७ माघ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले गृहजिल्ला कालिकोटमा कांग्रेसको आधिकारिक उम्मेदवार हर्षबहादुर बमविरूद्ध ‘बागी’ बनेका हुन् ।
शाही यसअघि २०७० र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार थिए । उनले यसपालि पनि पार्टीबाट टिकट पाउने भन्दै चुनावी अभियान सुरू गरिसकेका थिए ।
तर, विशेष महाधिवेशनका कारण पार्टीमा देखिएको ध्रवीकरणका कारण शाही टिकट पाउन असफल रहे । नेता डा. शेखर कोइरालानिकट उनी शिवेष महाधिवेशनको पक्षमा थिएनन् । विशेष महाधिवेशनको पक्षमा खुलेका बम पार्टीबाट टिकट पाउन सफल भए ।
कालिकोटामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध जीवन बुढा ‘बागी’ उम्मेदवार बनेका छन् ।
यहाँ नेकपा एमालेले नागीन्द्र शाही, नेकपा माओवादीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रकाश न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा कालिकोटबाट तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुर शाही २३ हजार ७२७ मतसहित विजयी भएका थिए ।
एमाले उम्मेदवार नागीन्द्र शाही १६ हजार ७१८ मत पाएर दोस्रो हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का धनबहादुर बुढा १५ सय ९३ मत ल्याएर तेस्रो भएका थिए ।
प्रतिक्रिया 4