिसाब दिनुपर्छ । यो देशका मालिक जनता हुन्, तर तीनजना ‘खलनायक’ हरूले आफूलाई मालिक ठानेर युवाहरूलाई विदेशिन बाध्य पारे । यो एउटा निष्ठाको यज्ञ हो र देश निर्माणका लागि हामी आफूलाई आहुति दिन तयार छौँ ।

अमरेशजी, तपाईं विदेशी मामिलालाई नजिकबाट नियाल्नुहुन्छ । अहिलेको यो घटनाक्रममा कुनै विदेशी शक्ति वा बाह्य कुरा जोडिएका छन् ?

हाम्रो देशका नेताहरूको एउटा बानी छ– जब आफू अप्ठ्यारोमा पर्छन्, विदेशी शक्तिलाई दोष देखाउँछन् । संस्थालाई बदनाम गर्छन् । विश्वविद्यालय नाश गर्ने उनीहरू नै हुन्, तर दोष अरूलाई दिन्छन् । अब नेपाली जनता धेरै चलाख भइसकेका छन् । जनताले चाहे भने केही घण्टामै यी खलनायकहरूको हस्ती ढल्नेछ । म ती ७५ जना सहिदहरूको आत्मालाई नमन गर्छु । जबसम्म यो देश बन्दैन, उनीहरूको रगतले हामीलाई सुत्न दिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?