News Summary
Generated by OK AI. Editorially reviewed.- विघटित प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नौ महिला नेतृमध्ये कम्तिमा पाँच आगामी संसद्मा नदेखिने भएका छन्।
- ती महिला नेतृमध्ये कोही स्वेच्छाले उम्मेदवार बनेका छैनन् भने कोही पार्टीको आन्तरिक कलहका कारण टिकटबाट वञ्चित भएका छन्।
- गत निर्वाचनमा २२५ महिला उम्मेदवारमध्ये नौ जना मात्र निर्वाचित भएका थिए र यसपल्ट केहीले चुनाव लड्न अनिच्छा देखाएका छन्।
६ माघ, काठमाडौं । विघटित प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नौमध्ये कम्तिमा पाँच महिला नेतृहरू आगामी संसद्मा नदेखिने भएका छन् । उनीहरू यसपल्ट कोही स्वेच्छाले उम्मेदवार बनेका छैनन् भने कोही पार्टीको आन्तरिक कलहका कारण टिकटबाट वञ्चित भएका छन् ।
गत निर्वाचनमा विभिन्न दलहरूबाट प्रत्यक्षतर्फ विजयी भएका नौ जनामा तीन जनाले यसपल्ट चुनाव लड्न अनिच्छा देखाएका थिए ।
दुई जना नेतृ भने फेरि निर्वाचन लड्ने चाहना राख्दा–राख्दै पनि टिकट पाउन असफल भएकी हुन् ।
प्रतिनिधिसभा निर्वाचन– २०७९ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ सीता गुरूङमात्रै विजयी भएकी थिइन् । यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा एक्लै निर्वाचित भएकी थिइन् ।
उनीहरू दुईमध्ये शर्माले परिवर्तित राजनीतिक परिवेशमा आफूले निर्वाचन लड्न नचाहेको बताएकी थिइन् ।
कांग्रेस नेतृ गुरूङ भने उम्मेदवारको आकांक्षी थिइन् । तर, उनलाई जिल्ला कार्यसमिति, तेह्रथुमले प्रदेश कार्यसमितिसमक्ष सिफारिस नै गरेको थिएन । निवर्तमान सभापति शेरबहादुर देउवानिकट गुरूङलाई जिल्लाका केही नेता–कार्यकर्ताविरूद्ध अनुशासनको कारबाही गराएको आरोप लगाएको थियो ।
जिल्लाबाट उनी सिफारिसमा नपरेपछि कोशी प्रदेश कार्यसमितिले गुरूङको नाम थपेर केन्द्रमा पठाएका थियो ।
जिल्ला कार्यसमितिले तत्कालीन महामन्त्री गगनकुमार थापाको नाम मात्रै तेह्रथुमबाट सिफारिस गरेको थियो ।
कांग्रेसले प्रत्यक्षतर्फको टिकट वितरण गर्ने क्रममा पार्टीको केन्द्रीय नेतृत्व एकाएक परिवर्तन भएपछि नेतृ गुरूङ गुटको शिकार हुनु परेको देउवा पक्षीय नेताहरूको दाबी छ ।
गत निर्वाचनमा नेकपा एमालेबाट भगवती चौधरी, ज्वाला साह, जुलीकुमारी महतो र विद्या भट्टराई प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
उनीहरूमध्ये टिकटका लागि आकांक्षा नराख्नेमा भट्टराई मात्रै थिइन् । एमालेबाट चौधरी र महतोले टिकट पाउँदा साह भने उम्मेदवार बन्नबाट राकिएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गत निर्वाचनमा प्रत्यक्षतर्फ सोविता गौतम र तोसिमा कार्की निर्वाचित भएका थिएन । उनीहरू दुवैलाई रास्वपाले आगामी निर्वाचनका लागि उम्मेदवारमा दोहोर्याएको छ ।
यस्तै गत निर्वाचनमा पश्चिम नेपालबाट उदाएको दल नागकिर उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ट प्रत्यक्षमा निर्वाचित भएकी थिइन् । यसपल्ट उनी पार्टीको आन्तरिक किचलोका कारण उम्मेदवार बनेकी छैनन् ।
गत निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ विभिन्न दलका २२५ जना महिला नेतृ उम्मेदवार थिए । तीमध्ये नौ जना निर्वाचित भएका थिए ।
—
प्रतिक्रिया 4