+
+
Shares

छाङरु र तिंकरका मतदाताले यसपटक गर्नेछन् खलंगाबाटै मतदान

स्थानीयको बसाइँसराई भइसकेको अवस्थामा विगतको जस्तै खलंगामै मतदान केन्द्र कायम भएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले जानकारी दिए ।

नरेन्द्रसिंह कार्की नरेन्द्रसिंह कार्की
२०८२ माघ ९ गते ११:५७

९ माघ, दार्चुला । भारतबाट अतिक्रमित कालापानी नजिकका छाङरु र तिंकरका मतदाताका लागि यसपटक प्रतिनिधिसभा निर्वाचन सहज बनेको छ । व्यास गाउँपालिका–१ अन्तर्गत पर्ने यी दुर्गम गाउँका स्थानीयले खलंगामै मतदान गर्न पाउने भएपछि सहज भएको हो ।

छाङरु र तिंकरका स्थानीयको जीवनशैली मौसमी बसाइँसराईसँग गाँसिएको छ । वर्षको ६ महिना गाउँमै (छाङरु/तिंकर) र बाँकी ६ महिना सदरमुकाम खलंगामा बसोबास गर्ने परम्परा उनीहरूको छ । उनीहरूको भाषामा बसाइँसराई गर्नुलाई (कुञ्चा) सर्नु भनिन्छ ।

मंसिर लागेसँगै तिंकर गाउँ पूर्ण रूपमा सुनसान छ । अत्यधिक हिमपातका कारण स्थानीय मात्र होइन, तिंकरस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) समेत छाङरु झरेका छन् । तिंकर चीनसँग सीमा जोडिएको अन्तिम गाउँ हो । यहाँबाट नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पर्दछ ।

छाङरुमा भने केही परिवारको बसोबास अझै छ । वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार, गाउँको रेखदेखका लागि राइसिंह ऐतवाललाई चौकीदारको जिम्मेवारी दिइएको छ । चोरी–तस्करी जस्ता घटना नहोउन् भनेर वडाले उनलाई ६ महिनासम्म मासिक १५ हजार रुपैयाँ पारिश्रमिक समेत उपलब्ध गराएको छ ।

यस्तै हाल छाङरुमा सौर्य ऊर्जाका अपरेटर प्रल्हाद ऐतवाल, द्रोपति बोहरा र दौलत बोहराको परिवार बसोबास छ । सशस्त्र प्रहरी बलको नम्बर ५० गुल्म र नेपाल प्रहरीको टोली पनि छाङरुमै छन् । भारतसँग सीमा जोडिएको यो गाउँ कालापानीभन्दा करिब १० किलोमिटर तल पर्छ । यस क्षेत्रका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोललाई नेपाल सरकारले २०७७ जेठ ७ गते नेपालको नक्सामा समेटेको थियो । यही क्षेत्रमा बसोबास गर्ने नावी, गुञ्जी र कुटीका नागरिक भने अहिले पनि भारतकै निर्वाचनमा सहभागी हुन्छन् ।

यसअघि २०७९ सालको स्थानीय तह निर्वाचन छाङरु र तिंकरकै मतदान केन्द्रमा सम्पन्न भएको थियो । वैशाख–जेठतिर हुने निर्वाचनहरू प्राय : माथि गाउँमै हुने गरेको अध्यक्ष बोहरा बताउँछन् । तर यसपटक मंसिरमै स्थानीय खलंगा झरेका कारण मतदान केन्द्र खलंगामै  राख्न माघ ५ गते माग गरिएको थियो । वडाअध्यक्ष बोहरा खलंगामै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागित बढ्ने सुनाउँछन् ।

स्थानीयको बसाइँसराई भइसकेको अवस्थामा विगतको जस्तै खलंगामै मतदान केन्द्र कायम भएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले जानकारी दिए । ‘निर्वाचन आयोगले निर्णय गरेर पठाएको छ,’ उनले भने, ‘अब दुवै बस्तीको निर्वाचन खलंगाकै केन्द्रमा हुन्छन् ।’

उनका अनुसार, व्यास गाउँपालिका–१ मा दुई वटा मतदान केन्द्र कायम छन् । छाङरु र तिंकरकै नामका विद्यालय खलंगामा भएको हुँदा सोहीअनुसार मतदान केन्द्र निर्धारण गरिएको छ । अवस्थीले दिएको जानकारी अनुसार, छाङरुका लागि कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र तिंकरका लागि मोति महिला संघ आधारभूत विद्यालयमा २४४ जना मतदाता छन् । २०७९ सालको निर्वाचनमा छाङरुमा ३८३ र तिंकरमा २३४ जना मतदाता थिए ।

यसैगरी जिल्लाभर यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, ११२ मतदान स्थलमध्ये १५ वटा अतिसंवेदनशील, ३२ वटा संवेदनशील र ६५ वटा सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ ।

अघिल्लो निर्वाचनको अनुभव, भौगोलिक विकटता र सुरक्षा निकायको पहुँचलाई आधार मानेर वर्गीकरण गरिएको उनको भनाइ छ । सडक नपुगेका क्षेत्र पनि संवेदनशील क्षेत्र मानेका छौं । दर्जन बढी मतदानस्थलको स्थलगत निरीक्षण गरेर फर्किएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

२०७९ सालमा ९० हजार ७८२ मतदाता रहेकामा यसपटकको प्रतिनिधिसभा निर्वाचनको लागि २ हजार १६६ मतदाता थपिएर संख्या ९२ हजार ९४८ पुगेको छ । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् ।

लेखक
नरेन्द्रसिंह कार्की

कार्की दार्चुलाबाट पत्रकारितामा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?