+
+
Shares

सल्यानमा १६ उम्मेदवार मैदानमा, यस्ता छन् प्रतिबद्धता

यसपटकको निर्वाचनमा नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उपस्थितिले प्रतिस्पर्धा थप रोचक बनेको छ । स्थानीय विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दालाई केन्द्रमा राख्दै उम्मेदवारले मतदाता भेटघाट सुरु गरेका छन् ।

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८२ माघ ७ गते ९:३०

७ माघ, सल्यान । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थापित पुराना राजनीतिक दल, नयाँ दल तथा स्वतन्त्र उम्मेदवार गरी १६ जनाले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसबाट जिल्ला सभापति केशबहादुर विष्ट, नेकपा एमालेबाट कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रमेशकुमार मल्ल उम्मेदवार बनेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितकुमार चन्द, नेकपा (माओवादी)बाट चन्द्रबहादुर खड्का तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट डिल्लीबहादुर घर्ती, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोषकुमार राई, आम जनता पार्टीबाट मानसिंह कामी र स्वतन्त्र नागरिक पार्टीबाट कालिदास विक उम्मेदवार बनेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, मंगोल नेशनल अर्गनाइजेशनबाट बाँलसिंह घर्ती र श्रम संस्कृति पार्टीबाट धनबहादुर बुढा मगरले पनि उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रतर्फबाट ध्रुवराज वली र जुद्धबहादुर सिंह चुनावी मैदानमा उत्रिएका छन् ।

यसपटकको निर्वाचनमा नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले प्रतिस्पर्धा थप रोचक बनेको छ। स्थानीय विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दालाई केन्द्रमा राख्दै उम्मेदवारहरू मतदाता भेटघाटमा सक्रिय भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विष्ट यसअघि जिल्ला समन्वय समिति प्रमुखको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । पछिल्लो स्थानीय तह निर्वाचनमा उनी छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए । उम्मेदवारी दर्तापछि विष्टले संविधानको रक्षा, जनताको हित र देशलाई सही दिशामा लैजान आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

नेकपा एमालेका उम्मेदवार गुलावजंग शाह २०७४ सालमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए भने अघिल्लो निर्वाचनमा पराजित भएका थिए। उनले मुलुक संविधान र व्यवस्थामाथि संकट बढिरहेको अवस्थामा ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य साकार पार्न उम्मेदवारी दिएको बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रमेशकुमार मल्ल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिवका रूपमा काम गरिसकेका मल्ल पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएका छन्।

उनले युवाको भावना, समयको माग र देशको जिम्मेवारीका आधारमा ताजा जनादेशमार्फत संकट समाधान गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललितकुमार चन्द पार्टीका कर्णाली प्रदेश महामन्त्री हुन् । उनले सुशासन, न्याय, विकास र युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्ने उद्देश्यले चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार अनिशा नेपालीले सल्यानको विकास, सुशासन र जनताको अधिकारका पक्षमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छन् ।

नेकपा माओवादीका उम्मेदवार चन्द्रबहादुर खड्काले सल्यानको विकास, सामाजिक न्याय र जनताको अधिकारका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित आफु निर्वाचनमा होमिएको बताएका छन् ।

स्वतन्त्र उम्मेदवार ध्रुवराज वलीले सल्यानलाई समृद्ध बनाउने सपना साकार पार्न, सुशासन कायम गर्न, नागरिकका समस्याको सारथि बन्ने र विकासका लागि पहल गर्ने लगायतका एजेन्डा रहेको बताएका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा २०७९ सालको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो। सो निर्वाचनमा साविक एकीकृत समाजवादी तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले ३५ हजार ७ सयभन्दा बढी मत ल्याउँदै विजयी भएका थिए ।

उनका प्रमुख प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले करिब १९ हजार ७ सय मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार राजेन्द्र वीर राय १३ हजार ३९ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए ।

यसपटक भने गठबन्धन समीकरण फेरिनु, नयाँ दल र स्वतन्त्र उम्मेदवारको बलियो उपस्थिति तथा मतदाताको बदलिँदो धारणा कारण सल्यानको चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ ।

 

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?