News Summary
Generated by OK AI. Editorially reviewed.- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
- सिबिफिनको विधानअनुसार सञ्चालक समितिबाट हटेपछि अध्यक्ष उपेन्द्र पौडेलको पद रिक्त भएको थियो र श्रेष्ठ बाँकी कार्यकालका लागि मनोनित भएका छन्।
- श्रेष्ठको अध्यक्षतामा महासचिवमा एनएमबी बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल सर्वसम्मत चयन भएका छन्।
७ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको सञ्चालक समितिबाट अलग भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिका पदाधिकारी वा सदस्यहरू निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिबाट हटेमा स्वतः सिबिफिन कार्यसमितिको पद पनि समाप्त हुन्छ ।
परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको सिबिफिन कार्यसमितिको १५ औं बैठकबाट बाँकी कार्यकालका लागि श्रेष्ठ सर्वसम्मत रुपमा मनोनित भएका हुन् । नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका श्रेष्ठ यसअघि कार्यसमितिको महासचिव पदमा थिए ।
अध्यक्ष मनोनित भएपछि श्रेष्ठले सिबिफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकको रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाए । बैंकिङजस्तो अपरिहार्य तथा संवेदनशील क्षेत्र असुरक्षित बन्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।
‘लाखौं जनताको जीवन र राष्ट्रकै भविष्यसमेत जोडिएको बैंकिङ क्षेत्रमा जनविश्वास एवम् भरोसा अभिवृद्धि गर्दै सुदृढ अर्थतन्त्र निर्माणका लागि सबैसँग हातेमालो गर्दै अगाडि बढ्छौं’ उनले भने ।
नवनियुक्त अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सोही दिन बसेको कार्यसमिति बैठकले सिबिफिनको महासचिवमा एनएमबी बैंकका अध्यक्ष मनोज कुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत चयन गरेको छ ।
श्रेष्ठ अध्यक्षमा मनोनित भएसँगै महासचिव पद रिक्त भएको थियो भने एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवाल बैंक सञ्चालक समितिबाट बाहिरिएसँगै उनले सिबिफिनमा सम्हालेको कोषाध्यक्ष पद समेत रिक्त रहेको थियो ।
यसअघि, कार्यसमितिको सदस्य रहेका महासचिव गोयल एक कुशल र अनुभवी बैंकरको रुपमा परिचित छन् । विधानअनुसार कार्यसमितिको पदाधिकारी पद रिक्त हुन आएमा कार्यसमितिमै बहाल रहेका सम्बन्धित समूहका सदस्यबाट मनोनित गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाका अध्यक्षमध्येबाट गर्ने व्यवस्था बमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनयन गरिएको सिबिफिनले जनाएको छ ।
प्रतिक्रिया 4