५ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कतिपय पार्टीका अध्यक्ष र सभापति नै समानुपातिकमा बसेका छन् । समानुपातिक सूचीमा पनि उनीहरू आफ्नो क्लस्टरमा पहिलो नम्बरमै बसेका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक सूचीमा छन् । राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम खसआर्य पुरुषतर्फ पहिलो नम्बरमा छ ।
८४ वर्षीय केसी लामो समयदेखि जनमोर्चाको नेतृत्वमा छन् । २०५१ को संसदीय निर्वाचनमा बाग्लुङ-२ बाट प्रत्यक्ष चुनाव लडेका थिए तर, पराजित भए । २०५६, २०६४, २०७०, २०७९ मा निरन्तर प्रत्यक्ष प्रतिनिधिसभामा निर्वाचित केसी यस पटक समानुपातिकमा बसेका हुन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को पाँच जनाको अध्यक्ष परिषद् छ । त्यसमा रहेका दुई जना सदस्य दुर्गा सोब र सन्तोष परियार नै समानुपातिकमा बसेका छन् । सोब दलित महिलातर्फको क्लस्टरमा पहिलो नम्बरमा र परियार दलित पुरुष क्लस्टरको पहिलो नम्बरमा छन् ।
सोब प्रलोपामा समाहित हुनु अगाडि तत्कालीन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा केही समय संयोजक थिइन् । उनी दलित महिला संघ (फेडो) की संस्थापक अध्यक्ष हुन् ।
दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुत समस्या, समग्र दलित महिलाको अवस्था, सरकार र संसद्मा दलित महिलाको प्रतिनिधि र दलित महिलाको संवैधानिक अधिकार तथा कार्यान्वनका लागि झण्डै ३५ वर्षदेखि संघर्षरत अभियन्ता हुन् ।
परियार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिमा उदाएका नेता हुन् । यसअघि उनी विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद भएका थिए । उनले रास्वपाको प्रमुख सचेतक भएरसमेत काम गरे ।
रास्वपा छाडेर अगाडि बढेका उनी अहिले पनि समानुपातिकमा बसेका हुन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन पनि समानुपातिक सूचीमा छन् । यो पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फ ११० जनाकै नाम पेस गरेको छ । जसको पहिलो नम्बरमै लिङदेनको नाम रहेको छ ।
नेपाल लोकतान्त्रिक पार्टीकी अध्यक्ष गीता राणा क्षेत्री पनि समानुपातिक सूचीमै बसेकी छन् । यो पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फ १२ जनाको नाम पेस गरेको छ । जसको पहिलो नम्बरमा अध्यक्ष राणाको नाम रहेको छ ।
२०७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुन्छन् । १६५ जना भने प्रत्यक्ष चुनावमार्फत आउँछन् ।
प्रत्यक्ष निर्वाचनमा हार्ने जोखिमबाट जोगिन नेताहरू समानुपातिकमा बस्ने गरेका छन् । चुनाव हारेपछि आउन सक्ने नैतिक संकट छल्न र पार्टीको नेतृत्वमा निरन्तर रहन पनि नेताहरू समानुपातिकमा बस्ने गरेको देखिन्छ ।
समानुपातिक प्रणालीको मूल मर्म प्रत्यक्ष चुनावबाट आउन नसक्नेलाई समेट्ने भन्ने छ । तर शीर्ष नेताहरू नै समानुपातिकमा बस्दा सीमान्तकृत समुदायका तल्लो तहकाले अवसर पाउन सक्दैनन् ।
समानुपातिकमा बस्नु कानुनी रूपमा गलत नभए पनि राजनीतिक नैतिकता, समावेशिता र नेतृत्वको उत्तरदायित्वका हिसाबले शीर्ष नेताहरू नै समानुपातिकमा बस्नु आलोचनायोग्य अभ्यास भएको भन्दै प्रश्न उठ्ने गरेको छ ।
प्रतिक्रिया 4