+
+
Shares

उम्मेदवारी दर्ता सुरु, १० किसिमका कागजात आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता ६ माघदेखि १६५ निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सुरु भएको छ।
  • उम्मेदवारले नेपाली नागरिकता, मतदाता परिचयपत्र, धरौटी रसिद, स्वघोषणा पत्र र सम्पत्ति विवरणसहित १० किसिमका कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
  • महिला, दलित, अल्पसंख्यक र आर्थिक रूपमा विपन्न उम्मेदवारलाई धरौटीमा ५० प्रतिशत छुट दिइने निर्वाचन आयोगले जनाएको छ।

६ माघ, काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता सुरु भएको छ । बिहान १० बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दल र उम्मेदवारहरुलाई उम्मेदवारी दर्ताको समय तोकिदिएर मनोनयन दर्ताका लागि आउन भनेको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताका साथै १० किसिमका कागजात आवश्यक पर्दछ ।

उम्मेदवारी दर्ता गर्दा मतदाता नामावली ऐन २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ र निर्वाचन आचारसंहिता २०८२ बमोजिमका कागजात चाहिन्छ ।

सूचना अधिकारी घिमिरेका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ । उम्मेदवारको नाम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा समावेश भएको निस्सा आवश्यक हुनेछ ।

यदि उम्मेदवार सरकार वा सरकारी स्वामित्वको संस्थामा बहाल छन् भने, सो पदबाट राजीनामा दिएको प्रमाण पेस गर्नुपर्नेछ । प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गर्ने भए, प्रतिनिधि तोकेको फारम अनिवार्य छ ।

प्रचलित कानुन अनुसार योग्यता पुगेको उम्मेदवारले मनोनयन दर्ता गर्दा सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण र हस्ताक्षर सहितको मनोनयन पत्र पेस गर्नुपर्नेछ ।

दलको तर्फबाट उम्मेदवारी दिएको भए, दलको केन्द्रीय कार्यकारिणी समितिले जारी गरेको औपचारिक मनोनयन पत्र अनिवार्य हुन्छ र र संयुक्त दलको हकमा छुट्टै ढाँचाको पत्र आवश्यक हुनेछ ।

उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ । तर महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई ५० प्रतिशत छुट हुनेछ । आर्थिक रूपमा विपन्नको हकमा सम्बन्धित स्थानीय तहले दिएको सिफारिस पत्र आवश्यक हुन्छ ।

उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको स्वघोषणा पत्र पेस गर्नुपर्नेछ । उम्मेदवारले आफ्नो चल–अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र र ऋण/उधारो समेतको सम्पूर्ण विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्नेछ ।

उम्मेदवारले निर्वाचन निर्देशिका २०८२ अनुसारको वैयक्तिक विवरण फाराम अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायवाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फछपौट भएको प्रमाण पेस गर्नुपर्नेछ । लेखा परीक्षणबाट उम्मेदवारको नाममा बेरुजु कायम भए सो बेरुजु फछौट प्रमाण आवश्यक हुनेछ ।

उम्मेदवारले निर्वाचन आचारसंहिता २०८२ अनुसारको प्रतिबद्धता पत्र पनि पेस गर्नुपर्नेछ । यी सबै कागजात पूरा भए मात्र उम्मेदवारी दर्ता मान्य हुनेछ ।

उम्मेदवारी दिन चाहनेले सबैले समयमै कागजात तयारी गर्न र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

सूचना अधिकारी घिमिरेका अनुसार निर्वाचन आयोगको वेबसाइटमै आवश्यक फारम राखिएको छ । वर्ड फर्म्याटमा र पिडिएफ दुवैमा राखिकाले त्यसलाई डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । उनी भन्छन्, ‘ताकि नर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेपछि कुनै एउटा कागजको कारणले फर्किन नपरोस् ।’

२१ फागुनमा हुने निर्वाचनका लागि आज १६५ वटै निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता हुँदैछ ।

२७५ सदस्यीय प्रतिनिधिसभाका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?