+
+
Shares

बालसुधार गृह झडप प्रकरण: दीर्घकालीन समाधानको लागि उच्चस्तरीय सक्रियता

सानोठिमी भक्तपुरमा रहेको बालसुधार गृहमा माघ ८ गते राति भएको झडपमा केन्द्रित भएर समस्याको दीर्घकालिन समाधानको लागि गृहमन्त्री ओमप्रकाश अर्याल र महिला बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री श्रद्धा श्रेष्‍ठलगायतका उच्च अधिकारीबीच छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माघ ८ गते राति भक्तपुरको बालसुधार गृहमा झडप भएपछि गृहमन्त्री ओमप्रकाश अर्याल र मन्त्री श्रद्धा श्रेष्‍ठले उच्चस्तरीय छलफल गरेका छन्।
  • छलफलमा १७० बालबिज्याइँकर्तामध्ये ८६ जना १८ वर्षमाथिका रहेका र उनीहरूले आन्दोलन गर्दै लत्ताकपडा जलाएको जानकारी दिइएको छ।
  • सरकारले १८ वर्षमाथिका बालबिज्याइँकर्तालाई नुवाकोट कारागारमा सार्ने निर्णय गरी स्थानान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिएको छ।

९ माघ, काठमाडौँ । सानोठिमी भक्तपुरमा रहेको बालसुधार गृहमा माघ ८ गते राति भएको झडपमा केन्द्रित भएर समस्याको दीर्घकालीन समाधानको लागि गृहमन्त्री ओमप्रकाश अर्याल र महिला बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री श्रद्धा श्रेष्‍ठलगायतका उच्च अधिकारीबीच छलफल भएको छ ।

गृह मन्त्रालयमा आज शुक्रबार सम्पन्न भएको उच्चस्तरीय छलफलमा मन्त्रीद्वयसँगै दुवै मन्त्रालयका सचिव, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयका शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख,कारागार व्यवस्थापन विभागका महानिर्देशक, भक्तपुरका प्रमुख जिल्ला अधिकारी, अर्थ मन्त्रालयका प्रतिनिधि लगायत उपस्थित थिए ।

छलफलमा भक्तपुरका प्रमुख जिल्ला अधिकारीले भक्तपुरमा रहेको उक्त बाल सुधार गृहमा जम्मा १७० जना बालबिज्याइँकर्ताहरु राखीएकामा ८६ जना १८ वर्षमाथीका रहेका र उनीहरुले खेलकुद सामाग्री, खाना, लत्ताकपडा लगायतका विषयमा माग राखी आन्दोलन गरेको र लत्ताकपडासमेत जलाएको लगायतका घटनाक्रमबारे बिफ्रिङ गरे ।

गृहमन्त्री अर्यालले बालगृहमा आधारभूत मानव अधिकार परिपूर्तीको लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराए । साथै कुनैपनि किसिमको दण्डहीनता स्वीकार्य नहुने भन्दै यस्ता समस्या दोहोरिन नदिन गर्नुपर्ने आवश्यक तयारी गर्न मातहतका निकाय तथा सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिए ।

बालबालिका ऐन, २०७५ ले बालबालिकाले गरेको कसूर अपराध नभइ गल्ती हो भन्ने मनसायमा अपराध गरेका बालबालिकालाई सुधार र पुनर्स्थापनाका लागि बाल सुधार गृह स्थापना गरिने व्यवस्था गरेको र सोहि बमोजिम अदालतले १८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्नहरूलाई सुधार गृह पठाउने गर्दै आएको छ।

अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि सुधार गृहमै बस्न पाउने सुविधा दिएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ४३ (४) मा ‘१८ वर्ष पुगेमा बानी ब्यहोरामा आएको सुधार, आर्जन गरेको सीप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने उल्लेख छ।

तर १८ वर्ष मुनीका र सोभन्दा बढी उमेरका सबैलाई एकैस्थानमा राखिँदा पटक-पटक यस्ता समस्या देखिँदै आएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले नुवाकोट कारागारका चार ब्लकमध्ये खाली रहेको एउटा ब्लकलाई बाल सुधार गृहका रूपमा परिणत गर्ने निर्णय गरेको थियो।

सोहि बमोजिम देशका विभिन्न सुधार गृहमा रहेका १८ वर्ष माथिका बालबिज्याइँकर्ताको व्यवस्थापनमा समस्या देखिएपछि सरकारले उनीहरूलाई नुवाकोट सार्ने तयारी गरीरहेको छ।

छलफलमा सहभागी दुवै मन्त्रीले अर्थ मन्त्रालय, महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायत निकायको समन्वयमा १८ वर्षमाथीका बालविज्याइँकर्ताहरुलाई यथाशीघ्र स्थानान्तरण गर्न आफ्ना मातहतका निकाय तथा अधिकारीहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?