+
+
Shares

चुनावी प्रचारमा उम्मेदवारका ढर्रा

साधारण तरिकाले मत माग्नेदेखि अनेक पपुलिस्ट व्यवहार देखाइरहेका उम्मेदवारसम्मले सामाजिक सञ्जालमा चाहिरहेका छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ माघ ८ गते २१:४१

८ माघ, काठमाडौं । २१ माघमा हुने प्रतिनिधिसभा निर्वाचनको माहोल देशैभरि छ । उम्मेदवारहरू आआफ्ना एजेन्डा बोकेर चुनावी मैदानमा होमिएका छन् ।

तर, कतिपय उम्मेदवारहरू स्वाभाविक प्रचारप्रसारभन्दा पनि ‘भाइरल’ हुने धुनमा देखिएका छन् । उम्मेदवारका अस्वाभाविक गतिविधिले सामाजिक सञ्जाल रंगिएको छ । किसानका भारी बोक्नेदेखि मतदातालाई ढोग्दै हिँड्ने गतिविधिले सञ्जाल तताएको छ ।

सबैभन्दा चर्चामा छन्, ऋषि धमला । रौतहट–४ मा आम आदमी पार्टीबाट प्रतिस्पर्धामा रहेका धमला तराईका उखु किसानलाई सघाउँदै गरेको, आरा लगाएर फर्निचरमा काम गरिरहेको, साइकल चलाएको र विभिन्न अभिव्यक्तिका कारण चर्चाको केन्द्रमा छन् ।

मिडिया छाडेपछि पनि उनी सोसियल मिडियामा झन् आक्रामक रूपमा छाएको देखिन्छ । यो ‘भाइरलीटी’ लाई मतमा कसरी बदल्छन् उनै जानुन् ।

सामाजिक सञ्जालमा छाएका भिडियो हेर्दा यस्तो लाग्छ, धमलाले आफ्ना मतदातालाई खुब माया गरिरहेका छन् । जस्तो, एउटा भिडियोमा उनी एक मतदाताको घरमा पुगेका देखिन्छन् । त्यसपछि मतदातालाई अँगालो मार्छन्, अनि आफूले लगाएको सयपत्रीको माला झिकेर उनैलाई लगाइदिन्छन् । च्याप्प अँगाल्दै मतदातालाई हातले बेरेका धमलाले उनीहरूप्रतिको ‘आदरभाव’मा कुनै कमी हुन दिँदैनन् । मौका मिलेसम्म मतदातो सामु धुरुधुरु रोइदिन्छन् पनि ।

पर्याप्त सिप नभए पनि धमलाले मतदाता फकाउन बाँकी राखेका छैनन् । नजानी–नजानी फर्निचरमा आरा लगाएर प्लाई चिरिरहेको दृश्य पनि सामाजिक सञ्जालमा भाइरल छ । एक जना सहयोगीलाई प्लाई समाउन लगाएर आफूले सकिनसकी प्लाई चिरिरहेको उक्त भिडियो ट्रोलको कन्टेन्ट बनिरहेको छ ।

विभिन्न गतिविधिमार्फत मतदातासँग नजिकबाट घुलमिल हुन खोजेका धमलाले अब ‘काठमाडौं नफर्कने वाचा’समेत गर्न भ्याइसके । ‘रौतहट ठूलोे समस्यामा छ । पीडामा छ । जनता धेरै पीडित छन्,’ हात जोड्दै राएको भावभंगीमा धमलाले मतदातासामु वाचा गरेका छन्, ‘मैले एउटा संकल्प गरेको छु । मैले सबै कुरा छोडेर अब रौतहट आएर बस्ने निधो गरेको छु । यहीँ घर बनाउँछु । यतै घरजम गरेर जनतासँग बस्छु ।’

भिडियो अलि पुरानै हो, तर जेनजी अगुवा कहलिएका सुदन गुरुङको गतिविधि पनि कम छैन । जब उनी चुनाव लड्न गोरखा–१ पुगे, मतदाता रिझाउन अनेक गतिविधि गरे । आफूलाई नागरिकसामु अब्बल पुष्टि गर्न अनेक बोले ।

उम्मेदवारी मनोनयन दर्ता गर्नुअघिकै सुदनको त्यो भिडियो बिहीबार सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा उनले एउटा ठूलो भारी बोकेका छन् । उकालो बाटोमा भारी बोक्दै स्थानीयलाई सघाएको सो भिडियोबाट बुझ्न सकिन्छ । भिडियोमा सुनिएको दाबीअनुसार उक्त भारी करिब ६० किलोको छ ।

‘ओहो ! दाइले ६० किलो बोक्नुभयो ? गाह्रौँ हुने रहेछ दाइ ?,’ भिडियोमा एक जनाले सोधेको प्रश्नमा सुदनको जवाफ छ, ‘डेन्जर गह्रौँ हुँदो रहेछ । तर भूकम्पमा राहत वितरण गर्दा बोकेर हिँड्नुपर्थ्यो । त्यही भएर मात्र मैले बोक्न सकेको हुँ ।’

अर्का छन्, नुवाकोट–२ का रास्वपा उम्मेदवार डा. अच्युतम लामिछाने । उनको मत माग्ने शैली पनि अन्य उम्मेदवारभन्दा पृथक छ । घरदैलो अभियान चलाइरहेका उनी जब मतदातासामु पुग्छन्, सर्लक्कै निहुरिहाल्छन् । ‘अब आयो है बुबाआमा । छोरो आयो, नाति आयो । अब नझुक्किनुहोला,’ मतदाताको खुट्टा छोएर निहुरिएका उनी हात जोड्दै भन्छन्, ‘प्लिज, मात्तिन नदिनुस् है… प्लिज । अब यो देश बिगार्ने छुट छैन ।’

यसरी मतदाताको खुट्टा छुँदै, ढोग्दै हिँडेका उनको पछिपछि माइकिङ गरिरहेको पनि भाइरल भिडियोमा देख्न सकिन्छ । यसलाई लिएर कतिपयले ‘नयाँ जोगी’ भन्दै ट्रोल पनि बनाइरहेका छन्् ।

यसरी व्यवहारमै ‘पपुलिस्ट’ देखिएका कतिपय उम्मेदवार छन् भने बोलीमार्फत मतदाता अगाडि पृथक देखिएका र सोही कारण भाइरल भइरहेका अन्य उम्मेदवार छन् । जस्तो, एउटा भिडियोमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ फोटो सेसनमा व्यस्त देखिन्छन् । जब मतदाताले फोटो खिचेर भ्याउँछन्, हर्कले भनिहाल्छन्– फोटो लिएपछि भोट पनि दिने !

यसबाहेक हर्क साम्पाङका अन्य चुनावी प्रचार शैलीले पनि सामाजिक सञ्जालमा चर्चा बटुलेको पाइन्छ । कसरी मतदातासामु लोकप्रिय हुने र सबैको नोटिसमा पर्ने भन्ने विषयलाई उनले केन्द्रमा राखेको भिडियोहरूमा देखिन्छ ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाका प्रतिस्पर्धी अमेरश सिंह पनि कतै आक्रामक देखिन्छन् त कतै महत्वकांक्षा बाँड्छन् । यतिसम्म कि, गगन थापा आफूसँग प्रतिस्पर्धा गर्न सर्लाही–४ मा आएको भन्दै अपशब्दसम्म बोलेका छन् । त्यसबाहेक मतदातालाई सोझै आफूले शक्तिशाली मन्त्री पाउने भएकाले निर्वाचित गराउन अनुरोध गरिरहेका छन् ।

केही दिनअघि मात्र रास्वपा प्रवेश गरेका अमरेशले मतदातासामु भनिरहेका छन्, ‘यसपालि सांसद जितेँ भनेँ बालेनको टिमको सबैभन्दा ठूलो मन्त्री हुन्छु । त्यसैले मलाई जिताउनू ।’

यो लहरोमा छुटाउनै नहुने अर्का पात्र हुन्, भर्खरै शिक्षा मन्त्रीबाट राजीनामा दिएका महावीर पुन । चुनाव गराउन सरकारमा बसेका उनलाई पनि के सुर चढ्यो, आफैँ प्रतिस्पर्धामा दौडिए । त्यसपछि पुनको मत माग्ने तरिकाले पनि यतिबेला सञ्जाल तत्ताएको छ । पुन चुनावी प्रचारसँगै आफ्नो आत्मकथा (किताब) पनि बेचिरहेका छन् । उनले सञ्जालमा पटकपटक भनिरहन्छन्, ‘म भोट माग्न आउँदा किताब पनि किन्न पाइनेछ ।’

पुन भने अरूभन्दा अलि हक्की सुनिन्छन् । सिधै आफूलाई मन परे मत दिनु, नत्र अरूलाई नै दिनु भन्दै हिँडिरहेका छन् । ‘जमाना’ हाम्र्रो समाजभन्दा निकै अघि बढिसकेकोले समयसापेक्ष नेता जिताउन पनि भनिरहेका छन् । उनी भन्दैनन् मात्र, मतदातालाई प्रश्न सोध्ने मौका पनि दिन्छन् । ‘लु, कसैका केही प्रश्न छ भने सोधिहाल्नु । प्रश्न पनि सोध्न पाइन्छ,’ पुन मतदातासामु भनिरहेका दृश्य सामाजिक सञ्जालमा यत्रतत्र छन् ।

रोचक शैलीमा मत माग्दै हिडिरहेका पुनले निर्वाचन आयोगबाट हालसम्म चुनाव चिह्न पाइनसकेको बताउँदै भनिरहेका छन्, ‘ल, म भोट माग्न आएँ । चुनाव चिह्न चाहिँ अहिलेसम्म दिएको छैन । आएपछि भनौँला ।’

यसरी पुन जस्ता साधारण तरिकाले मत माग्नेदेखि अनेक पपुलिस्ट व्यवहार देखाइरहेका उम्मेदवारसम्मले सामाजिक सञ्जालमा चाहिरहेका छन् । यी सबै कारण यसपटकको चुनावी माहोल रोचक र टिठलाग्दो देखिने टिप्पणी पनि सामाजिक सञ्जालमा देखिएका छन् । लेखक इन्द्र अधिकारीले यही प्रसंगमा टेकेर सामाजिक सञ्जालमा हाइकु पोस्ट गरेकी छन् –

‘धस्दै रहेछ

भुक्तभोगी छद्मले

खरानी धेरै !’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?