६ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-३ का उम्मेदवारहरूले मंगलबार तामझामका साथ मनोनयन दर्ता गरे । निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार क्षेत्र नम्बर ३ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । बाजागाजा नारा जुलुससहित उम्मेदवारहरू मनोनयन दर्ताका लागि पुगेका थिए ।
यो क्षेत्रमा यसअघि कहिले कांग्रेस त कहिले एमालेले जित्दै आएको छ । तर यस पटक नयाँ दलका उम्मेदवारहरूले चुनौती दिएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मुख्यतः एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र उज्यालो नेपाल पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
एमालेका रामेश्वर फुँयाल, कांग्रेसका रमेश अर्याल, नेकपाका निरज लामा, उज्यालो नेपालका कुलमान घिसिङ र रास्वपाका राजुनाथ पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका फुँयाल संविधानसभा सदस्य हुन् । २०६४ को संविधानसभा चुनावमा पराजित भएका उनी २०७० को संविधानसभामा विजयी भएका थिए । २०७४ को चुनावमा फुँयाल बागमती प्रदेशसमा सदस्यमा निर्वाचित भएका थिए ।

उनी बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार मन्त्रीसमेत भए । फुँयालले तत्कालीन आलापोट गाविसको दुई पटक अध्यक्ष र जिविसको उपसभापतिसमेत भएर काम गरेका छन् । यसपटक उनी फेरि प्रतिनिधिसभाको उम्मेदवार भएका हुन् ।
‘राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन उम्मेदवारी दिएको हुँ । जनताको जनजीविका सुशान कायम र भ्रष्टाचार निर्मूल पार्नुपर्ने छ,’ उम्मेदवारी दिएपछि फुँयालले भने, ‘संविधान संशोधनमार्फत नवयुवाको चाहना पूरा गर्न मेरो उम्मेदवारी हो ।’
घिसिङ निवर्तमान ऊर्जा मन्त्री तथा उज्यालो पार्टीका अध्यक्ष हुन् । चुनावमा सहभागी हुन उनले मन्त्रीबाट राजीनामा दिएका थिए । उनी विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत हुन् ।
प्राधिकरणमा ३० वर्ष बढी काम गरेका घिसिङ दुई कार्यकाल निर्देशक भए । २०७३ सालमा लोडसेडिङ अन्त्य गरेकाले उनी चार्चामा आएका थिए । घिसिङ देशलाई समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताउँछन् ।

‘मेरो उम्मेदवारी सुशासन र सामाजिक न्यायको लागि हो । देशलाई समृद्ध बनाउन हो । क्षेत्र नम्बर ३ लाई बुझेको छु । यहाँको विकास गर्न मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवारी दिएका पाण्डे काठमाडौं महानगरका निवर्तमान प्रहरी प्रमुख हुन् । चुनावमा उठ्नका लागि उनले महानगर प्रहरी प्रमुखबाट राजीनामा दिएका थिए । उनी पनि सुशासनलाई प्राथमिकतामा राखेर उम्मेदवारी दिएको बताउँछन् ।
‘सुशासन पहिलो प्राथमिकता हो । न्यायोचित प्रणाली स्थापित गर्नुपर्ने छ । पहुँचको आधारमा होइन, प्राथमिकताको आधारमा बजेट विनियोजन हुनुपर्छ । त्यसपछि मात्र विकास सम्भव छ,’ उनले भने, ‘रास्वपाको घोषणापत्रबमोजिम काम गर्न मेरो उम्मेदवारी हो ।’

नेपाली कम्युनिस्ट पार्टीका निरज लामाले पनि उम्मेदवारी दिएका छन् । उनी नेकपाका काठमाडौं महानगर संयोजक हुन् ।
उनी २०६२/०६३ देखि निरन्तर माओवादी आन्दोलनमा सक्रिय हुँदै आएका स्थानीय नेता हन् । गणतन्त्रको उपलब्धिलाई जोगाउन आफूले उम्मेदवारी दिएको उनको दाबी छ ।
‘३ नम्बर क्षेत्रमा पटकपटक व्यक्तिले जितेर गए । तर क्षेत्रले जित्न सकेन । विश्व सम्पदा सूचीमा रहेको क्षेत्र हो तर विकासको काम हुन सकेन । क्षेत्रका जनताको विकासको लागि उम्मेदवारी दिएको हुँ,’ उनले भने ।
कांग्रेसबाट रमेश अर्यालले उम्मेदवारी दिएका छन् । उनी २०७४ सालका गोकर्णेश्वर नगरपालिकाका वडाध्यक्षसमेत हुन् । कांग्रेस महासमिति सदस्य रहेका अर्यालले विगतको भन्दा फरक ढंगले काम गर्न आफूले उम्मेदवारी दिएको बताए ।

‘जेनजी आन्दोलनपछिको अवस्थामा फरक ढंगले काम गर्नुपर्ने छ । विगतको भन्दा नयाँ ढंगले देश र जनातको विकास गर्न मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने ।
यसअघि २०७९ को चुनावमा काठमाडौं-३ मा कांग्रेसकै सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए ।
त्यसैगरी एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए । यसपटक राप्रपाका सुन्दरसिंह बोहराले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया 4